काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

सातौँ दिनमा होश खुल्दा ओमप्रकाश बुढाको प्रश्न- आमा, म बाँचेँ?

५ कार्तिक २०८२
यार्सा पाटन
अ+
अ-

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित मोहरी गाउँ अग्लो भेगमा रहेको बस्ती हो। यो गाउँमा पुग्न ठाडो उकालो हिँड्नुपर्छ। गाउँलेहरू भन्छन्, “यो गाउँको बाटो मात्र होइन, भाग्य पनि उकालो छ।”

उकालोमा घर, उकालोमा खेतीपाती, उकालोमै पैसा। यहाँका बासिन्दा मोटर आउँछ भनेर सपना देख्छन्, तर गाउँमा अझैसम्म सडक पुग्न सकेको छैन।

यही गाउँका हुन्, २१ वर्षीय ओमप्रकाश बुढा। गाउँकै लोटचौर माविबाट एसईई उत्तीर्ण गरेपछि उनी कर्णाली प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न थालेका छन्। प्राविधिक विषय रोज्नुको कारणबारे भने, “जागीर छिटो पाइन्छ भनेर पढ्दै छु।”

तर उनको जीवनमा किताबी दुनियाँ मात्र चुनौती हैन, पाटनका अग्ला लेकहरूले पनि उनको परीक्षा लिन्छन्। त्यो कठिन अध्याय हो, यार्सागुम्बा खोज्न जाने।

ओमप्रकाश बुढा

मोहरी गाउँमा ४४ घर छन्। गाउँमा पेटभर खान कसैलाई गाह्रो नभएपनि पढाइलेखाइ र उपचार खर्चका लागि पैसा जुटाउन लेकतिर उक्लिएर जोखिमसँग खेल्नैपर्ने स्थानीय ५४ वर्षीय गोरबहादुर बुढा बताउँछन्। उनका अनुसार, छेउछाउका वनपाखामा पाइने वनलसुन, सुगन्धवाल, निनाइजडीजस्ता जडिबुटी बजारमा बेच्दा पैसा त आउँछ, तर त्यसले पुग्दैन। “स्कूल, कलेज वा अस्पतालको खर्च त्यसले धान्दैन, चामल र तेलमै रुपियाँ सकिन्छ। ठूलो खर्च चाहियो भने यार्सागुम्बा टिप्न जानुपर्छ,” उनले भने।

७७ वर्षीय वीरे बुढाको सम्झनामा भएअनुसार उनको हातखुट्टा लाग्ने उमेरमा यार्सा टिप्न मुगुदेखि डोल्पासम्म पुग्थे। “एक सिजनमै ५० हजारदेखि लाखौँ रुपैयाँसम्म कमाइ हुन्छ भन्ने सुन्थ्यौँ, त्यसैले घरमा भोटेताल्चा लाएर हामी पाटन चढ्थ्यौं,” उनले सम्झिए।

गाउँका अग्रजको पदचाप पछ्याउँदै ओमप्रकाशले पनि यसपालि यार्सा खोज्न जाने निधो गरे। उनी पहिलो पटक यार्सा-शिकारमा जाँदै थिए। आमा सशीला बुढाले राम्ररी गएर सकुशल फर्किनू भन्दै घरबाट बिदा गरिन्।

ओमप्रकाशले यार्सा खोज्ने केही साताको यात्राका लागि चाहिने सरसामग्रीको भारी हालेर नाम्लो बोके। भारीमा मकैको पिठो, चामल, सिमी, सिन्की र केही लुगाफाटा थिए। “घाँटी नाम्लोले थिचेको देख्दा मेरो मन नै थिचिएको थियो,” छोरालाई बिदा गर्दाको क्षण सशीलाले सम्झिइन्।

ओमप्रकाशले आमालाई चिन्ता नगर भन्दै ढाडस दिएका थिए, ‘पीर नगर आमा, पैसा कमाएर पढाइ सजिलो बनाउँछु।’ तर भित्रभित्रै उनी आफै चिन्तामा थिए। तर गन्तव्य हिमाल थियो, र त्यहाँ देवताले के लेखेका छन् भनेर कसैलाई पत्तो हुँदैन!

उनी गाउँका अगुवा र साथीहरूको पछि लागे।

मोहरी गाउँ

६ दिन निरन्तर हिँडेर चेप्ट्या, धेल्या, पुवा हुँदै डोल्पा पुगे। उकालो काट्दा कहिले खोला फड्कनु, कहिले भीर समाउनु यात्राको नियमित पाटो थिए। तर डोल्पाको पाटन पुग्नेबित्तिकै उनले यसअघि कहिल्यै नगरेको अनुभव गरे।

“पुगेको दिनमै सास फुल्यो। छाती भारी भयो, मरिजान्छु जस्तो लाग्यो,” ओमप्रकाशले त्यो पीडा वर्णन गरे।

सँगै गएका साथीहरू सान्त्वना दिन्थे, ‘केही हुँदैन, एक-दुई दिनमै ठीक हुन्छ।’

तर दिन बित्दै जाँदा साथीहरूले भनेझैँ सजिलो भएन, हालत झन् बिग्रियो। उनी एक सातासम्म बिरामी परे। औषधिको नाममा टाउको दुख्दा खाने ब्रुफिन मात्रै थियो। “सुत्दा पनि बेलाबेला सास अड्किन्थ्यो। मनमा डर मात्र थियो,” उनले भने।

