काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आवरण

दसैँअघिबाटै विपद्को पूर्वतयारीमा सक्रिय देखिएको सरकार इलाममा भने असफल

९ कार्तिक २०८२
इलामको माईजोगमाई–६ प्याङका बमीध्वज सोङ्मी लिम्बूको परिवार बगाएको पहिरो। तस्बिर सौजन्य : रविन सोङ्मी
अ+
अ-

दसैँको टीकाको दिनसम्म झलमल्ल घाम देख्दा इलामको माईजोगमाई गाउँपालिका–६, प्याङका रविन सोङ्मी लिम्बूलाई लागेको थियो– अब बर्खा सकियो।

टीकाको पर्सिपल्ट १८ असोजमा एकाएक ठूलो पानी पर्‍यो। सामान्यतया वर्षा भइरहने ठाउँ नै हो इलाम। त्यसैले रविनले सुरुमा त त्यसलाई सामान्य रूपमै लिए। तर, मध्यरातमा उनले खोला, खोल्सी ठूलै आवाजमा गडगडाएको सुने। “राति त धारामा पानी आएजसरी नै आकाशबाट पानी झरिरहेको थियो। त्यस्तो त यसअघि कहिल्यै देखेको थिइनँ,” उनले भने।

रविन बिहान साढे ५ बजेतिर उठेर गाउँतिर हेर्दा ठूलो पहिरो देखे। रविनको घरबाट दुई मिनेट हिँड्दा पुगिने ठाउँमा थियो, उनका ठूलाबुबाका छोरा बमीध्वज सोङ्मीको घर। तर, बिहान बमीध्वजको घर त्यहाँ थिएन, थियो त केवल रातभरिको वर्षाले बगाएर ल्याएको ढुंगा, माटो र गेग्रान। घरसँगै ८५ वर्षीय बमीध्वज, उनकी श्रीमती ७५ वर्षीया बुद्धमाया, उनीहरूका छोरा ४७ वर्षीय धनवल, बुहारी ४५ वर्षीया सरला र नातिनी १४ वर्षीया प्रकृति पुरिए। रविन भन्छन्, “मेरो अनुमानमा बिहानको ३-४ बजेतिर पहिरो खसेको हुनुपर्छ। मैले हेर्दा दाजुको घर नदेखेपछि दाजु र परिवारलाई खोजेँ, तर कतै भेटिनँ। त्यसपछि आफन्तलाई र अन्यत्र खबर गरेँ। सोच्दै नसोचेको घटना भयो।”

परिवारका सात जनामध्ये पाँच जना पहिरोमै पुरिए, धनबल र सरलाका दुई छोरी १६ वर्षीया आकृति र ११ वर्षीया स्मृति भने त्यस दिन घरमा नरहेकाले जोगिए। आकृति इलाम बजारमा आफन्तको घरमा थिइन् भने स्मृति रविनकै घरमा। अहिले दुवै दिदीबहिनी रविनकै संरक्षणमा छन्।

इलाम, प्याङकै २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया र तीन वर्षीया मुनुसा थेवेको पनि पहिरोबाट ज्यान गयो।

घटनापछि गायिका फुटी शेर्पाले सांगीतिक कार्यक्रम गरेर सोङ्मी परिवारलाई एक लाख र थेवे परिवारलाई ३५ हजार ८८५ रुपैयाँ सहयोग गरिन्। त्यस्तै, विभिन्न राजनीतिक दल र मनकारी व्यक्तिहरूले पनि इलाम पुगेर उनीहरूलाई सहयोग गरिरहेका छन्।

पहिरोबाट बचेका सोङ्मी परिवारका प्रकृति र स्मृतिलाई सहयोग हस्तान्तरण गर्दै स्थानीय गायिका फुटी शेर्पा । तस्बिर : फुटी शेर्पाको फेसबुक

भीषण वर्षापछि आएको पहिरोले एकैदिन प्याङमा मात्र आठजनाको ज्यान गयो। त्यस्तै, देउमाई, सूर्योदय, माई, इलाम नगरपालिका तथा फाकफोकथुम, माङसेबुङ र सन्दकपुर गाउँपालिकामा गरी पहिरोबाट ३७ र खोलामा बगेर दुई गरी जम्मा ३९ जनाको ज्यान गयो।

इलाममा छोटो समयमा यति ठूलो वर्षा होला र यसरी जनधनको क्षति गर्ला भन्ने पूर्वानुमान मौसमविद्हरूले पनि स्पष्टसँग गर्न सकेका थिएनन्। सामान्यतया नेपालमा १३ जुनमा मनसुन भित्रिने र २ अक्टोबरमा बाहिरिने गर्छ। यस हिसाबले यसपालिको मनसुन टीकाकै दिन बाहिरिनुपर्ने थियो। जल तथा मौसम विज्ञान विभागले भने टीकाकै दिनबाट मनसुन फेरि सक्रिय हुने भन्दै सचेत गराएको थियो। तर विडम्बना, विभागले इलाममा यति ठूलो वर्षा होला भन्ने पूर्वानुमान गरेर सूचना प्रवाह गर्न सकेन।

विभागको मौसम पूर्वानुमान महाशाखाले १४ असोजमा दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेर १७ देखि १९ असोजमा विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी र अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको थियो। तर, यी तीनै दिन इलाममा वर्षा भए पनि उल्लिखित खतराको सूचीमा थिएन। महाशाखाले वर्षाको सम्भावित जोखिम अनुमान गरेर नेपालको नक्सामा संकेत जनाउँछ। जसमा गाढा रातो रङले प्रतिकार्य गर्ने, गाढा पहेँलोले सतर्क रहने, पहेँलोले अद्यावधिक रहने र हरियोले चेतावनी छैन भन्ने संकेत दिन्छन्।

महाशाखाले सार्वजनिक गरेको सम्भावित जोखिम आकलनमा १७, १८ र १९ असोजमा ‘अद्यावधिक रहने’ अर्थात् थप जानकारी पछि आउने संकेत गरिएका क्षेत्रमा इलाम थियो। त्यसबेलासम्म विभागको सूचनामा इलाममा सतर्क रहनुपर्ने अवस्था देखिएको थिएन। सबैजना दसैँको रामरमाइलोमा व्यस्त बने। महानवमीको दिन १४ असोजमा भने महाशाखाले विभिन्न स्थानमा भारी वर्षा हुने विज्ञप्ति जारी गर्दै सतर्क रहन आग्रह गरेको थियो। आम नागरिकले यस्ता पूर्वानुमानलाई सामान्य अवस्थामा ध्यान दिएका हुँदैनन्, दसैँको बेला भएकाले सरकारी निकायले पनि सतर्कता अपनाउन सकेनन्।

जल तथा मौसम विज्ञान विभागले १५ असोजमा जारी गरेको सूचना

जेन-जी आन्दोलनपछि बनेको नयाँ सरकारले दसैँअघिदेखि नै बाढीपहिरोजस्ता विपद्‌बाट जोगाउन भन्दै प्रहरी-प्रशासनलाई सक्रिय बनाएको थियो। सरकारले विशेष सक्रियता देखाए पनि इलाममा भने सरकारी योजनाले काम गरेन। इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं सरकारको योजनाअनुसार सतर्कता अपनाए पनि पानी रातिको समयमा आएकाले ठूलो क्षति भएको बताउँछन्। भन्छन्, “पहिरो जाने सम्भावना भएका ठाउँमा गएन, सम्भावना नदेखिएका साना खोल्सीबाट बगेर आएको पानीले बाँसको झ्याङ बगाउँदै त्यसैले घर बगायो। अनुमान नै नगरिएको नपत्याउँदो खोलाले बगायो।”

किन कठिन भइरहेछ पूर्वानुमान?

पछिल्ला वर्षहरूमा वर्षा हुने प्रवृत्ति बदलिइरहेको छ। मनसुन सकिने बेला एकै ठाउँ केन्द्रित वर्षा हुने प्रवृत्तिले बाढीपहिरो जाने र ठूलो जनधनको क्षति हुने गरेको छ। जसलाई विज्ञहरूले पनि राम्रोसँग अनुमान गर्न सकेका छैनन्। इलाममा पनि त्यस्तै भयो।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार १८ असोजको बिहान ८:४५ देखि १९ असोज बिहान ८:४५ सम्म इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर वर्षा भएको थियो। यो ४२ वर्षपछिको रेकर्ड ब्रेक वर्षा हो। यसअघि त्यहाँ ३२०.६ मिलिमिटर वर्षा भएको थियो। त्यस्तै, इलाम टी स्टेट केन्द्रमा २८०.२ मिलिमिटर वर्षा मापन भयो। यो २८ वर्षपछिको रेकर्ड ब्रेक हो। त्यहाँ पहिला २७३.२ मिलिमिटर वर्षा भएको थियो।

जल तथा मौसम विज्ञान विभागले १९ असोजमा सार्वजनिक गरेको जोखिम आकलन नक्सा

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार सुरुमा इलाममा खतराको स्थिति देखिएको थिएन। जसका कारण इलामलाई अद्यावधिक रहने संकेत दिइएको थियो। प्रवक्ता पोखरेल भन्छिन्, “पूर्वमा विपद् आउने रहेछ भन्ने त पूर्वानुमान गरियो, तर मौसमको विश्लेषण गर्ने विभिन्न मोडल भएका कारण स्थानहरू फरक आउने सम्भावना भयो। त्यसकारण सुरुको पूर्वानुमान मिलेन। पछि सच्यायौँ।”

हावा, वायुमण्डलमा रहेको जलवाष्पको मात्रा र बादलको गणितीय विश्लेषण गरेर जोखिम अनुमान गर्न प्रयोग गरिने कम्प्युटर प्रणालीलाई मोडल भनिन्छ। जसमा विश्वव्यापी, क्षेत्रीय र तात्कालिक अवस्थाको अनुमान गर्ने प्रणाली छन्। नेपालको जल तथा मौसम विज्ञान विभागले मुख्य गरी वेदर रिसर्च एन्ड फोरकास्टिङ (डब्लूआरएफ) मोडल प्रयोग गर्छ। यसबाट निश्चित क्षेत्रको पूर्वानुमान गर्न सकिन्छ। त्यस्तै, ग्लोबल र तात्कालिक प्रणाली पनि प्रयोग गरिएको छ। मोडलहरूमा अक्षांश र देशान्तर मिलाउन नसक्दा पनि पूर्वानुमान फरक हुन सक्छ।

मोडलहरूका कारण पनि पूर्वानुमान फरक पर्न सक्ने काठमाडौँ विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख रिजनभक्त कायस्थ बताउँछन्। त्यसमाथि नेपालमा ठ्याक्कै यति पानी पर्छ भन्ने अनुमान गर्नसक्ने प्राविधिक क्षमता नै नभएको उनको भनाइ छ। भन्छन्, “हामीसँग धेरै पानी पर्छ भन्ने मात्र चलन छ, कति मिलिमिटर पर्छ भन्न सक्ने प्राविधिक क्षमता अझै छैन। हामी एक-दुई सय मिलिमिटरभन्दा बढी भन्नेसम्म अनुमान गर्न सक्छौँ।”

यसरी ठ्याक्कै पूर्वानुमान गर्नसमेत नसक्ने अवस्था आउनुमा जलवायु परिवर्तनको असर पनि एउटा कारण रहेको उनी बताउँछन्। जलवायु परिवर्तनले पानी पर्ने प्रवृत्ति बदलिँदा र पूर्वानुमान गर्नसक्ने क्षमता नहुँदा बर्सेनि ठूला घटना भइरहेको उनको भनाइ छ।

विज्ञहरूका अनुसार नेपालसँग रेन फल स्टेसन, वेदर स्टेसन, अटोमेटिक स्टेसनहरू धेरै नभएकाले पनि यस्तो पूर्वानुमान गर्न गाह्रो हुने गरेको छ।

इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहाल पछिल्लो चरणमा मनसुन सकिन लागेका बेला एकै ठाउँमा ठूलो पानी पर्ने तर अरूतिर समान रूपमा नपर्ने गरेको बताउँछन्। उनले मेलम्ची, मर्स्याङ्दी र तराईका अन्य नदीहरूमा अध्ययन गरेका थिए। अध्ययनको तथ्यांकले मनसुनको सामान्य अवस्थामा उचाइ बढ्दै जाँदा बढी पानी पर्ने र तल्ला भूभागमा सोचेकोभन्दा धेरै पानी पर्ने, एकै ठाउँमा केन्द्रित भएर पानी पर्ने प्रवृत्ति बढिरहेको देखाउँछ। भन्छन्, “कुनै बेला चाहिँ अकस्मात् धेरै पानी पर्ने गरेको छ। त्यस्तो बेला जमिनले थेग्न सक्दैन र पहिरो जान्छ। इलाममा यसपटक त्यस्तै भएको हो।” इलामका गाउँमा जताततै ग्रामीण सडक खनिएका थिए। सडक खनेर कमजोर भएको माटोमा अत्यधिक वर्षा हुँदा जमिनले थेग्न सकेन।

मनसुनको बेला समान किसिमले तीनचार दिन पानी परे पनि त्यस्तो असर हुँदैन, तर अकस्मात् ओइरिने आरीघोप्टे पानीले ठूलो क्षति गर्छ। गत वर्ष ललितपुरको लेलेमा र काभ्रेको रोसी क्षेत्रमा पनि यस्तै प्रवृत्तिको वर्षा भएको थियो। यसपालि इलामसँगै भारतको दार्जिलिङमा पनि यस्तै पानी पर्दा १५ जनाको ज्यान गयो।

विभागकी प्रवक्ता पोखरेल मनसुनको अन्तिममा रेकर्ड ब्रेक वर्षा हुने, जुलाईमा पूरै वर्षा नै नहुने, अगस्टमा वर्षा त्यति धेरै सक्रिय नहुने, अक्टोबरमा अत्यधिक वर्षा हुने प्रवृत्ति आठ-दश वर्षयता बढ्दो क्रममा रहेको बताउँछिन्। भन्छिन्, “यसले हाम्रो समग्र चक्रलाई असर गरेको हुन्छ। मनसुन पनि लम्बिइरहेको छ। यस्तो अवस्था आउनुलाई जलवायु परिवर्तनको असरका रूपमा पनि लिएका छौँ।” यसपटक १५ जेठमा भित्रिएको मनसुन १४ असोजमा बाहिरियो। यो सामान्य अवस्थाभन्दा एक सातापछि बाहिरिएको हो।

इन्जिनियरिङ भूगर्भविद् दाहालका अनुसार सामान्यतः पहाडहरूबीच ठूलो पहाड भयो भने ठोक्किएर एकै ठाउँमा पानी ओइरिन सक्छ। तर अहिले नेपालमा एक ठाउँमा अत्यधिक पानी पर्ने र अर्को ठाउँमा पानी नै नपर्ने किन भइरहेको छ भन्ने अध्ययनको विषय भएकाले तत्कालै भन्न सक्ने अवस्था नरहेको उनी बताउँछन्। भन्छन्, “यस्तो अवस्था पूर्वानुमान गर्न पनि नसकिने हुनसक्छ। कुनै ठाउँमा केन्द्रित भएर पानी पर्छ भन्ने कुरा लगातार अवलोकन गरेको भरमा मात्र भन्न सकिन्छ। त्यहाँको स्थलगत तथ्यांक हेरेर एक-डेढ घन्टामा अनुमान गर्न सक्नुपर्छ।”

विज्ञहरूका अनुसार नेपालसँग रेन फल स्टेसन, वेदर स्टेसन, अटोमेटिक स्टेसनहरू धेरै नभएकाले पनि यस्तो पूर्वानुमान गर्न गाह्रो हुने गरेको छ। पूर्वानुमान गर्नसक्ने बनाउन जनशक्ति, प्राविधिक उपकरण र राज्यको लगानी बढाउनुपर्ने काठमाडौँ विश्वविद्यालयका वातावरण विज्ञान तथा इन्जिनियरिङ विभागका प्रमुख कायस्थ बताउँछन्। भन्छन्, “हामीसँग तीनवटा मात्र राडर छन्। आवश्यक उपकरण थप्नुपर्छ, जनशक्ति बढाउनुपर्छ।”

विभागकी प्रवक्ता पोखरेल नयाँ प्रविधि आइरहेका बेला उपकरण कहिले पनि पर्याप्त नहुने बताउँछिन्। “पर्याप्त भन्ने त कहिले हुन्छ र, हामीले पुगेको छैन भन्दा पनि राज्यले दिन्छ कि दिँदैन भन्ने हुन्छ,” उनी भन्छिन्।