काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
अ+
अ-

काठमाडौं । वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ।

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागिएको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुर कार्कीले पदबहाली गरेको सय दिन पुगेका अवसरमा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाटमा मन्त्रालयका सचिव डा प्रेरणा सेढाईँ भट्टराईले उक्त कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

“युवालाई कृषि उद्यममा प्रोत्साहित गर्न मन्त्रीज्यूकै सोचअनुसार यो कार्यक्रम ल्याइएको हो”, उनले भने, “वैदेशिक रोजगारीबाट र स्वदेशमै पनि सहरदेखि गाउँ फर्केर कृषि उद्यम गर्न चाहाने युवाले ऋणमा ब्याज अनुदान पाउनुहुन्छ ।”

मन्त्री कार्कीले कृषिमा युवाहरूलाई आकर्षित गर्न र गाउँमै रोजगारी सृजनामा टेवा पुर्याउन ‘रिटर्न टु भिलेज’ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले कृषि उत्पादन वृद्धि र बजारीकरणका लागि मन्त्रालयले किसानलाई सघाउँदै आएको बताए।

मन्त्रालयले चालु आवमा ‘कृषि एम्बुलेन्स सहयोग कार्यक्रम’का लागि रु एक करोड बजेट छुट्याइएको छ । यस्तै जैविक मलमा अनुदान र उत्पादन प्रोत्साहनका लागि रु दुई करोड ६० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।