मोबाइल सिग्नल आउन एक घण्टा उकालो चढ्नुपर्थ्यो। त्यहीबीचमा ओमप्रकाशबारे खबर फैलियो, “जुम्लाका युवक पाटनमा अलपत्र।”

त्यो खबर घरमा पुग्दा उनको आमा–बुबाले आफूलाई सम्हाल्न सकेनन्। बुबा आइतराम बुढा सम्झिए, “त्यो खबर सुन्दा म त ढलेको जस्तै भएँ। आमा चिच्याएर रोइन्। गाउँले सबै भेला भए। हेलिकोप्टरबाट उद्धार गर्नुपर्छ भने। तर त्यसका लागि पैसा चाहियो। पैसा थिएन।”

गाउँको समूहबाट नौ लाख रुपैयाँ ऋण काढियो। “सांसद विनिता कठायतले एक लाख २५ हजार र सांसद देवेन्द्र शाहीले २० हजार दिनुभयो। बल्ल हेलिकोप्टर बोलाउन सकियो,” आइतरामले भने।

गत १ जेठमा ओमप्रकाशको उद्धारका लागि अन्नपूर्ण एअरको हेलिकोप्टर गयो। तर त्यसबेला डोल्पाको आकाश रिसाएको थियो। खपिनसक्नु हावाहुरी चलिरहेपछि हेलिकोप्टर फर्कियो। “त्यस रात त हामीले छोरो गुमायौं भन्ने ठानेका थियौं,” आइतरामले आँखामा डर तैरियो।

अर्को बिहान मौसम खुलेपछि मात्रै ओमप्रकाशको उद्धार हुन सक्यो। त्यतिबेला उनी अचेत थिए।

उनलाई सोझै जुम्ला बजारको अस्पताल लगेर आईसीयूमा राखियो। सात दिनसम्म परिवारलाई भेट्न पनि दिइएन। सातौँ दिनमा होश आउँदा उनको पहिलो प्रश्न यही थियो, ‘आमा, म बाँचेँ?’

‘हो बाबु। देवताले तेरो आयु अझै काटिदिएका छैनन्। तेरो सामल सकिएको रैनछ,’ आमा सशिलाले आँखाभरि आँसु पार्दै भनिन्।

सामल नसकिनु भनेको खाना खान पाउने समय लम्बिनु हो।

१२ जेठमा उनी गाउँ फर्किए। निधारमा पहेंलो टीका, कानमा सुनपाती। गाउँभर खुशी छायो। आफन्तहरू ‘पिठा लाउन’ आए।

गाउँको परम्परा छ, कसैको छोरो विदेशबाट फर्किए, लडाइँबाट जोगिए, जागीर पाए वा परीक्षा पास गरे छरछिमेकी भेट्न आउँछन् र पिठा खान्छन्। ओमप्रकाश बाँचेर फर्केपछि त्यो परम्परा दोहोरियो।

आमा भन्छिन्, “छोरो बाँचेर आयो र खुसी बाँड्न पाइयो। नत्र रुवाबासी हुने थियो।”

तन्नेरी छोराको ज्यान बच्दा घरमा खुसीयाली छाएको छ, सँगै दु:ख पनि छ। किनकि उनलाई उद्धार गर्न लिएको नौ लाख ऋणको भारी थपिएको छ।

आइतराम भन्छन्, “अब ब्याज तिर्न काम गर्नुपर्छ। हाम्रो कमाइ भने माटो कोर्नु (जडीबुटी खोज्नु) र खेतीपाती गर्नु हो। यार्साको भरमा छियौं, तर ऋण थपियो।”

यार्सागुम्बा

छोरोतर्फ हेरेर उनी थप्छन्, “फरेस्ट्री पढ्याछ। तर रुख चढ्न सक्ने नाइँ, जागीर कसरी पाउला? पीरै लाग्छ। रोगले थला परेको छ। धौगरी बाँचेर आयो, खुसी यही छ।”

गाउँका लागि यार्सागुम्बा जीवन फेर्ने बुटी हो। यो आशा पनि हो, शोक पनि। कसैका लागि यो सुनजस्तै चम्किलो हुन्छ, एकै सिजन लाखौं कमाइ हुन्छ। तर कसैका लागि जीवनकै अन्त्य गरिदिने कारण बन्छ। पाटनका लेकमा कतिले अन्तिम सास फेरे, लगत खोज्नुपर्छ।

जुम्लाकै उदाहरण छन्, तल्फी गाउँका तीन युवकले यार्साको लेकमै ज्यान गुमाए। चौर गाउँका अर्को युवकले लेक लागेर प्राण त्यागे।

“सामल लामो रहेछ, त्यसैले बाँच्यो। तर जब सामल छोटो हुन्छ, गाउँ नै रित्तिन्छ,” गाउँका बूढाबूढी भन्छन्।

ओमप्रकाश अहिले जुम्ला बजारमा डेरा लिएर बस्छन्। पढाइ छोड्न मन छैन, तर पूरै स्वस्थ नहुँदा आत्मविश्वास गुम्ला जस्तो हुन्छ। उनले भने, “म बाँचेँ, तर परिवार ऋणमा डुब्यो। अब मेरो पढाइले मात्र त्यो ऋण चुकाउन सक्नेछ।”

यार्सागुम्बा जीवनको जडीबुटी। तर गाउँका युवाका लागि कहिलेकाहीँ यो नै मृत्यु र ऋणको कारक बन्न पुग्छ। धन्न बाँचेका थिए ओमप्रकाश!