काठमाडौँ
००:००:००
८ श्रावण २०८३, शुक्रबार

८ श्रावण २०८३
तस्बिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवको सचिवालय
अ+
अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डेनियल म्युउली मोन्टेलियोनले शिष्टाचार भेट गरेकी छन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा संवाद भयो।

उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण, मैत्रीपूर्ण तथा सहयोगात्मक रहँदै आएको उल्लेख गरे। उनले भने, “दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरूले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन र नयाँ गति दिन सहयोग पुगेको छ । नेपालको शान्तिप्रक्रियामा स्विस सरकारको निरन्तर सहयोग र सद्भावप्रति नेपालले हार्दिक धन्यवाद व्यक्त गर्दछ।”

उपराष्ट्रपति यादवले स्विस विकास तथा सहयोग नियोग (एसडीसी) को प्राथमिकतामा नेपाललाई निरन्तर राखेकामा खुसी व्यक्त गरे। उनले भूकम्पपछिको पुनर्निर्माण, झोलुंगे पुल निर्माण, रोजगारी सिर्जना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रमले जनस्तरको तल्लो तहसम्म प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे। उनले नेपाल र स्विट्जरल्यान्ड सम्बन्ध आगामी दिनहरूमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

भेटमा राजदूत मोन्टेलियोनले नेपाल र स्विट्जरल्यान्डको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन्। उनले स्विस सरकार नेपालको उद्योगलगायत क्षेत्रमा लगानी गर्न चाहेको बताएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।