समयक्रममा गुलजार बनेका र सुनसान बनेका अनेकौँ ठाउँमध्येको एउटा हो, हनुमाननगर। विसं. २००१ को बाढीले असर नगर्दासम्म हनुमाननगर सप्तरी जिल्लाको सदरमुकाम थियो। सदरमुकाम राजविराज सरेपछि यो ठाउँ मानवीय तथा प्रशासनिक गतिविधिका हिसाबले सुनसान बन्न थाल्यो।
“स्थानकल्पनाले प्रेरित भएर हामीले आकाशमा ठाउँ बनाउँछौँ। एउटा ठाउँलाई विभिन्न स्वरूपमा ढाल्छौँ। कति गुल्जार ठाउँलाई छाड्छौँ र सुनसान बनाउँछौँ। सारमा, सबै ठाउँले हामीलाई सहेको हुन्छ।”
– योगेश राज, २०७६।
मान्छेका कथा लेख्नभन्दा ठाउँका कथा लेख्न गाह्रो भएरै होला, संसारभर ठाउँका कथा कम र मान्छेका धेरै भेटिन्छन्। ठाउँ बोल्दैन, आफ्नो कुरा भन्दैन भन्ने ठानेर नै मान्छेले उसले बोलिरहेका, भनिरहेका कुरा बुझ्दैन वा बुझ्ने प्रयास गर्दैन। उसले मान्छेले जस्तो आफ्नो कथा-व्यथा, उत्थान-पतनलाई बढाइँचढाइ गर्दैन, त्यसैले मान्छेलाई उसका कथा लोकप्रिय लाग्दैन, कथाजस्तो पनि लाग्दैन। विकास, अवसर, प्रविधि, बाढी-पहिरो, प्राकृतिक विपत्ति वा सुखसुविधाको छनोटसँगै मान्छे कुनै ठाउँसँग जोडिन्छ र कुनैसँग छुट्टिन्छ।
खासमा मान्छेले एक आयुको चिन्ता गरिरहँदा ठाउँ भने अनेकौँ रूप-रङ र अवस्थामा अनेकौँ आयु बाँचेर मान्छेको गतिविधि नियाल्दो हो। त्यसो त धेरैजसो परम्पराले प्रकृति र ठाउँलाई विशेष मान्दछ र ठाउँसँगको यात्रा, विगत र अस्तित्वलाई विभिन्न उपायले सम्झन खोज्छ। उदाहरण- ‘ब्रह्माण्डको उत्पत्तिदेखि चराचर जगत्को सृष्टिको विकासक्रममा मान्छेको सृष्टिपछि मानव कुल, वंश र परिवारको विकाससँग मानव बसाइ सराइ वा स्थान परिवर्तनका साथै मानव समाजको उत्थान र पतनको विवरण विविध गाथा, किंवदन्तीमा जीवित राखेर विगतका गौरव सम्झाउने श्रुतिपरम्पराका रूपमा जीवित मुन्धुमको पाठ प्राचीन र अलिखित इतिहास पनि हो’ (बैरागी काइँला, २०७६)।
समयक्रममा गुल्जार बनेका र सुनसान बनेका अनेकौँ ठाउँमध्येको एउटा हो, हनुमाननगर। विसं २००१ को बाढीले असर नगर्दासम्म हनुमाननगर ‘सप्तरी जिल्ला’ को सदरमुकाम थियो। त्यसपछि सदरमुकाम राजविराज सर्यो र हनुमाननगर मानवीय तथा प्रशासनिक गतिविधिका हिसाबले सुनसान बन्न थाल्यो। ठाउँका रूपमा हनुमाननगर त कुनै न कुनै रूपमा त्यही थियो, तर मान्छेले यसप्रति गर्ने व्यवहार फेरियो।
एउटा ‘ठाउँ’ लाई दिइएको विशेष नाम ‘सदरमुकाम’ र प्रत्यायोजन गरिएका शक्ति, अधिकार र प्रतिनिधित्वले दुई फरक स्थानका फरक अस्तित्व र महत्त्व देखा पर्न थाले। सामाजिक, राजनीतिक, आर्थिक वा सांस्कृतिक सम्बन्धहरू फेरिए। अब दुई शहरसँग कोही जोडिन पुगे, कोही टाढिन। कैयौँ मान्छेका लागि एउटा ठाउँ आफ्नो र अर्को बिरानो लाग्न थाल्यो। कति नयाँ मान्छे थपिए, कति पुराना मान्छेहरू पातलिए। कति नयाँ पहिचान बनाइए, कति पुराना चिनारी बगाइए। यसरी एउटा ठाउँ विशेषलाई मान्छेले फरक तरिकाले सम्झन, बुझ्न र प्रयोग गर्न थाल्यो।
हनुमाननगरलाई हेर्दा यसको स्थापना र विस्थापनको कथा सँगै आउला, तर सोसँग जोडिएर आउने नरहाको कथा वा राजविराजको कथा मात्र होइन कोशी बाढीको कथा र कोशी बाढीले धेरै कुरा विस्थापित गर्न अगाडि आएको १९९० सालको भूकम्पको कथा पनि सँगै आउनुपर्ने देखिन्छ।
