काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढ्दै

८ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा मुलुक अगाडि बढिरहेको छ। अधिकांश भू-भागमा दूरसञ्चारको पहुँच छ। भ्वाइस र डाटा सेवा विस्तार भएको छ। तर अझै पनि यस्ता क्षेत्रहरु छन् जहाँका नागरिक अहिले पनि आधारभूत सञ्चारको साधन टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित छन्। ती क्षेत्रका नागरिकको आवाजलाई सम्बोधनको प्रयास गरिएको छ।

पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक फोरजी सेवा विस्तार भएपछि स्थानीय र त्यहाँ पुग्ने पर्यटकलाई ठूलो राहत भयो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको सक्रियतापछि तिलिचो आसपासमा भ्वाइस र डाटाको सेवा पुगेको उनको सचिवालयले दाबी गरेको छ।

तिलिचोमा फोरजी सेवा विस्तारपछि प्रतिक्रिया दिँदै मन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेदेखि नै दुर्गम क्षेत्रमा टेलिकमको पहुँच पुर्‍याउने अभियानअन्तर्गत तिलिचोमा फोरजी सेवा पुगेको बताए। उनले भने, “सरकारले दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा पुर्‍याउने लक्ष्य लिएको छ, सोहीअनुसार तिलिचो आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालन भएको हो, अब त्यहाँ पुग्ने पर्यटक र स्थानीयलाई ठूलो राहत भएको छ। अब हाम्रो उद्देश्य टेलिफोन र इन्टरनेट नपुगेका मुलुकका दुर्गम क्षेत्रमा सेवा विस्तार हो।”

यसैगरी गत असोज ३० गतेबाटै सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको तलकोटमो पनि पहिलोपटक फोरजी सेवा विस्तार भएको छ। तलकोट गाउँपालिका ४, बुङ्गाडाँडामा बीटीएस टावर जडान गरेर पहिलोपटक फोरजी सेवा सञ्चालनमा ल्याइएको तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीले जानकारी दिए। उनका अनुसार तलकोट १ र ४ सेवा सुरु भइसकेको छ भने जयपृथ्वी नगरपालिका १ र ५ मा पनि छिटै फोरजी सेवा सञ्चालन गरिने उनको भनाइ छ। तलकोट ४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदनप्रदानमा सहज भएको बताए।

गत असोज ३१ गते नै दार्चुलाको मार्मा गाउँपालिका–५ मा नेपाल टेलिकमले टुजी र फोरजी सेवा विस्तार गरेको छ। नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार उक्त स्थानमा पहिले एउटा मात्रै टावर रहेकामा नयाँ टावर स्थापना गरी उक्त सेवा सञ्चालमा ल्याइएको छ। गुरुङले भने, “पहिला सञ्चारको समस्या थियो। डाँडा, खोँचतिर टेलिफोनको टावर टिप्दैनथ्यो। अब स्थानीयले टेलिकमको भ्वाइस र डाटा सहज रुमा उपयोग गर्न पाएका छन्, यसले उनीहरुको दैनिक जीवनमा सञ्चार आदान-प्रदान, डिजिटल भुक्तानीलगायतमा सहज भएको छ।”

दार्चुलाको लेकम गाउँपालिकाको सर्मौली भन्ने स्थानमा टावर निर्माण भई यथाशीघ्र टुजी र फोरजी सेवा सञ्चालनमा आउनेछ। मालीकार्जुन गाउँपालिकामा पनि टावर बनिसकेको र छिट्टै सेवा सञ्चालनमा आउने तयारी छ।

त्यसैगरी डोटीको दीपायल सिलगढी नगरपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ। कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको बारेकोटमा गत असोज ९ गते चट्याङ्गका कारण अवरुद्ध टेलिफोन सेवा हालै सञ्चालनमा आएको छ। बारेकोटमा टेलिकमको सेवा अवरुद्ध भएपछि १० हजारभन्दा बढी सेवाग्राही प्रभावित भएका थिए।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तर अगाडि बढाएको जनाएको छ। कर्णाली प्रदेशभर फोरजी तथा फाइबरनेटको पहुँच विस्तार गरिने र हालसम्म ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको निर्देशनालयले जनाएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिका र हुम्लाको हिल्सामा पनि छिटै फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको टेलिकमले जनाएको छ। सञ्चार मन्त्रालयले जुनसुकै ठाँउमा सञ्चार सम्पर्क अवरुद्ध भएमा तत्काल मर्मत तथा पुनः सञ्चालनका लागि नेपाल टेलिकमको १४९८, एनसेलको ९००५ र मन्त्रालयको सिधा ९८५१४१०१०१ ह्राट्सऐप नम्बरमा खबर गर्न अनुरोध पनि गरेको छ।

राष्ट्रिय सञ्चार नीति, २०४९ मा ग्रामीण क्षेत्रमा सञ्चार पहुँच बढाउने लक्ष्य लिइएको छ। सोहीअनुरुप सबै जिल्लामा दूरसञ्चार सेवा पुगे पनि केही स्थानीय तहमा अझै यो सेवाको पहुँच विस्तार हुन सकेको छैन। उक्त नीतिमा राष्ट्रिय विकासको पूर्वाधारको रुपमा दूरसञ्चार सेवाको विकास गर्न यस सेवालाई अत्यावश्यक सेवा विकसित एवं विस्तार गर्दै जाने भनिएको छ। आमजनतालाई उपयोगी, दक्ष, भरपर्दो र निर्वाध सञ्चार सेवा उपलब्ध गराउन उपयुक्त अत्याधुनिक सञ्चार प्रविधिको प्रयोग गर्दै जाने पनि नीतिमा उल्लेख छ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा दूरसञ्चार सेवा विस्तारलाई विषेश प्राथमिकतामा राखेर काम गरिररहेको दाबी गरेका छन्। उनले ती क्षेत्रमा रहेको नेपाल टेलिकमका कार्यालय प्रमुख, फिल्ड इन्जिनियर लगायतलाई सेवा विस्तार र गुणस्तर अभिवृद्धिका लागि ताकेता र आवश्यक निर्देशन दिँदै स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग समन्वयन गरिरहेको उनको सचिवालयले दाबी गरेको छ।

दुर्गम क्षेत्रमा फोरजी सेवा विस्तारले सञ्चार सम्पर्कमा सहज हुनुका साथै डिजिटल भुक्तानी पनि सहज भएको छ। विशेषगरी ती क्षेत्रमा जाने पर्यटकका लागि भुक्तानी गर्न समस्या भएकामा अहिले इन्टरनेट सेवा विस्तारले सहज भएको छ। सरकारको नीतिअनुरुप दूरसञ्चार सेवाको पहुँच राष्ट्रव्यापी रुपमा पुर्याउने उद्देश्यले प्राकिरणले पूर्वाधार निर्माण एवं विस्तार गर्ने र दूरसञ्चार सेवालाई गुणस्तरीय एवं प्रभावकारी बनाई आम उपभोक्तामा पहुँच सुनिश्चितता गर्ने कार्य भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हाल मोबाइल ब्रोडब्यान्डअन्तर्गत नेपाल दूरसञ्चार कम्पनीको बजार हिस्सा ५५.९६ प्रतिशत र एनसेलको ४४.०४ प्रतिशत पुगेको छ। अर्थात् गत भदौसम्म नेपाल टेलिकममा मोबाइल प्रयोगतकर्ता एक करोड ५३ लाख ५४ हजार ८०४ र एनसेलका एक करोड ३९ लाख ८१ हजार ८७५ पुगेका छन्।

प्राधिकरणको विवरणमा हाल हाल फिक्स्ड ब्रोडब्यान्ड (वायर्ड) ४८.८२ प्रतिशत जनसङ्ख्यामा पुगेको छ भने फिक्स्ड ब्रोडब्यान्ड (वायरलेस) शून्य दशमलव ४१ प्रतिशतमा पुगेको छ। साथै मोबाइल ब्रोडब्यान्ड ९१.५५ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार भएको छ। साथै मुलुकभर हालसम्म फोरजी सेवा ८८.६८ प्रतिशत, फाइभर सेवा ४८.८१ प्रतिशत, टुजी सेवा १०.३६ प्रतिशत र थ्रीजी सेवा २.८६ प्रतिशतमा पुगेको छ।