काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

३ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। गायिका तथा कलाकारले आत्महत्याको प्रयास गरेपछि गायक बाबुल गिरीमाथि प्रहरीले अनुसन्धान थालेको छ। शनिबार अनामनगरस्थित यम तिलक स्टुडियोमा गायिका तथा कलाकार नितु पौडेलले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

स्टुडियोमा पौडेलले पेट्रोल खन्याएर शरीरमा आगो लगाएकी थिइन्। पौडेलको शरीरको ६० प्रतिशत भाग जलेको छ। प्रहरीका अनुसार उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

“गायिकाले आत्महत्या प्रयास गरेकी छिन्, उनको उपचार भइरहेको छ, अवस्थाबारे मैले भन्न सकिनँ,” जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले भने। थापाका अनुसार उक्त घटनाको अनुसन्धान थालिएको छ। गिरीलाई प्रहरीले बोलाएको बखत उपस्थित हुने सर्तमा छोडिएको छ।

“पीडित पक्षबाट जाहेरी आएको छैन, पीडित व्यक्ति उपचारमै रहेकाले घटनाको पूरै अनुसन्धान अघि बढ्न सकेको छैन,” थापाले भने, “पीडित परिवारसँग जाहेरीलगायतका कानुनी प्रक्रियाबारे कुरा भइरहेको छ।”

कीर्तिपुर अस्पतालका चिकित्सक किरण नकर्मीका अनुसार पौडेलको आईसीयूमा उपचार भइरहेको छ। उनको शरीरको ६० प्रतिशत भाग जलेको छ। “उहाँको अवस्था गम्भीर रहेको छ, उपचार जारी छ,” नकर्मीले भने। उनका अनुसार पौडेलको शरीरको सबैजसो भागमा चोटपटक छ।

पौडेलले शरीरमा आगो लगाएपछि गिरीले निभाउने प्रयास गरेको देखिएको प्रहरीको दाबी छ। यसक्रममा उनी सामान्य घाइते भएका थिए। हात र खुट्टामा सामान्य चोट लागेका गिरी भने उपचारपछि फर्किसकेका छन्। घटनालगत्तै पुगेको प्रहरीले पौडेललाई उद्धार गरी बर्न अस्पताल पुर्‍याएको थियो।

गिरी-पौडेलबीच के विवाद भयो र घटना घट्यो स्पष्ट खुलिसकेको छैन। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का ३३ वर्षीय गिरी अनामनगरमा स्टुडियो सञ्चालन गरिरहेका थिए।

३० वर्षीया पौडेल काठमाडौं नागार्जुनकी हुन्। घटनापछि प्रहरीले उनको परिवारसँग सोधेको छ। “परिवारलाई बुझ्दा स्पष्ट रूपमा उनीहरूबीचको विवाद खुल्न सकेको छैन, पीडितको बोल्ने अवस्था नरहेकाले थप विवरण आउन सकेको छैन,” प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराई भन्छन्।

“गायकको पनि शरीरमा पनि चोट लागेकोले आगो निभाउने प्रयास गरेको देखिन्छ,” भट्टराई भन्छन्। कुनै विवाद र समस्या देखिए कानुन बमोजिम कारबाही अगाडि बढाइने भट्टराईले बताए।