२ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

कैलाली। कैलालीको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका ४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आज (आइतबार) दुर्घटना भएको हो।

दुर्घटनामा बर्दगोरिया गाउँपालिका ४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ। सिंहका अनुसार ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको हो।