अनुभूति
सीमा पिलरदेखि उता चिनियाँ भूमिमा बडेमानका घरहरू छन्, सुरक्षाकर्मीको बाक्लो तैनाथी छ। यता हाम्रोतिर केही छैन।
२०८२ वैशाख ३१। मनमा बेग्लै उत्साह थियो। मुस्ताङको लोमन्थाङमा आएर यहाँको अनुभव सँगाल्न पाउनु त महत्त्वपूर्ण थियो नै, आज उत्तरी सिमानामा चीनसँग जोड्ने महत्त्वपूर्ण नाका कोरला टेक्ने जो योजना थियो। त्यसैले उत्साहमा प्वाँख थपिनु स्वाभाविकै थियो।
होटलमा मेरो ‘रुम पार्टनर’ रहेका अग्रज पत्रकार हरिहर विरही र मैले बिहान लोमन्थाङ बस्तीको एक चक्कर लगाएका थियौँ। हिजो यहाँ आउँदा साँझ परिसकेको थियो। लगत्तै दरबार परिसरभित्र प्रेस युनियनको कार्यक्रममा सहभागी हुनुपरेकाले लोमन्थाङ राम्ररी घुम्न पाइएको थिएन। बिहान त्यहाँ घुम्ने क्रममा हिमाली भेगमा पानीको अभाव र त्यसमा पनि उपलब्ध पानीको संरक्षणमा समस्या देख्यौँ।
हामीले बजारमा चिया खान खोजेका थियौँ। तर एकाबिहानै भएर होला, कतै पाइएन। हामी बसेकै होटल मिस्टिकमा फर्केर चियाको तलतल शान्त पारौँला भनेर चित्त बुझायौँ। बजारतिर करिब ४५ मिनेटजति व्यतीत गरेपछि होटल फर्किन उचित ठान्यौँ। दरबार त हिजै घुमिसकेका थियौँ।
होटल फर्किंदा ७ बजिसकेको थियो। हाम्रो समूहका अरूहरू पनि लोमन्थाङ बजार घुमेर होटल फर्कंदै थिए। हामी भने एकछिन लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्बु गुरुङसँग गफियौँ। उनी भन्दै थिए, ‘तपाईंहरू पत्रकार, यहाँका कथाव्यथा तपाईंहरूमार्फत सार्वजनिक हुनुपर्छ। यहाँसम्म थोरै पत्रकार आउँछन् र तीमध्ये अधिकांशको उद्देश्य अर्कै हुन्छ। थोरैले मात्र लेख्छन्। तपाईंहरू कोरला जाँदै हुनुहुन्छ, त्यो पनि यही पालिकाभित्र पर्छ। कोरलाका अनेकन् समस्या छन्, ती समस्या पनि राज्यले देख्ने र सुन्ने अवस्था बन्नसके यो क्षेत्रको कल्याण हुन्थ्यो। यहाँको विकासमा महत्त्वपूर्ण टेवा पुग्थ्यो।’
गाउँपालिका प्रमुखको कुरा हामीलाई जायज लाग्यो। पक्कै पनि पत्रकारले देखेभोगेका कुरा बाहिर ल्याउनुपर्छ। पत्रकारले सुगम स्थानमा मात्र होइन, दुर्गम र विकट ठाउँमा पनि गएर रिपोर्टिङ गर्न सक्नुपर्यो। हरिहर दाइ र मैले पत्रकारिताका पुराना दिन सम्झँदै वर्तमानको मूल्यांकन गर्यौँ– अधिकांश पत्रकारमा सहजतामा आफ्ना रहर र आवश्यकता पूरा गर्ने हतारो छ।

उपल्लो मुस्ताङ
सबै साथी एकत्रित भएर लोमन्थाङ (३,८५० मी)बाट थप ७५० मिटर उचाइको कोरला (४,६०० मी) तर्फको यात्रा सुरु गर्दा करिब ८ बजिसकेको थियो। हामीलाई लोमन्थाङमा कोरलाबारे जानकारी दिँदै भनिएको थियो– ‘त्यहाँ पुगेर मध्याह्न १२ नबज्दै फर्कनु उचित हुन्छ। १०/११ बजेपछि त्यहाँ बेस्सरी हावा चल्छ, बाहिर बस्न कठिन हुन्छ। कोरलामा एउटा ठूलो चौर, नेपालतर्फ त्रिपाल टाँगेर राखिएका नेपालीका केही पसल र पारि चीनतर्फ ठडिएका केही अग्ला घरबाहेक हेर्नयोग्य अरू केही छैन। त्यसैले तपाईंहरूलाई त्यहाँ खासै समय नलाग्ला। ११ बजेसम्म त तपाईंहरू फर्किसक्नुहुन्छ।’
हाम्रा लागि यो ठूलो जानकारी थियो।
लोमन्थाङबाट करिब २४ किलोमिटरको दूरीमा पर्छ, कोरला। स्थानीयले त्यहाँ पुग्न बढीमा एक/डेढ घण्टा लाग्ने बताएका थिए। बाटो रमाइलो भएकाले अलमलिँदै गए त त्यहाँ पुग्ने समयको यकिन गर्न नसकिने पनि उनीहरूको भनाइ थियो। बिहानै होटलकी साहुनी कर्चुङ ल्हामो गुरुङले सम्झाउने शैलीमा भनेकी थिइन्, ‘होस पुर्याएर जानुहोला है, योभन्दा पनि अग्लो ठाउँमा छ कोरला। लेक लाग्न सक्छ। उक्लिँदै गर्दा जहाँनिर अप्ठ्यारो हुन्छ, फर्किनुहोला। बलजफ्ती नगर्नुहोला।’
हाम्रा सबै साथी तीनवटा गाडीमा बाँडियौँ। गाडी अगाडि बढ्न थाले। मनमोहक छ यात्रा। बाटो कच्ची छ। बाटो किन पक्की छैन भन्ने प्रश्न मेरो मनमा आउँदै आएन। म त यो बाटो सधैँ कच्ची नै रहनुपर्छ भन्ने मान्यता राख्छु। यसो गर्न सकिए यस क्षेत्रको प्राकृतिकता र मौलिकता कायम रहन सक्नुका साथै यहाँको वातावरण संरक्षणमा पनि टेवा पुग्न सक्थ्यो।
सामान्यतया सीमास्तम्भ आसपासको १० गज जग्गालाई मानवरहित (नो म्यान्स ल्यान्ड) क्षेत्र मानिन्छ, तर यहाँ त १० किमीभन्दा बढीको कुरा छ। काठमाडौँमा रहेको राज्यसंयन्त्रको ध्यान यहाँ पुग्न सकेको छैन। स्थानीय राज्यसंयन्त्र (पालिका)को सामर्थ्य र क्षमता पुग्दैन। अनायासै मेरो मुखबाट निस्कियो– ओहो! यसरी पनि राज्य चल्दो रहेछ!
हामी क्रमशः कोरलातिर नजिकिँदै थियौँ। जोमसोमबाट लोमन्थाङ आइपुग्दासम्म जलवायु र वातावरणका सन्दर्भमा मैले जुन नकारात्मक प्रभावको अवस्था मूल्यांकन गरेको थिएँ, यहाँबाट अगाडिको भूगोल पनि त्यस्तै रहेको मेरो अनुमान थियो। मौसमी प्रणाली र जलवायु परिवर्तनको असर रैथाने कृषि प्रणालीमा सबैभन्दा बढी परेको छ।
बोटबिरुवाविनाका डाँडापाखा, लगभग हरियालीविहीन भूगोल, तर मनमोहक हिमाली दृश्यपान गर्दै करिब ८/१० किलोमिटरको यात्रापछि हामी न्हेछुङ भन्ने ठाउँनजिक पुग्यौँ। लोमन्थाङबाट यहाँसम्म आइपुग्दा खासै उकालो छैन, समथरमै गाडी गुडिरहेजस्तो लाग्छ। अगाडि एउटा खोला देखियो। खोलाको नाम नाम्डोक रहेछ। छेउछाउका हिमाल छ्यांग खुलेका थिए। हामीलाई लाग्यो, हिमाल मुस्कुराएर हाम्रो स्वागत गरिरहेको छ।
गाडीबाट ओर्लियौँ। नाम्डोक खोलामा भर्खरै पुल बनेको रहेछ। पुल बनेपछि कोरलासम्मको यात्रा निकै सहज भएको छ। हामी एकछिन यहाँ अडियौँ र यो क्षणलाई स्मृतिमा सँगाल्न केही तस्बिर खिच्यौँ र अगाडि बढ्यौँ। खोलाकै नामबाट छेवैमा सानो बस्ती छ– नाम्डोक। यसलाई यसतर्फको नेपालको अन्तिम बस्ती मानिन्छ। हामी बस्तीतर्फ गएनौँ। समय भ्याइएछ भने कोरलाबाट फर्कंदा गाउँ पस्ने हाम्रो सहमति भयो र अगाडि लाग्यौँ।

धौलागिरि-नीलगिरि हिमशृङ्खलाको दृश्य।
थोरै अगाडि बढेका थियौँ, बायाँतर्फ सशस्त्र प्रहरीको एउटा पोस्ट (बीओपी चेकपोस्ट) भेटियो। गाडीबाट ओर्लिएर प्रहरी पोस्टको साइनबोर्ड पढ्यौँ। न्हेछुङ (नेचुङ) भन्ने ठाउँ रहेछ। रणनीतिक दृष्टिले यो ठाउँ नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यस दिशामा नेपालको यो अन्तिम प्रहरी पोस्ट हो। यसपछि कोरलासम्म एक किसिमले नेपालको औपचारिक उपस्थिति पाइँदैन। नेपालको भन्सार कार्यालय पनि यहीँ छ, र यहीँबाट औपचारिक/अनौपचारिक तरिकाबाट अध्यागमनको कामसमेत हुने गरेको स्थानीयले जानकारी दिएका थिए। हामी त्यो पोस्टमा एकछिन रोकियौँ। प्रेस युनियनका अध्यक्ष शिव लम्सालले ठट्यौली शैलीमा प्रहरीसँग संवाद गर्दै सोधेका थिए, ‘यो नेपालको अन्तिम प्रहरी पोस्ट हो? माथि हाम्रो उपस्थिति छैन? त्यहाँको बस्तीमा कुनै अपराध भए वा समस्या पर्यो भने नि?’
प्रहरीले भने, ‘नाम्डोकपछि अब माथि हाम्रो कुनै बस्ती छैन। कोरलामा धेरै हावा चल्छ। हामी बिहानै नाकासम्म जान्छौँ र १२ बजेतिर यतै फर्कन्छौँ।’
अर्थात्, ढिलोमा १२ बजेपछि कोरला नाकामा नेपालको औपचारिक उपस्थिति रहँदैन। सुन्दा सामान्य लाग्ने माथिको संवादभित्र लुकेको हाम्रो राज्यको बाध्यता, पीडा र सीमा कहालीलाग्दो रहेको मेरो बुझाइ छ। यसको अर्थ हो, न्हेछुङपछि करिब १४ किलोमिटर नेपालको सुरक्षा संवेदनशीलताका दृष्टिले साह्रै महत्त्वपूर्ण छ। सामान्यतया सीमास्तम्भ आसपासको १० गज जग्गालाई मानवरहित (नो म्यान्स ल्यान्ड) क्षेत्र मानिन्छ, तर यहाँ त १० किमीभन्दा बढीको कुरा छ। काठमाडौँमा रहेको राज्यसंयन्त्रको ध्यान यहाँ पुग्न सकेको छैन। स्थानीय राज्यसंयन्त्र (पालिका)को सामर्थ्य र क्षमता पुग्दैन। अनायासै मेरो मुखबाट निस्कियो– ओहो! यसरी पनि राज्य चल्दो रहेछ!
छेउछाउ देखिएका टाकुरामाथि हिउँ हाँसेजस्तै झल्को पाएँ। मेरो मनोदशामाथि हिमालको त्यो हाँसो व्यंग्यमिश्रित थियो कि स्वाभाविक? खुट्याउन कठिन भयो।
प्रहरी चेकपोस्टपछि अब हाम्रो गाडी उकालो उक्लिन थाल्यो। यो उकालोमा टाउको थोरै दुखेको हो कि जस्तो लाग्यो। यात्राअघि तल लोमन्थाङमा होटल साहुनी कर्चुङले भनेको सम्झिएँ। मैले शिवलाई टाउको दुखेको सुनाएँ। उनले औषधिको एक चक्की दिए, आफूले पनि खाए। औषधि खाएको एकछिनमा दुखाइ अलि ठीक भएजस्तो लाग्यो। थाहा भएन, मनोवैज्ञानिक समस्या थियो कि साँच्चै लेक लाग्न खोजेको थियो।
चीनको भूमिमा बडेमानका घरहरू छन्। सुरक्षाकर्मीको बाक्लो तैनाथी छ। त्यहाँका भन्सार र अध्यागमनका कार्यालय त्यही बडेमानका घरमा छन् रे। तर, हाम्रोतिर केही छैन।
गाडी लगातार उक्लिँदै गयो। माथि थोरै समथरजस्तो ठाउँ देखिएपछि हाम्रो गाडी रोकियो। हामी सबै गाडीबाट ओर्लेका थियौँ। हामीलाई बताइएका आधारमा हामी करिब ४,२०० मिटरको उचाइमा थियौँ। करिब साढे ९ जति बजेको हुँदो हो, हावाको वेग बढ्दै थियो। दक्षिणतर्फ धवलागिरि र निलगिरि पर्वत देखिए। असाध्यै थोरै ठाउँबाट मात्र यी दुवै पर्वत प्रस्ट देखिन्छन्। छेउछाउमा पहेँला फुस्रा नांगा पहाड र टाढा धवलागिरि र निलगिरि।
त्यहाँबाट २०/२५ मिनेट अगाडि बढेपछि ठूलो चौर, चौरमा टाँगिएका केही थान त्रिपाल, केही पर चिटिक्कका ठूला घरहरू देखिए। हामीलाई बुझ्न कठिन भएन, हामी कोरला नाका पुगेका थियौँ। त्रिपालहरूमा नेपालीले थापेका पसल सञ्चालित थिए भने परका ठूला घरहरू रहेको ठाउँ चिनियाँ भूमि थियो। हामी गाडीबाट ओर्लेर त्यही चौरमा घुम्न थाल्यौँ। कोरलामा घुम्ने अरू ठाउँ केही पनि छैन, चीन र नेपालको तुलनात्मक अध्ययन गरेर पीडा अनुभूति गर्ने अवसर भने छ। बोध हुने गरी असमानताको पीडा!
यसै क्रममा हामीले सीमामा ठडिएको पिलर नम्बर २४ देख्यौँ। पिलरनजिक पुग्यौँ। त्यहाँ भएका मानिसहरूको ध्यान हाम्रो १२/१५ जनाको समूहतिर एकोहोरियो। हाम्रो समूहमा तीन पुस्ताका पत्रकार थिए, तर अनुभव एउटै थियो। पिलरभन्दा उत्तरको भूमि चीनको हो भने दक्षिणतर्फ नेपाल पर्छ। त्यहाँ पुगियो भन्ने प्रमाण सुरक्षित गर्न पिलरलाई बीचमा राखेर हामीले तस्बिर खिचायौँ। उत्तर-दक्षिण लम्बेतान फैलिएका हिमाच्छादित पर्वतशृंखलालाई पिलरले छेक्दैन, तर ती पर्वतसँगै यात्रा गर्न खोज्दा राजनीतिक सीमाले छेक्दो रहेछ।
हामी पनि पिलरमै रोकियौँ। औपचारिक प्रक्रियाविना पिलरबाट उत्तरतर्फ हाम्रो प्रवेश हुन सक्दैन। पिलर पर्तिर अर्कै देश छ। चीनको भूमिमा बडेमानका घरहरू छन्। सुरक्षाकर्मीको बाक्लो तैनाथी छ। त्यहाँका भन्सार र अध्यागमनका कार्यालय त्यही बडेमानका घरमा छन् रे। तर, हाम्रोतिर केही छैन। कोरलामा कात्तिक २०८१ मा अध्यागमन कार्यालयको स्थापना त भयो, तर सञ्चालनमा आउन सकेको छैन। अध्यागमन कार्यालयको नाममा एउटा कुनामा अस्थायी प्रकृतिको एक घर छ। तर, कोठामा ताला झुन्डिएका छन्। केही थान नेपाली सुरक्षाकर्मी पनि देखिए, जो अब एकछिनपछि तल न्हेछुङमा झरिहाल्छन्।

कोरलाको चौरमा सञ्चालनमा आउन नसकेको नेपाली अध्यागमन कार्यालय।
हामी पत्रकार भन्ने थाहा पाएर होला, त्रिपालमा अडिएका पसलका सञ्चालकहरू हाम्रासामु गोलबद्ध उभिए। उनीहरू आफ्ना समस्या हामीलाई सुनाइरहेका थिए। केही साथीहरू उनीहरूका पसलको अवलोकन गर्न उनीहरूसँगै गएका थिए। तिनका कुरा हामीले कति सुन्यौँ र कति बुझ्यौँ त्यो फरक कुरा हो, तर एउटा कुरा हामी सबैले गहिरो गरी अनुभूति गर्यौँ, सीमामा दुई देशको उपस्थितिमा व्यापक असमानता छ। भूगोल एउटै हो, तर यहाँ समय फरक छ। पिलरवारिको समयभन्दा पारिको समय सवा दुई घण्टा चलाख अर्थात् छिटो छ। घडीमा नेपालका लागि ११ बजेको छ, तर पारिपट्टिका लागि सवा १ बजिसकेको छ।
हावाको गतिमा क्रमशः तीव्रता थपिँदै छ। हाम्रो गाडी फर्कन तयार भयो। गाडीमा चढ्नुअघि मैले पछाडि फर्केर हेरेँ। मलाई लाग्यो, कोरलाले मलाई जिस्क्याइरहेको छ र सोधिरहेको छ– यहाँ किन आएका थियौ? के हेर्यौ, के पायौ?
म आफूभित्र उत्तर खोज्दै अगाडि बढिसकेको थिएँ।