देवकोटा जयन्ती
महाकवि देवकोटाको मृत्यु कहिले पनि हुनेछैन, अष्ट चिरञ्जीवीसरह बाँचिरहनुहुनेछ।
म भन्न सक्दिनँ कुन दिन कुन समयमा देवकोटाजीसित मेरो पहिलो भेट भयो। हामी दुवैको जन्म डिल्लीबजार टोलमा भएको र त्यहीँ हुर्केका हुनाले बालककालदेखि नै हाम्रो परिचय भएको हुनुपर्छ।
यति लामो अवधिसम्म हाम्रो परिचय बसीउठी, कैयौँ साहित्य–सम्मेलनमा कविता पाठ, समारोहहरूमा प्रवचनबाट र घरको आओतजाओतले पनि मैले देवकोटाजीको सच्चा रूप देख्न सकेको थिइनँ।
२०१३ साल पौष महिनामा नयाँ दिल्लीमा भएको एसियाली लेखक–सम्मेलनमा भाग लिन उहाँकै नेतृत्वमा हामी गएका थियौं। त्यसपछि भारत सरकारको अतिथिको रूपमा दक्षिण भारत भ्रमण गर्दा अर्थात् एक महीनासम्म अवच्छिन्न रूपले साथसाथ रहन पाउँदा मैले उहाँलाई केही चिन्न सकेँ। महाकवि देवकोटाजी आजसम्म नेपालमा जन्मेका साहित्यकारहरूमा सबभन्दा बढ्ता प्रतिभाशाली र शक्तिशाली हुनुहुन्थ्यो। उहाँको दिल पवित्र, सरल र लोचदार थियो। उहाँ निष्पाप, निष्कपट हुनाको कारणले नै अत्यन्त लोकप्रिय हुनुभएको हो।
कतिपय कारणहरूले गर्दा उहाँको स्वास्थ्य खराब हुँदै आयो। त्यसै बेला उहाँले शिक्षा मन्त्रीको भार ग्रहण गर्नुपर्यो। जसको फलस्वरूप उहाँको स्वास्थ्यको उन्नति र अभिवृद्धि हुन पाएन। स्वास्थ्य झन् झन् अवनत हुँदै गयो। धेरै प्रयत्न गर्दा पनि आधुनिक चिकित्सा विज्ञानको असीम सहायताले पनि, साधनले पनि कुनै प्रभाव पार्न सकेन।
उहाँ स्वर्गारोहण हुनुभन्दा एक हप्ताअघि शान्तभवनको अस्पतालमा मैले उहाँसित गर्न पाएको भेटमा पन्ध्र मिनेट जतिको घडी भएको कुराकानीमा उहाँले ज्यादै पश्चात्ताप गर्नुभएको थियो- ‘मैले कुनै पुण्य कार्य गर्न सकिनँ, मलाई शारीरिक र मानसिक ठूलो बाधा छ, म जस्तो अभागी साहित्यिक अर्को कुनै नजन्मोस्’ इत्यादि।
त्यसपछि आर्यघाटको स्वर्गशय्यामा जब उहाँ अत्यन्त क्षीण, शक्तिहीन हुनुहुन्थ्यो। उहाँले लेख्नुभएको ‘महाराणा प्रताप’ नामक महाकाव्यको विषयमा छत्तीस शब्दको सम्मति पन्ध्र मिनेट जति लगाएर मलाई लेखाउनुभयो र त्यही कलम लिएर ‘लक्ष्मीप्रसाद देवकोटा’ आफ्नो हस्ताक्षरले दस्तखत पनि गरिदिनुभयो, जो उहाँको जीवनको अन्तिम लेखाइ थियो। अक्षरमा आकार अस्पष्ट र किरमिर छन्।

२ असोज २०१६ को गोरखापत्रमा प्रकाशित भीमनिधि तिवारीको लेख।
आज आर्यघाटमा देवकोटाजी हुनुहुन्न। सयौँ भक्तजन स्नानादि गरिरहेका छन्, तर त्यहाँ कुनै दृश्य छैन; मन्दिरहरूमा घण्ट, मृदंग बजिरहेका छन्, तर त्यहाँ आवाज छैन; वाग्मती कलकल कलरवले बहिरहेकी छन्, तर त्यहाँ गति छैन किनकि त्यहाँ देवकोटाजी हुनुहुन्न। हिजो सन्ध्याकालमा जगत्को प्रकाशको साथ साथ प्रतिभाको ठूलो प्रकाश पुञ्जको पनि अस्त भयो, जसबाट नेपालको महान् राष्ट्रिय हानि, साहित्यिक एवं सांस्कृतिक क्षति हुन गयो। कामधेनु पाएर पनि हामीले स्याहार सुसार पुर्याउन सकेनौँ, आवश्यक दानापानी जुटाउन सकेनौँ, साहित्यरूपी दूध पर्याप्त मात्रामा दुहेर लिन सकेनौँ।
उहाँको पवित्र आत्मालाई परमात्माले शान्ति प्रदान गरून्। सन्तप्त परिवारलाई वियोगको वेदना सहन गर्न सक्ने शक्ति मिलोस्।
वास्तवमा हिजो सन्ध्याकालमा नै देवकोटाजीको यथार्थ जन्मनुभयो। अब उहाँको मृत्यु कहिले पनि हुनेछैन, उहाँ अष्ट चिरञ्जीवीसरह तबसम्म बाँचिरहनुहुनेछ, जबसम्म सगरमाथाको ओडारमा नेपाली जातिको गुफा रहनेछ, नेपाली भाषा बोलिनेछ।
जब महाकवि देवकोटा। जय देवकोटा। साहित्य।
२ असोज २०१६ को गोरखापत्रमा प्रकाशित