हनुमाननगरले आफ्नो ठाउँसम्म आइपुगेको कोशीलाई कसरी सम्झँदो हो? त्यहाँबाट विस्थापित मान्छे र मान्छेसँगै विस्थापित सम्बन्धलाई कसरी बुझ्दो हो? के ठाउँ आफैले आफ्नो अतीतलाई सम्झन्छ र भविष्यको कल्पना गर्छ? मान्छेका अगाडि आफ्नो उत्थान र पतनको कथा कसरी भन्छ वा देखाउँछ? यससँग जोडिएका मान्छेहरूले ती ठाउँका कथा कसरी सम्झन्छन् र नयाँ पुस्तालाई के-के भन्छन् होला? के मान्छे ठाउँलाई अचानक छाडेर आफ्नै दुनियाँमा रमाउन सक्छ वा ठाउँसँग जोडिएका, ठाउँलाई चिनाउने, सम्झाउने वस्तु, परम्परा बोक्ने स्थापित गर्ने र कुनै रीतिथिति बाँधेर सम्झने प्रयास गर्छ होला? मान्छेले थातथलो छोड्नै लाग्दा आफूसँग के लग्छ र के छाड्छ होला? आफै छाड्नु र बाध्यताले छाड्नुमा कति धेरै फरक होला? अचानक आउने बाढी, पहिरो, आगजनी र अन्य भवितव्यमाझ रहने छोटो समयमा मान्छे के जोगाउन चाहन्छ र केको माया मार्छ होला? आदि प्रश्नका उत्तर सहज छैनन्, तथापि हनुमाननगरका चहलपहल र गतिविधिलाई हेर्दा त्यस्तो केही कथा बन्न सक्छ र स्थान विशेषलाई बुझ्ने हाम्रा प्रयासमा सानो योगदान हुनसक्छ।
इतिहासकार हरिकान्त लाल दासले आफ्नो पुस्तकमा लेखेका छन्– हनुमाननगरभन्दा तीन-चार माइलपूर्व नरहा भन्ने ठाउँमा सरकारी अड्डाहरू थिए। त्यो ठाउँ भारतीय सीमा नजिक रहेकोले त्यहाँ बजार अड्डा थियो। एउटा जेलखाना पनि थियो। जसबाट हनुमाननगरअघिको ठूलो बजार नरहा रहेको बुझ्न सकिन्छ। उनका अनुसार कोशी नदीको बाढीले गर्दा त्यहाँका अड्डा र बजार त्यहाँदेखि ३-४ माइल पश्चिम हनुमानगढीमा सारियो। हनुमानगढी क्षेत्रमा त्यतिवेला जङ्गल रहेकाले बस्ती थिएन। पुरातत्त्व विभागको प्रतिवेदनमा हनुमाननगर बजारको स्थापना विसं. १९२८ मा भएको देखिन्छ।
हनुमाननगरलाई हेर्दा यसको स्थापना र विस्थापनको कथा सँगै आउला, तर सोसँग जोडिएर आउने नरहाको कथा वा राजविराजको कथा मात्र होइन कोशी बाढीको कथा र कोशी बाढीले धेरै कुरा विस्थापित गर्न अगाडि आएको १९९० सालको भूकम्पको कथा पनि सँगै आउनुपर्ने देखिन्छ। तथापि यहाँ भूकम्प र हनुमाननगरसँग सम्बन्धित सामग्री प्रस्तुत गरिएको छ।
जुद्धशमशेरको समय (१९८९-२००२) मा वीरगञ्जबाट हनुमाननगर लगायत देशका अन्य क्षेत्रमा भएको टेलिफोन विस्तारका समाचार गोरखापत्रले नियमित छापेको छ भने हनुमाननगर सहित समग्र नेपालमा भइरहेको टेलिफोन र बिजुली विस्तारका विषयमा मार्टिन चौतारीबाट सन् २०१९ जुन (नं २६) मा प्रकाशित अर्ली डेभलपमेन्टस् इन टेलिफोन्स एन्ड इलेक्ट्रिसिटी इन नेपाल (२०१९) रिसर्च ब्रिफ’ र बोर्डरल्यान्ड्स ब्रोकर्स: वार टु पिस ट्रान्सजिसन इन नेपाल (२०१८) ले थप केही जानकारी दिन्छ।
हनुमाननगरमै विसं १९५६ मा स्थापना भएको अस्पताल, यसको व्यवस्थापन, तत्कालीन समयमा चलेका औषधी-उपचार तथा अन्य सामग्रीका मूल्य र उपलब्धताका विषयमा स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) जर्नलको भोलम २१(२):३४७-४०० मा मूल सामग्रीसहित चर्चा गरिएको छ।
आग्ये जील्लै सप्तरी हनुमांनगर मालका हाकीं कारींदाके यथोचीत उप्रात तेसतर्फ
छोटा बडा रैती दुनीञाहरू बेरामी हुदा बेदाम्मा इलाज गर्ना नीमीत तेस सप्तरी हनु-
मांनगरमा श्री (!) वीरअसपताल षडा गरीबक्स्येको छ सो असपतालमा गर्मीका या-
ममा ब्याहान ७ बजेदेषी १० बजेसम्म र बेलुका ४ बजेदेषी ६ बजेसम्म जाडाका दी-
नमा व्याहान ९ बजेदेखि १२ बजेसम्म बेलुका ३ बजेदेषी ५ बजेसम्म असपता-
ल षुला रहनेछ सो टायेममा त्पसीलका मानीस असपताल षर्च गर्नालाई तप-
सीलका कामके दरीयाको ज्मा कं रू ४६०१S॥.॥ कट्टी स्याहा षडा गरी जी-
म्मावारी ली षर्च गर्नु गुठीमठको आम्दानी नभया मालमा।
उक्त लेखमा प्रस्तुत मूल सामग्रीका छविचित्रले हनुमाननगर अस्पतालभित्र र वरिपरिको तत्कालीन वस्तु-संसारका विविध विवरण, प्रयोग र माग-आपूर्तिका सम्बन्ध केलाउने बाटो दिएको छ। यसबाट औषधी राख्न आवश्यक दराज, अपरेसन गर्ने हतियार, चामल, नुन, दाल, बेसार, मासु, तरकारी, मसला, चीनी, तेल, मइन, रूवा, साबुदाना, मलमल, मटीतेल तथा डाक्टर, कम्पाउण्डर, ड्रेसर, भान्से र टहलुवाका ज्याला, जिम्मेवारीका सामान्य विवरण बुझ्न सकिन्छ। विसं १९९० को भूकम्प सेरोफेरोमा उत्पादित यस्ता अनेकौँ सामग्रीबाट हनुमाननगर मात्र होइन कैयौँ स्थान, वस्तु र मानवीय सम्बन्धका कथाहरू बुझ्न सकिन्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा कोशीमा बाढी आउन पूर्व उत्पादित ‘भू-कम्प’ का सामग्री देखिनेछ, जसले हनुमाननगर विस्तारै मान्छेका लागि र मान्छे-राज्यका कारोबारका लागि ‘अयोग्य’ हुँदै थियो भन्ने सङ्केत गर्छ।
यहाँ प्रस्तुत हनुमाननगरसँग सम्बन्ध राख्ने लेख र सामग्रीमध्ये भूकम्पको विवरण नयाँ हो। हनुमाननगरले कोशी बाढीका कारण आफ्नो अस्तित्व गुमाए पनि त्यसका केही पूर्वाभास विसं १९९० को भूकम्पमा देखा परिसकेका थिए। त्यसैले यहाँ भूकम्पका केही दस्तावेजलाई जस्ताको तस्तै राख्ने प्रयास गरिएको छ। यसले भूकम्पको विवरण, भूकम्पपछि देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा भौगोलिक उथलपुथलको सङ्केत गर्छ।
कुनै समय कुमारी चोक अड्डामा रहेका १९९० सालको भूकम्पसँग सम्बन्धित सामग्री हाल नेपाल राष्ट्रिय अभिलेखालयमा उपलब्ध छन्। महिला, पुरुष, बालबालिका तथा क्षेत्रगत आधारमा हताहत, घाइते भएकाको विवरण, राहत, पुनर्निर्माण तथा आर्थिक सहयोगका विषयमा पनि अनेकौँ सामग्री भेटिन्छन्। त्यो विनाश पछि नेपालमा प्राविधिक हिसाबले जमिनको जानकारी लिने प्रयास र भूकम्प प्रतिरोधक घर बनाउने विधिका विषयमा पनि खोजीनिती हुन थाल्यो। दैनिक उपभोग र निर्माणका परम्परागत ढाँचामा पनि परिवर्तन आयो।
सो समयमा प्रकाशित पत्रपत्रिका, किताब, सवाई, हस्तलिखित सामग्री आदिलाई आधार मान्दा विनाश आफैमा विनाश वा प्राकृतिक प्रकोप मात्र नरहेर राजनीतिक, आर्थिक वा सामाजिक परिवर्तनको आधार पनि बनिदिन्छ भनेर मान्न सकिन्छ।
प्रस्तुत सामग्रीमध्ये केहीले हनुमाननगरको गतिविधिको कथा भन्नेछ, केहीले स्थापना र बाढीले पारेको असर पछिको कथा भन्नेछ भने केहीले कोशी बाढीको। एक हिसाबले भन्ने हो भने यहाँ मान्छेका कथा केही कम र ठाउँ विशेष, भौतिक संरचना तथा प्राकृतिक प्रकोपका कथा धेरै देखिनेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा कोशीमा बाढी आउन पूर्व उत्पादित ‘भू-कम्प’ का सामग्री देखिनेछ, जसले हनुमाननगर विस्तारै मान्छेका लागि र मान्छे-राज्यका कारोबारका लागि ‘अयोग्य’ हुँदै थियो भन्ने सङ्केत गर्छ। यहाँ दुईवटा सामग्री पूर्व-प्रकाशित पुस्तकबाट साभार गरिएको छ भने १९९० सालको भूकम्पसँग सम्बन्धित सामग्री नेपाल राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ।
सामग्री १
सामग्री १ अन्तर्गत सप्तरि गोस्वारा हनुमानन्नगरबाट १९९०।१०।५।५ को मितिमा ‘श्री ३ माहाराज का हजुर्मा’ पठाइएको चिठ्ठीको केही अंश प्रस्तुत गरिएको छ। पत्रले भूकम्पपछि हनुमाननगर वरिपरिको अवस्था चित्रण गरेको छ। पत्रमा कोशी सेरोफेरोमा धाँजा फाटेको, जेलका पर्खालहरू चर्किएपछि कैदीहरूलाई धर्म्मभकारीमा राखिएको, कतिपय ठाउँमा अड्डाहरू बनाउन नहुने सुझाव दिइएको जानकारी छ। यसै पत्रमा ‘कोशी धाम्मा पनि जमिन फुटेको बालुवाको भल बगेको, पसल र सामान पुरिएको, ठूला ढुङ्गा देखिएको, ग्यास जस्तो गन्ध आएको, तातो पानी र धुवाँ निस्किएको विवरण मात्र होइन ‘वभर सीयेर’ बाट लगत गराउन, बनाउन हुने वा नहुने सुझाव दिन र कचहरी, अस्पताल बनाएर काम चलाउनका लागि आवश्यक ‘नीकासा’ का लागि अनुरोध पनि गरिएको छ। तीन पृष्ठ लामो यस पत्रको केही अंश मात्र यहाँ दिइएको छ।
…९० साल माघ २ गते २ का दिंको २ वजे २० मीनेट् जादा करीव ५ मीनेट्
सम्म ठुलो भैँचालो गयाकोले वडाहाकिम् रहने घर र अस्पताल् वजार अडा जेलखाना
भत्की नोक्सान् भयाको []गोस्वारा माल् [अ]मीनी व्यारेकर वजार अडा तालुक वजारको
ठीघर र हाकीम् वस्ने समेत् सर्कारी घरहरू सवै चर्केकोले वस्नलाई यति जोखिम् भो अझै सम्मपनि भैँचालो वरावर गैरहेकोले हामी सवै दहसत् मा छम्…।
…
…घर षेत्
सडक जमीन् हरू समेत मा धेरै ठाउँमा धाजा फाटी पानी नीस्की भल् वगी हाहाकार भयाको थीयो ईनारहरू सव भत्की वालुवाले पुरी खाने पानीलाई पनि मुस्कील् भो नहरका हेड् वर्कमा सुलीस रेगुलेट कुनै ढल्की कुनै चर्कियो नहरको पुलहरू हाकिम् कारीन्दा [वध्मे]घर चर्कि भत्क्यो…
…
…कैदीहरूलाई
माहाजन्का गोलामा हुनसकेसम्म वन्दोवस्त गरी राषी सो कैदीको वचाऊ नीमीत्त र हस्पता
ल् भत्केकोले सर्कारी सामान् [के] हीफाजत् लाई म्यादी सीपाही २० जवान् भर्नागरी १८
जवान् कैदीको वचाऊ…
…
…हनुमान् नगर अमीनी [तर्फ]को जेल हरू मर्मत् हुन सकछ सक्दैन भनि नहरको वभर सीयेर झीकाई जचाउँदा धेरै भाग बीग्रेकोले मर्मत हुन सक्दैन नञा श्रीजना गरी बनाउ
नू पर्छ भनेकोले सोजेलर अडा [ ] समेत् नञा श्रीजना गरी वनाऊन कोसी नजीकै करी
व १॥X२ कोस टाढा भयाको जमीन्हरू पनि धेरै फाटेको हुनाले हनुमाननगरमा पक्की
अडाहरू वनाऊनपनि दहसत देखिया[का]ले जाचनालाई एक्सपर्ट पनि चाडो नीकासा पाऊ। जो हुकुं
…

नेपाल राष्ट्रिय अभिलेखालयमा रहेको १९९० सालको भूकम्पसँग सम्बन्धित सामग्रीको नमुना
सामग्री २: भूकम्पपीडितलाई आवश्यक काठको जोहो गर्ने सम्बन्धमा
राष्ट्रिय अभिलेखालयमा रहेका हजारौँ सामग्रीमध्ये सीमित सामग्रीको अध्ययन गर्दा भूकम्पपछि काठमाडौँ उपत्यकाबाहिरका खबर विभिन्न गौंडा र गोश्वाराबाट नियमित रूपमा पठाएको देखिन्छ। खासगरी पश्चिम बुटवल, चिसापानी गढी, सिराहा, सप्तरी, उदयपुर र पूर्वी पहाडका रिपोर्टमा ‘मालपोत’ सँग सम्बन्धित जानकारी नियमित रूपमा काठमाडौँ पुगेको देखिन्छ। भूकम्पका धक्काहरू गइरहेको पनि विवरणमा समावेश गरिएको छ। यस बाहेक नियमित रिपोर्टिङ हुने गोश्वारा वा अड्डाबाट सो क्षेत्रमा उपलब्ध नुन, मट्टितेल, चामल लगायतका सामग्रीको बजार भाउ र मूल्य घटबढको विवरण पनि देखिन्छ। विवरण पेश गर्ने क्रममा साहु महाजनले भाउ बढाउन खोजेको, उनीहरूलाई सम्झाएको र मूल्य नबढाउन निर्देशन दिएको, बजारमा सामानको अभाव नभएको जस्ता जानकारी पनि छन्। कुनै कुनै प्रसङ्गमा पुराना ऐन वा कानून जे भए पनि राहत दिन आवश्यक छ भन्ने आशयमा निर्देशन दिएको पनि भेटिन्छ।
सरकारी जङ्गल नभएको तर भूकम्पले घर नोक्सान भएकाले काठ माग्न आएकालाई ५४ सालको सनद अनुसार बिर्ता मौजा बाहेकका जनतालाई (माल मौजाका) बिर्ता मौजाबाट काठ दिन नमिले पनि र लक्ष्मीनियाँ ‘बिर्ता जङ्गल’ भए पनि सो जङ्गलको काठ विदेश निर्यात गर्न वा बिक्री गर्न नपाउने शर्तमा आवश्यकता अनुसार दिनका लागि निर्देशन दिइएको सामग्री पनि भेटिन्छ (सामग्री २ र ३)।
श्री चिफ साहेबका हजुर्मा
सर्वशक्ती मान्ले सदाचिरारोग्य राखुन् यसैले मेरो उद्धार छ जो मर्जि—
सीराहा ४ प्रगन्नामा सर्कारि जंगल नहुनाले भुकम्पले घर नोक्सान भै ल
कडि माग्न आयाका रैतीलाई घरहर संगहा को लकडि दीनुभनि लक्ष्मी नीञा विर्ता
माल्लाई लेखौट गर्दा ५४ साल्मा मा भैरहेका सनदले विर्ता मौजा वाहेक मालमौजा
कारैतीलाई घर हर संगहादिनु भंन्या नलेखियाको भनि लकडि दियन भंन्या सि
राहा माल्ले रपोट गरेको र घर वनाउन ल्कडि पाउ भनि रैती ज्मिदारले बराबर उजुरग
र्न आया को स्मेत् हुनाले सिराहा इलाका रैति दुनिञालाई लकडि नभै साह्रै दुष
पायाकोले हाल भुकम्पले घर नोक्सान् भयेका रैती लाई केहि दस्तुर नली र पछी
लाई पनि सर्कारि जंगल/ नहुनाले सव[ल] सनद मुताविक घर हर सगहाको
लकडि विर्ता जंगलबाट दीनु भंन्या निका[ ]लाई. श्री ३ महाराज् का जुनाफ मा जा
हेर गरेकोछु गरिप्रवर जो मर्जि———-
भुकम्पले नोक्सां भयाको जैनगर वजारको जम्मा मील १३ मध्ये मी
ल ७ चालु भैसक्यो. भन्यार धान मं १ को रू १॥-॥ सनमन १ के रू ३- को भाउ छ
भंन्या चन्द्र गञ्ज बजार अडाले जनाऊ दिया को र आज हनुमान्नगर बजार
मा धान मं १ के रू १॥– १॥-॥ र पटुवा मन १ के रू २॥।–२॥।- को भाऊ भयाको
र फागुं २८ गते उपरांत भुकम्प भयाको छैन जो मर्जि—
हनुमान्नगर माल्मा आज रू ७४२०॥।- ॥।३ मालपोत असुल भ
याको ले जाहेर गरेकोछु जोमर्जि——-
ज्यादा हरफमा कमवेस भयाको. माफ पाउनाको आधारमा
छु जो मर्जि———-

नेपाल राष्ट्रिय अभिलेखालयमा रहेको सामग्री (पोका नं ३७४)
सामग्री ३: आवश्यक काठ ‘विर्ता जङ्गलबाट’ दिन निर्देशन
श्री कम्यान्डर इनचीफबाट
९ नं श्री नानी मे.ज. [- – ]राज सम्सेर जंगबाहादुर राणाके सुभआसीक भुकम्पले घर भत्की वनाउना
लाइ लकडी नपाउने रैतीलाइ लक्ष्मी निञा वीर्ता जङ्गल्को लकडी दिनु भनी माल लाइ लेखौट गर्दा
माल मौजाको रैतीलाई दिनु भने ५४ साल्का सनदमा नलेषीयाको भनी नदीयेको सीराहा ४ प्रंगना
मा सरर्कारी [या] जंगल नभयेको भंने स्मेत सप्तरी गोस्वाराका वडा हाकींले जाहेर गरेको वेहोरा श्री ३ माहाराज
वुवाज्यूका हजूर्मा जाहेर हुदो रैती दुनीयाको घर बनाउनालाइ हर घर सँगर बमोजीं पाउने अैन सवाल्ले
दीन हुने लकडी जो जसलाई जती चाहीन्छ चाहीने जत्ती सरकारी जंगलवाट दीनु भनी अडा अडालाइ
नीकासा भैगयेको हुनाले लेषीयाका [जीहवामा] वीर्ता लक्ष्मीनीञा ^जंगल^ मात्र भयेको भंने जाहेर भयेको हुना
ले वीर्ता जंगल भये पनी दैवी आपतको वषतमा घर वनाउ पर्ने भयाको हुनाले स्व जंगलको लकडी
वाट दुनीयालाई घर वनाउन चाहीने जत्ती अन्त वीदेस मुगलाना समेत लान वीक्री गर्न नपाउने गरि जो
जसलाई चाहीने हो चाहीने जत्तीको लगत ली स्व वमोजीं घरहर संगका लकडी दिनु भनी लेषी पठाउ
नु भंने हुकू भये बमोजीं वडा हाकींलाई आजैका मीती लेषी गयेको हुदा नानीलाई स्मेत लेषी व
क्सेको छ हुकूं वक्सेको माथी लेषीया वमोजीं गरी वीर्ता माल्का नाउमा जो चाहीने आडर पुर्जी गरी
पठाउन्यै छौ इती सम्वत १९९१ मा [ल जेष्ठ] २ गते रोज ३।

नेपाल राष्ट्रिय अभिलेखालय (पोका नं ३७४)
सामग्री ४: केही विरोधका स्वर र व्यवस्थापन
काठमाडौँ बाहिरबाट पठाइएका केही सामग्री हेर्दै गर्दा उब्जने एउटा महत्त्वपूर्ण प्रश्न भने विपद्पछि पुराना सम्बन्ध, व्यवस्था वा मान्यतामा आएका परिवर्तनका सङ्केतहरू हुन्। राज्य प्रशासन र जनताका माझ देखापरेका विवाद वा शक्ति सन्तुलनमा आउने परिवर्तनलाई यस सामग्रीले केही हदसम्म समेट्ने प्रयास गरेको छ। यसका अतिरिक्त राज्य प्रशासनले यस्ता विपद्का समयमा राहत वितरण, उद्धार कार्यक्रम वा पुनर्निर्माणमा मात्र ध्यान दिंदैन वा ध्यान दिन सक्दैन बरू विपद्का कारण राज्य वा प्रशासन क्षेत्रमा देखापर्ने थप चुनौतीहरूको सामना कसरी गर्ने? भन्ने विषयमा पनि ध्यान केन्द्रित गर्छ भन्ने सन्दर्भ बुझ्नका लागि हनुमाननगर क्षेत्रबाट टिपाइएको यो रिपोर्ट महत्त्वपूर्ण दस्तावेजका रूपमा छ।
भूकम्पपछि जेल भत्किएको अवस्थामा जेलमा परेका कैदीहरूको व्यवस्थापन कसरी गर्ने, शान्ति सुरक्षाका लागि आवश्यक थप मानिस भर्ना गर्ने कि नगर्ने, बन्दुक, गोली जस्ता स्रोत-सामग्रीको अभावमा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा पनि ध्यान दिइएको छ। राहत, उद्धारका कार्यक्रममा मात्र ध्यान दिँदा र साधन स्रोतमा ध्यान नदिँदा राज्य वा प्रशासनले विद्रोहका चुनौतीहरूको सामना गर्नुपर्ने सम्भावनाप्रति पनि राज्य, प्रशासन कुनै न कुनै रूपले सचेत देखिन्छ। त्यसैले मालपोत नबुझाउने सल्लाह गर्ने विभिन्न मौजाका व्यक्तिहरूको नाम, विवरणको लगत राखिएको छ, काठमाडौँमा रिपोर्टिङ गरिएको छ र उनीहरूमाथि निगरानी राख्न र समय आएपछि पक्राउ गर्न आदेश दिइएको छ। यस्तो परिस्थितिमा रिपोर्टमा उल्लेख भएजस्तो बन्दुक वा कार्तुसको खोजी सामान्य प्रयोजन वा जेल भत्किएपछि बन्दीहरूलाई सुरक्षित राख्न र उनीहरूलाई भाग्न नदिन मात्र नभएको पनि हुन सक्छ। यसका अतिरिक्त प्रत्येक रिपोर्टमा मिति अनुसार कति मालपोत उठ्यो भन्ने कुराको उल्लेख गरिएको छ। जसको अर्थ स्थानीय प्रशासन तथा काठमाडौँ दुवैलाई ‘मालपोत’ निकै महत्त्वपूर्ण विषय हो भन्ने बुझ्न गाह्रो पर्दैन।
श्री ३ महाराज का जुनाफ जुनाफमा
उप्रान्त महाराज करूणा निधान् दयासागर धर्म्म औतार सर्कारका प्रतापि पुज्यें गाथ
मासदा कुशल मङ्गलोदय विराजि वक्स्ये तावेदारको उद्धार होला महाराज
जो हुकुम्—————————–
महाराज सिह्रा माल र अमिनि जेल स्मेत भुकम्पले भत्केको हुनाले
तहविल् जेहल् को कैदि श्रेस्ता मिसिल् कागज स्मेतको हिफाजत नीमीत्त पा
लो पहरामा वन्दुक राषने चल्ने नभयेकोले वन्दुक र टोटा पाऊ भनि सि
ह्रामाल अमिनि ले रपोट गरेको हुनाले यस गोश्वारा मारहेको २ नाले टोटा वा
ल १ र वन्जाच काले. [मणी] राज गुरूं को घर तायदाति हुदा निस्केको ह
नुमान्नगर अमिनिमा रहेको वेपास्को २ नाले टोटा वाल वन्दुक १ हनुमा
न्नगर अमीनि वाट लि तावेदार संग मौज्दात भयाको टोटा ५० मध्ये माल
अमिनिलाई १२-१२ गोटा का दर्ले टोटार १।१ नाल वन्दुक स्मेत माघ [२५] गते
मा पठाई दियाकोले भयाको वेहोरा जाहेर गरेको छु महाराज जो हुकुम्——-
महाराज यस गोस्वारा मा ४० हनुमान्नगर माल्मा ३८ हनुमान्न
गर अमिनि मा १० सिह्रा माल्मा १० नाल वन्दुक मौज्दात् रहेछ तर सोवंदु
क अघि देखि मौज्दात् राषे रहेको वेचल्ती ले गर्दा वन्दुकर कार्तोसल स्मे
तमा सर्दि वस लागि खिया स्मेत परेकोले केहि भै परि आयामा सो व
न्दुक र कारतोस ले काम नदिने र गोस्वारा माल अमिनिमा भर्ना भै र
हेका सिपाहिहरूमा पनि धेरै जसो सिपाहि वन्दुक चलाऊन नजान्नेदेखि
येकाले केहि भैपरि आयाको मौकामा वन्दुकर सिपाहि कुनै काम्मा आ
उने भयेको ले जाहेर गरेको छु महाराज जो हुकुम्——————-
महाराज भुकम्प भयापछि नुन मटि तेल को मोल वडाई वीक्री गरे
को हुनाले महाजन् हरू लाई समझाई बुझाई २वै वजार अडालाई स्मेत उर्दि
पुर्जि गरि साविकै भाउमा विक्री [—] को छ। चन्द गञ्ज बजार अडाले नुन
मटितेल को लगत गरि नपठाया को हुनाले आजै पनि ताकेता लेखि पठा
ञें कोसि धाम्मा विक्री गर्न नुन मटितेल लानुपर्ने भया को हुदा [-]
रहेको धाम्मा लैजाने पुर्जे पाया हामि हरूले नुनमा फि ज्वान् ५० वोरा र
मटितेल माफि ज्वान् २० टें सम्म हनुमान्नगर वजार मा हररोज महजुद राषि
सो भंदा वढिवाट कोसि धाम्मा लै जान्छु नुनमटि तेल विक्रि गर्दा साविक चले
का दर भाउले वीक्री गरौंला भनि हनुमान्नगर वजारका महाजन् हरू ले का
गज लेखि दीयाको हुनाले सो वमोजिं धाम्मा र जांहाको वजारमा स्मेत
हर्जा नहुने गरि धाम्मा नुन मटि तेल लान दीनु भनि हनु मान्नगर बजार
अडालाई आजै लेखि पठाई भयेको वेहोरा जाहेर गरे को छु महाराज जो हुकुम्
महाराज जील्ला सप्तरि प्र महि सौथ मौजे हरि नगरा को लक्ष्मि प्रसाद राज
भडारी जी हालै सप्तरि प्र महि सौथ मौजे सोभापुर कोष. नीत्यराज पाध्या र नीजै
लक्ष्मि प्रसादको भाई तीलक प्रसाद स्मेत भै हीजो अस्ति सिराहा ईलाका को प्र.
महि सौथ मौजे गौरिपुर वीर्ता १ प्र. महि सौथ मौजे हरी नगरा विर्ता १ प्र. पीहा
मौजे. विश्नुपुरा विर्ता १ प्र. रामपुर मौजे मीथिलेश्वर वीर्ता १ प्र. पीहार मौजे [का]
पुरी विर्ता १ प्र. महिसौथ मौजे लक्ष्मिपुर विर्ता १ प्र. महिसौथ मौजे सोभापुर वि
र्ता १ प्र. पिहार मौजे गडुराहा कुमारपुर विर्ता १ प्र. पिहार मौजे वडहरी १
प्र. धंछवार मौजे कुडवा विर्ता १ स्मेत मौजाका रैति हरूलाई जम्मा गरी
हिजो अस्ति अव विर्ता वारले अघि अघि लिने गरेको मालपोत मा अव
नदिनु विर्तावार ज्मीदारले अघि लिने गरेको भन्दा घटाई माल सरह मा
ल्मा दरषास्त साथ दाखेल गर्ने अघि दीये वमोजिं नदिने हुल गरे भने
सवै रैति यकमत भै मालपोत नदिने कसैलाई केहि परि आयो भने य
कमतभै छोडाई ल्याउने भन्ने जस्तो सभागरि रैति हरू लाई उठाई वेहि
साव गरें कोले जाहेर गरेको छु नीज हरूले तेस्तो नचाहिने उपद्रो वदमा
सि गरेकाछन् श्री ५ सर्कार का रैतिले पनि सर्कारी माल पोत मा हमला
गर्लान् भन्ने लागेकोले जाहेर गरेकोछु भन्ने प्राईभेट जाहेरी आया को र
आजै नीज लक्ष्मि प्रसाद ले सप्तरि सिह्रा इलाका मौजे गडुराहा कुमारपुर १
मौजे वरमपुर १ मौजे गौरिपुर १ मौजे हरिनगरा १ मौजे लक्ष्मिपुर १ मौजे
सोभापुर १ मौजे विसनपुर १ मौजे मथलेश्वर १ स्मेत का विर्ता मौजा का रै
तीहरूलाई विर्तावारले सर्कारको माल मौजाभन्दा धेरै वढि दरवंदि लगाई
मालपोत लिने गरेको छतापनि ८६ साल सम्म अनाज चौपाया [प]हगरि माई
मा विक्री हुने भयेकोले तीरि आये कै [थिञ्यू] ८७ साल देषि [सवै] रकं चौपाया
जग्गाज्मिन् कममोल् मा वीक्री हुने भै आये कोले उपजावाट विर्ताका दर वंदी
वमोजिम् को मालपोत तीरि नीर्वाह नचल्ने भयो अव हा[-] विर्ता का सवै
रैति मीले सर्कारमा दुष पुकार गर्नु पर्यो माल सरह [—]ले मालपोत
लीन मंजुर नगरे सर्कारमा चढायाको विन्तिपत्र [नि]कासा न आया
सम्म हामि विर्ता का रैतिले विर्ता माल मा मालपोत [ ]उने नगर्नु रैतीले
वुझाउने म्याद सम्ममा पनि नीकासा भै न आया मालमा [लगि] वुझाउने गराउला
नीकासा भै आयामात्र हुकुम् शिरोपर गरि नीकासा भैआया वमोजिं गरौंला
भनि आफ्नु आफ्नु भयाको वेहोरा वारेसद्वारा सर्कारमा जाहेर गरिसकेको
र. ८।१० गार्डको रैतिको यकमत गरि सो विर्ता मौ[जा]मा भयेका तावेदारलाई
वोलाई तिमि पनि विर्ताको जगा जोतने रैती हुन् सवै [श्रह] नी मीले पनि माल
पोत बुझाउन थामनु पर्छ भनि सबै जना यक मुख भै भनेको हुनाले मदेसिया रै
ती को विचमा [वस्नु] पर्ने यकला तावेदारले धेरै रैतीहरू को वीरोध हुने कुरा
काम गरूं भने हरयेक कुराको डर वाधा मान्नु पर्ने सम्झी मंजुर नगरी नहुने
हुन आया कोले हुन्छ भनि मंजुर गरी भयाको वेहोरा सर्कार मास्मेत् जाहेर
गरि मालपोत रोकियाको कुरा हुनाले जिल्लामा भयाको हाल स्मेत हुनाले
भयाको वेहोरा जाहेर गरेकोछु भनि हुलाकद्वारा वेलिफा को विन्तिपत्र पठाया
को हुदा यस्मा कुं मीतिमा को को भै के के कुराको सभा गरेको रहेछ तीमि आ
फै गै प्राइभेट वुझ्दा सभा गर्नेहरूलाई पक्री पठाउन पर्ने ठहरे सोहि वमोजिं
गरि पठाउनु भनि सिह्रा अमिनिका ले. कृष्ण प्रसाद पाध्याका नाऊमा पुर्जि
स्मेत गरि पठायाकोले भयाको वेहोरा जाहेर गरेकोछु महाराज जो हुकुम्
महाराज भपटियाहि को रेलवे ट्रें अदये पि नखुलेकोले साविक वमोजिं
धान र सन् को नीकासि चल्ती छैन मटितेल रानिमार टेन १ के रू ३॥।-३॥।- चक्र
र सुर्प्पे मार टेंन के ४।– नुन सावरि मन १ के ३॥।- पांगां मन १ के ३॥– सीधे
मन १ के ४॥– धान वोरा १ के रू २।२- २।३ सम्मर सन मन १ के रू २॥।० का
दर्ले हाल षरीद वीक्री चलेकोछ भनि हनुमान्ननगर वजार अडाले आजै जवाव
दियाको छ भपटिपाहि मा रेल्वे ट्रें यो तारेख देखि चल्छ भंन्या नीश्चय
षवर अैल्हे आयाको छैन महाराज जो हुकुम्—
कोसि नदिमा अघि मानिस डुवाऊ पानि भयेका ठाऊमा भुकम्पले
जमिन उठी अैल्हे वीत्ता भर पानिछ यो भुकम्पले गर्दा कोसि नदिको पाट
पनि वीचित्र भै रहेको छ यस किसिं संग नदि उठेको देखेको थीयेनं भनी
छपकि को विर्तावार विष्णु प्रसाद पाध्याले हिजो कुरा गरेकोले भये को हाल
जाहेर गरे को छु महाराज जो हुकुम्——————-
महाराज भुकम्प साम्य भयाको छैन हीजो रात्को करिव ७ वजे पनि
विसेस आवाज स्हीत्को करिव १ मीनेट सम्म भैचालो गो आज अैल्हे [ ]
जे पनि गयो महाराज जो हुकुम्——————–
माहाराज मालपोत वरावर असुल हुदैछ आज हनुमान्नगर [ ]
मालपोत कं रू ३१९८ आयाकोले भयाको वेहोरा जाहेर गरेको छु महाराज जो [ ]
ज्यादा हरफ् को कम वेस माफ वक्स भै नाथको आरामि स्ही[ ]
वडापत्र दर्सन् पाउनाको आधारमाछु महाराज [ ] हुकम्।—————
– मदन पुरस्कार गुठीद्वारा प्रकाशित नेपाली (२०८२) बाट सम्पादनसहित साभार।