इतिहास
२११ वर्षअघि आजकै दिन अर्थात् १० कात्तिक १८७१ मा सुरु भएको नेपाल र अंग्रेजबीचको युद्ध सुगौली सन्धिमा टुंगिँदा हालको इलामका केही भाग सिक्किममा गाभियो। यो भाग फिर्ता पाउन नेपालले धेरै वर्ष मिहिनेत गर्नुपरेको थियो। त्यो भूमिको कचिंगल र त्यसको समापनको कथा :
‘शरद् सूर्यको विशेष चमत्कारी क्रीडा हाम्रा उच्च हिमशिखरहरूमा रातो र पहेँलो रङको लुकामारीमा हेर्न र देख्न पाउँछौँ। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनास्लु र मकालु सबैतिरका हिमशिखरमा यस्तो दृश्य दर्शन हुन्। मेरो स्मृतिपटलमा भने इलामको अन्तु अनुभवले विशेष स्थान ओगट्ने गरेको छ। अन्तु डाँडाबाट पूर्वतिर नियालेर अक्कासिँदै गरेको उदाउँदो सूर्यलाई दर्शन गरिरहँदा आफ्नै पिठ्युँपछाडिको कञ्चनजंघा हिमशिखरमा क्रमैले पोखिने सुन्तले, सुवर्ण तथा चाँदीका जलपहरू नबिर्सीकन हेर्नुपर्छ। एकैछिन चुक्यौँ भने ठूलो पछुतो हात पर्छ।’
– तीर्थबहादुर श्रेष्ठ
यस्तो अनुपम ठाउँ सुगौली सन्धिपछि सिक्किममा गाभिएको थियो। नेपालले बुद्धि नपुर्याएको भए यो ठाउँ नेपालको हुँदैनथ्यो। श्रेष्ठले गर्नुभएको दृश्यपान गर्न मुगलान जानुपर्थ्यो। त्यसको कथा यस्तो छ :
सुगौली सन्धिपछि अंग्रेजले नेपालसँगको सिमानाको नक्सा धमाधम बनाउन थाल्यो। यस क्रममा सिक्किमसँग जोडिएको नेपालको सिमाना खिच्दा सिद्धी खोलालाई मेची नदी भनी अन्तु डाँडालाई सिक्किमपट्टि पारिदियो। यसो गर्दा अहिले श्रीअन्तु र समालबुङ भनिने ठाउँको ४५ वर्ग किलोमिटर जमिन उता पर्न गयो। यो भनेको हालको भक्तपुर जिल्लाको ३७ प्रतिशतजति भूभाग हो।
विसं १८८३ मा सिक्किमका राजाले प्रधानमन्त्री तथा आफ्ना मामाको हत्या गरे। त्यसपछि त्यहाँका काजीलगायत उच्च पदका मानिसहरू ८०० घर लेप्चा र लिम्बू लिएर इलाम आए र त्यहाँबाट सिक्किममा हमला गर्न थाले।
सुगौली सन्धि हुँदा अंग्रेजले धेरै जमिन नेपालबाट खोसेर आफूले लिएको थियो। मेचीपूर्वको पहाड भने सिक्किमलाई दिएको थियो। त्यस सन्धिमा सिक्किमसँग सीमा विवाद परेमा अंग्रेजको निर्णय मान्नुपर्ने सर्त नेपालमाथि थोपरिएको थियो। सुगौली सन्धि भएको एक वर्षजतिपछि उसले सिक्किमसँग सन्धि गरेर सीमासम्बन्धी विवाद भएमा अंग्रेजको निर्णय मान्नुपर्ने सर्त उसमाथि पनि लादेको थियो। यही आधारमा सिक्किमले अन्तुमा नेपालले सीमा मिचेको भनी अंग्रेजसमक्ष उजुरी गर्यो।
नेपाल दरबारले कप्तान हरिभक्तलाई सिमानामा हेर्न जानू भनी हुकुम दिएको थियो। एउटा कागजमा ‘उसका प्रारब्धले ऊ भयो’ भनिएको छ। यसका आधारमा हरिभक्तको देहान्त भएछ भनी अड्कल काट्न सकिन्छ।
