काठमाडौँ। इजरायलमा हमासको हिरासतमा मारिएका विपिन जोशीको अन्तिम संस्कार आज गरिँदै छ। विपिनको अन्तिम दाहसंस्कार आज महेन्द्रनगरस्थित महाकाली नदीको भुजेला घाटमा गरिने छ।
सोमबार बेलुकी अर्थात् लक्ष्मी पूजाको साँझ उनको शव कञ्चनपुरको भीमदत्त नगरपालिका-३ मा रहेको निवासमा पुर्याइएको थियो।
इजरायलबाट काठमाडौं ल्याइएको शव त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टर मार्फत घरमा ल्याइएको हो। धनगढी उपमहानगरपालिकाको महाप्रस्थान बाहकमार्फत घरमा शव ल्याएको छ।
विपिनको शव घरमा पुगेपछि नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई बास दूतावासका कर्मचारीसहित घरमा पुगेका छन्। उनले परिवारका सदस्यहरूसँग भेट गरेका छन्।
विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर आफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ।