३ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

नवलपुर। तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार बिहान करिब साढे ६ बजे मध्यबिन्दु नगरपालिका–८ गडारखोलास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ गइरहेको लु १ ख ६६३४ नम्बरको तेल ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मध्यबिन्दु नगरपालिका–१३ मैनाघाटका ४२ वर्षीय बिरबहादुर सिँजालीको ज्यान गएको हो। गम्भीर घाइते भएका उनलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटरमा सवार अन्य दुई जना — मध्यबिन्दु–७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु–९ वसन्तपुरका ३१ वर्षीय समीरजंग कुमाल घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्करपछि तेल ट्याङ्कर सडकबाट करिब १५ मिटर तल खसेको बताइएको छ। दुर्घटनामा संलग्न ट्याङ्कर चालक, सल्यान शारदा नगरपालिकाका ४७ वर्षीय खलकराम भण्डारी, सहित दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।