यसपछि अंग्रेजले यो सीमा विवाद मिलाउन विसं १८८६ मा क्याप्टेन विलियम लोयडलाई खटायो। त्यस वर्षको हिउँदमा उनी र उनका साथी जे. डब्लु. ग्रान्ट यही निहुँमा सिक्किमको भित्री भागसम्म गए (यसै क्रममा उनीहरूले दार्जिलिङ अंग्रेजका लागि ‘स्यानिटोरियम’ बनाउन उपयुक्त छ भन्ने ठहर्याए)। उनीहरूले नेपालले अन्तुमा सीमा मिचेको निष्कर्ष निकालेर रिपोर्ट दिए।
यसको केही वर्षपछि १८९१ मा अंग्रेजले गलत ठाउँमा सीमा लगायो भनी इलामबाट कप्तान हरिभक्तले कान्तिपुर खबर पठाए। नेपालले बेलायती राजदूत हज्सनलाई यो कुरा लेख्यो। हज्सनले पूर्वतिर खटिएका अंग्रेज अधिकारी मेजर ल्याटरलाई सोधिपठाउँदा उनले कप्तान हरिभक्तले धेरै फरक पारेर लेखेछन् भनी जवाफ दिए।
पश्चिमको सीमा नदी महाकाली जसरी हिमालबाट झरेको छ, पूर्वको सीमा नदी मेची त्यसरी हिमालबाट आएको छैन। मेची नदी नेपालको पूर्वको उत्तर-दक्षिण सीमाको तल्लो आधा भागमै गएर टुंगिएको छ। यो नदी जहाँ टुंगिएको छ त्यस ठाउँबाट तीनवटा खोला बग्छन्– केची, मेची र सिद्धी।
अंग्रेजले यी तीनवटा नामको नदी एउटै हो भन्यो। यसबारे कप्तानले १८९१ को अन्त्यतिर स्थानीय बासिन्दाहरूलाई सोध्दा उनीहरूले भने, ‘सिद्धी भन्याको सिद्धी हो, मेची भन्याको मेची हो र केची भन्याको केची हो। अघि हामीले सिद्धी सिद्धी हो, मेची मेची हो भनेको कुरा साँचो हो। सिद्धीलाई मेची, मेचीलाई सिद्धी भन्न कसैले सक्दैन। सिक्किममा पनि अन्तु डाँडामुनिबाट पूर्वतिर बहने पानी नागरी जाने मूल बाटोनेर मिल्ने खोलालाई केची भन्छ। त्यस पश्चिमको खोलालाई मेची। अन्तु (त्यतिबेला वनतु भनिन्थ्यो) डाँडादेखि पश्चिमपट्टिको खोलालाई सिद्धि भन्छ।’

श्रीअन्तुको सूर्योदय। तस्बिर : मोहन मैनाली
त्यसपछि हरिभक्तले सिद्धी र मेचीको शिरका बिचमा कति दूरी रहेछ भनी नापे, २२५ हात रहेछ।
मेजर लाटर साहेब त्यतिबेला सिक्किम गएका थिए। उनी फर्केपछि कप्तान हरिभक्त केची, मेची र सिद्धी अलग अलग हुन् भनी जान्ने साक्षी लिएर मेजर लाटर साहेबकहाँ जाने भए। उनले भीमसेन थापालाई वचन दिए, ‘मेजर लाटरसँग बसउठ गरी चर्को नपर्ने बढिया पाठसँग बातचित गर्दा उचानिचा पर्न गए भने हुकुम र आज्ञा बमोजिम सिमाना खडा गर्ने काम गरौँला। धेरै उचानिचा पर्न गयो भने लेखी बिन्ती गरी पठाउँला।’
यहाँ कप्तानले भनेको ‘चर्को नपर्ने बढिया पाठसँग बातचित गर्दा उचानिचा पर्न गए भने’ भन्ने प्रसंग महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने, नेपालीले त्यतिबेला झगडा नगरी सौहार्दपूर्ण वातावरणमा नेपालको भूभाग नगुम्ने किसिमले कुरा मिलाउन खोजेका थिए।
नेपाल दरबारले कप्तान हरिभक्तलाई सिमानामा हेर्न जानू भनी हुकुम दिएको थियो। एउटा कागजमा ‘उसका प्रारब्धले ऊ भयो’ भनिएको छ। यसका आधारमा हरिभक्तको देहान्त भएछ भनी अड्कल काट्न सकिन्छ।
यसपछि केही समय यसबारे केकसो भयो भन्ने थाहा छैन। यसको झन्डै दुई वर्षपछि १८९३ सालको माघमा इलाममा खटिएका नेपाली कर्मचारीहरू लक्षवीर साही, हेमदल थापा, उदयानन्द पंडित हालको काकरभिटापारि भारतको नक्सलबारी गएर साहेब (यिनलाई कर्णेल भनिएको छ। नेपाल-अंग्रेज युद्धका बेलाका क्याप्टेन ल्याटर दुई वर्षअघिसम्म मेजर थिए। यी साहेब अहिले कर्णेल भएका तिनै ल्याटर हुनसक्छन्)लाई भेटेर कुरा गरे। त्यसपछि सिद्धी र मेचीका दोभानदेखि माथि दुवै नदीको धार हेर्न गए। धार हेरिसकेर उनीहरू फेरि नक्कलबन्दा गएर बातचित गरे। त्यतिबेला साहेबले नक्सा देखाएर भने, ‘पानी पूर्वका नदीमा भन्दा पश्चिमका नदीमा धेरै छ, सिमानाका नक्सामा सीमारेखा पनि पश्चिमतिरका नदीमा लगाएको छ।’
त्यसको प्रतिवादमा नेपालीले भने, ‘त्यो नक्सा दुईतिरका मानिस राखेर बनाएको होइन, साहेबले सिक्किमतिरका आफ्ना मानिस ल्याएको हुँदो हो। सिक्किमका मानिसले सिद्धीलाई मेची भनेर हुँदैन। मेची पूर्वैपट्टिको हो। उहिले राजाले जारी गरेका लालमोहर र ताम्रपत्रअनुसार मेचीपश्चिम चैनपुरको तालुक थियो। सिद्धी र मेचीका बीचमा पनि बस्ती थियो। त्यहाँको कर उठाएर चैनपुर पठाइन्थ्यो। त्यसैले यसबारे थप छानबिन गर्नुपर्छ।’
त्यसपछि साहेबले त्यहाँको जमिनदार येकुन्दा काजीलाई डाकेर सोधे, ‘दुई नदीका बीचमा बस्ती अघि थियो कि थिएन? तैँले कर उठाएको हो कि होइन?’
यसको जवाफमा काजीले भने, ‘मेची र सिद्धीका बीचमा चार-पाँच घर बस्ती थिए, त्यहाँको कर चैनपुरमा दाखिल गर्थें। पश्चिमपट्टिको नदी सिद्धी हो। मेची पूर्वैपट्टिको हो।’
यो कुरा सुनेपछि साहेबले दुई नदीका बीचमा अघिदेखि बसेका मानिस छन् कि छैनन् भनी सोधे। नेपालीले एकजना यहीँ आएको छ, एकजना पहाडमा छ भने। साहेबले भनेअनुसार पहाडमा रहेकालाई लिन पठाइयो र नक्कलबन्दा गएका ८५/९० वर्षका जङ्मो लाप्चालाई भोलिपल्ट साहेबकहाँ उपस्थित गराइयो। उनले आफू दुई नदीका वारि र बीचमा ६० वर्षजति बसेको र जग्गा कमाएको बताए। उनले अन्तु डाँडादेखि पूर्वतिरको मेची र पश्चिमतिरको सिद्धी हो पनि भने। यो बयान टिपेर साहेबले उनलाई पठाइदिए।

जोसेफ डाल्टन हुकरले बनाएको नेपाल र सिक्किमको सिमानाको नक्सा।
त्यसपछि फेरि येकुन्दा काजीलाई सोधे, ‘मेचीपूर्वको जमिनदार हुँदा अन्तु पहाडका बस्तीको पैसा उठाई चैनपुरमा दाखिल गरेको कुरा पोहोर किन भनिनस्?’
‘पोहोर जुन जुन कुरा सोध्यौ, ऊ कुरो भनेको थिएँ। यो कुरा सोधेका थिएनौ, भनिनँ। अहिले सोध्यौ, भनेँ,’ येकुन्दाले जवाफ दिए।
‘यी सबैमा धर्म उठाउन सक्लास्?’ साहेबले सोधे।
‘भएका कुरामा धर्म उठाउन किन सक्दिनँ र? सक्छु।’
यति कुरा भएपछि साहेबले तिमीहरूका साक्षी अरू पनि छन् कि भनी सोधे। नेपालीले जवाफ दिए, ‘मेची यो हो र सिद्धी यो हो भनी छोटाबडा सबै मानिसले जान्दछन्। चाहिन्छ भने दुई-चार सय मानिस ल्याइदिउँला।’
त्यसपछि साहेबले फेरि सोधे, ‘उसो भए अन्तु डाँडाका पहाडमा अघि बसेका दुईजनामध्ये यहाँ नआइपुगेको लाप्चा जातिका अरू चार-पाँचजना मानिस पाँच दिनभित्र ल्याउनू, उनीहरूलाई सोधपुछ गरौँला।’
नेपालीले ती मानिस बोलाइदिने भए।
नेपाल र सिक्किमको सिमाना सिद्धी नदी नै हो भन्नका लागि रेजिडेन्टले लेखे– सरकारका हुकुमबमोजिम सिक्किमको सिमाना तय गर्नका लागि मेचीको मूल शिर पत्ता लगाउन अंग्रेजतर्फका मानिसलाई पठाउँदा नेपालीहरूले सिद्धी भन्ने गरेको पश्चिमतिरका नदीलाई सिमाना ठहर्याइदिए।
ती साक्षीको बयान सुनेपछि अंग्रेजले सो बेहोरा सदरमा पठाउला र त्यहाँबाट हुकुम आएपछि सिमाना निर्धारण गर्ला भनी इलाम खटिएका नेपाली अधिकारीहरूलाई लागेको थिएन। उनीहरूले नेपालको हितविपरीत आफूले काम नगर्ने वचन भीमसेन थापालाई दिए।
अंग्रेजले सो मुद्दा सदरमा पठायो। सिक्किमका राजाबाट दार्जिलिङ लिएको एक वर्षपछि अंग्रेज रेजिडेन्टले नेपाल सरकारलाई १४ वटाभन्दा बढी सवाल गरेर सो जग्गा सिक्किमको हो भनी जिद्दी गरे।
नेपालले यस पत्रको जवाफ चैत १८९३ मा तयार गर्यो। जसमा बुँदा बुँदामा जवाफ दिइएको छ।
पहिलो
सिमाना निर्धारण ठीक भएन भनी नेपाल दरबारले उजुर नगरेकाले सिमाना निर्धारण भइसक्यो भनी रेजिडेन्टले लेखेकामा नेपालले सिमाना निर्धारण भइसकेको छैन भन्यो। यसको कारण नेपालले यस्तो दियो– अहद अर्थात् सन्धि हुँदा मेची नदीदेखि पूर्वको जमिन कम्पनी सरकारको र मेची नदीदेखि पश्चिमको जमिन नेपाल सरकारको हुने भनी उल्लेख छ। मेचीको साँध लागेको थाहा हुँदाहुँदै सिक्किमले पुरानो धार बन्द गरी नयाँ धार चलाउन खोजेको कुराको उजुर गरी रेजिडेन्ट साहेबकहाँ पठाएको थियो। त्यतिबेला रेजिडेन्टले सिक्किमसँग बहस गर्न जाने मानिस तयार गर्नू भनेका थिए। त्यसको जवाफमा नेपालले हाम्रो सन्धि कम्पनीसँग भएकाले सिक्किमेसँग सवालजवाफ गर्न हामी किन जानु भनेकै थियो। त्यसैले नेपालले उजुरी नगरेको होइन।
दोस्रो
रेजिडेन्टले (इलाम खटिएका नेपाली अमिन) उदयानन्दले उजुर पनि गरेनन्, गरेको उजुरमा ठहर्दा पनि ठहरेन भनी लेखेका थिए। यसको जवाफमा नेपाल दरबारले भन्यो– उदयानन्दले अंग्रेज कर्णेलसँग भएका कुराको विस्तारको चिठी हामीकहाँ पठाएको छ। उजुर नगरेको भए किन पठाउँदो हो? नक्सामा सबै कुरा खुलेको छ, त्यो पनि रेजिडेन्ट साहेबले देखेकै होला।
तेस्रो
हरिभक्तले जे भनेका छन्, दुनियाँले भन्ने कुरा त्यही हो। उनले जानेसम्म गरे होला भन्ने कुरा साँचो हो। उनैले र उदयानन्दले लेखेका नक्साको कागज हाम्रा हजुरमा चढाएका छन्। तिनमा पनि यो कुरा खुलेको छ।
चौथो
अंग्रेजले नेपालको हकदाबी साबित गर्न भनेको थियो। त्यसको जवाफमा नेपालले भन्यो– जस्ता साक्षी पाइयो तिनलाई उदयानन्दमार्फत पठाइसकिएको छ।
पाँचौँ
दरबारबाट हरिभक्तको सट्टा नयाँ अमिन पठाएकाले उसलाई यस विषयमा केही थाहा छैन भनी रेजिडेन्टले भनेकामा नेपालले भन्यो– मानिसको बदली हुँदा पनि कागजपत्र र जानकार मानिस छँदै छन्।
छैटौँ
यस विषयलाई टुंग्याउन वकिल पठाउन यो साल सिक्किमले ढिला गर्यो, पोहोर साल नेपालले ढिलो गरेको थियो भनी रेजिडेन्टले लेखेकामा नेपालले दुवैतर्फबाट ढिला हुन गएको स्वीकार गर्यो। तर, दुवैतिरका मानिस गई अघि कम्पनीसँग जुन सिमाना कायम भएको थियो, सोही सिमाना कायम हुने आशा नेपालले गर्यो।
उसले भन्यो– उहिलेदेखि कायम रहेको मेचीको नाउँ बदली सिक्किमेले मेचीमा थुपारेको ढुंगा फाली वर सिद्धीमा ढुंगा थुपारेर सिद्धीलाई मेची नाउँ दिएको कुरा जान्ने बासिन्दाहरू त्यहाँ छँदै छन्।
सातौँ
नेपालले सिमानाबारे पुनः जाँच गर्न भनेको थियो जस्तो छ। त्यसको जवाफमा रेजिडेन्ट साहेबले नेपालको दाबी साबित गर्न साक्षीको नयाँ तयारी छैन भने दोहोर्याएर हेर्दा केही फाइदा हुँदैन भने। अघिल्लोपटक सीमा निर्धारण गर्दा उदयानन्दका तर्फबाट सबै साक्षी पुगेका थिए भनेर पनि रेजिडेन्टले भने। त्यसो भएको भए उदयानन्दले त्यो सिमाना सही होइन भनी जान्ने मान्छेलाई बयान गराई नेपाल दरबारमा किन पठाउँथे भनी नेपालले सोध्यो। उनीहरूले गरेका बयान चाहिन्छ भने नेपालले रेजिडेन्टलाई पठाइदिने भयो।
आठौँ
यस बुँदामा रेजिडेन्टलाई धन्यवाद मात्र दिइएको छ।
नवौँ
रेजिडेन्टले लेखेका रहेछन्– दुई नदीका बीचको अन्तु नाउँ गरेको एउटा डाँडोलाई लिएर विवाद भएको रहेछ। ती नदीमध्ये पश्चिमतिरका नदीलाई सिक्किमेहरूले मेची भन्छन्, नेपालीहरू सिद्धी भन्छन्। पूर्वतिरको नदीलाई सिक्किमेलीहरू केची भन्छन् भने नेपालीहरू मेची भन्छन्। साँच्चीको मेची नदी कुन हो भनी सवाल गर्दा ठूलो चाहिँ नदी मेची हो भन्ने जवाफ आयो।
यसको जवाफमा नेपालले पूर्वको नदी मेची र पश्चिमको नदी सिद्धी भएको कुरा दोहोर्यायो।
दसौँ
सुगौली सन्धिको प्रावधानबमोजिम जयन्त खत्री नागरी किल्ला छाडी नेपाल आउँदा नेपालीले सिद्धी भन्ने गरेको नदीभन्दा पश्चिम आइबसेका थिए। यसले लडाइँ भएका बेलामा यही नदीलाई नै सक्कली मेची ठानिन्थ्यो भन्ने प्रमाणित हुन्छ भनी रेजिडेन्टले अत्तो थापेका थिए। यसको जवाफमा नेपालले भन्यो– मान्छे जहाँ सुविधा भयो त्यहीँ बस्छ। जयन्त खत्री सुरुमा करफोकको किल्लामा आइबसेका थिए। पछि जग्गाको बन्दोबस्त गरी इलाम गढीको छाउनी सरे। उनी कहाँ बसे भन्ने कुराले सिमाना निर्धारण हुँदैन। अहद (सन्धि)मा भनिएबमोजिम हुन्छ। अहदमा मेची साफसँग लेखिएको छ। सर्भेयर बालु साहेब (जोन पिटर ब्वालो)ले जे भनेका थिए, त्यसका आधारमा सिद्धीलाई मेची मान्न कसरी सकिएला भन्ने कुरा रेजिडेन्ट साहेबले राम्रोसँग बुझ्नुपर्छ।
एघारौँ
सिद्धी र मेची नदीमध्ये कुन चाहिँ ठूलो छ भनी हेर्न कप्तान लायेड साहेब जाँदा उदयानन्दलाई पनि जाऔँ भनेका थिए। त्यतिबेला उनले म बूढो निर्बलियो भएको छु भने र लायेड साहेबसँग गएका थिएनन्। भक्तवीर थापा र दुर्जसिंह थापालाई पठाइदिएका थिए। उनीहरूले पश्चिमको नदीमा पानी धेरै भएकाले असली मेची त्यही हो भनी ठहर्याएका थिए भनी रेजिडेन्ट साहेबले भनेका थिए। त्यसको जवाफमा नेपालले भन्यो– पश्चिमतिरको नदीमा धेरै पानी भएकाले असली मेची नदी त्यो हो भनेका भरमा अघिदेखि चलिआएको नाम फेरिँदैन होला। आजका कुराका आधारमा पहिलेदेखि चलिआएको मेचीको नाउँ फेर्न खोज्दा फेरिँदैन होला। अघिकै नाम सदर होला।
बाह्रौँ
नेपाल र सिक्किमको सिमाना सिद्धी नदी नै हो भन्नका लागि रेजिडेन्टले लेखे– सरकारका हुकुमबमोजिम सिक्किमको सिमाना तय गर्नका लागि मेचीको मूल शिर पत्ता लगाउन अंग्रेजतर्फका मानिसलाई पठाउँदा नेपालीहरूले सिद्धी भन्ने गरेको पश्चिमतिरका नदीलाई सिमाना ठहर्याइदिए। जयन्त खत्रीलाई बोलाउँदा गएनन्। आजभोलिका नक्सामा केही नेपालीहरूले मेची भन्ने गरेको पूर्वतर्फको नदीलाई छोटी मेची लेखिएको छ, पश्चिमतिरका नदीलाई बडी मेची।
जेठ १८९६ मा अंग्रेज गभर्नरले यसै बेहोराको चिठी नेपालमा रहेका उनका रेजिडेन्ट हज्सनलाई पठाए र सो ठाउँ नेपाललाई हस्तान्तरण गर्न आदेश दिने जनाए। हज्सनले यो कुरो राजालाई बताए। सो जमिन हात परेपछि आवाद गुलजार गर्ने बन्दोबस्त गर्नू भनी राजाले कुम्मेदान हेमदल थापालाई अह्राए।
यसबारे नेपालले भन्यो– जयन्त खत्री जानुपर्ने थियो। गएनछन्। यो कुरा हाम्रा हजुरमा पनि बिन्ती गरी पठाएनन्। लापरवाही गरेछन्। ‘तेस्को मौत नगीच आयाको हुनाले थोरै दिनमा मरिगयो।’ त्यसैले त्यतिबेला सिक्किमका अमिनले आफू मात्र बसी कुरा लेखाएको होला भनी बुझ्नुपर्छ। सानो मेची र बडो मेची कदाचित् छैन। मेची एकै छ। त्यो कुरा त्यहाँका सबै बासिन्दाहरूलाई थाहा छ।
तेह्रौँ
अंग्रेज रेजिडेन्टले लेखेका रहेछन्, ‘देहन साहेबले मेजर लाटर साहेबका हुकुमबमोजिम पश्चिमतिरका नदीका किनारामा सिमाना कायम गर्नाका निमित्त जगाजगामा ढुंगा थुपारेर राखेका थिए। पछि सिक्किमबाट भागेर आउनेहरूले त्यसलाई बिगारी विवादित जमिनमा घर बनाई दुवै नदीका बीचको जमिन नेपालको हो भनी दाबी गरे। यो कुरा अघि भागी आउने तिनै सिक्किमेहरूका भनाइले थाहा भयो। अघि त्यस जग्गामा घरखेत केही थिए भन्ने कुरा लायेड साहेबका तजबिजले ठहर्यो।’
यसको जवाफमा नेपालले भन्यो, ‘मेचीको किनारमा दुईतर्फबाट ढुंगा थुपारेको सही हो। पछि सिक्किमेहरूले बालु साहेबले गाडेको सिमानाको बाँस उखेले र मेचीको पुरानो धार थुनेर नयाँ धार पश्चिमतिर हाली पानी चलाउन खोजे। त्यसो नभएपछि सिद्दीलाई मेची भन्न थाले। परापूर्वकालदेखिको मेची पूर्वैको हो। हाम्रा सिमानाभित्रको सिद्धीलाई नाहकमा मेची भनेका हुन्।’
नेपालले यस्तो जवाफ पठाएपछि अंग्रेजले तेस्रो र अन्तिम अनुसन्धान गर्ने भयो। यसका लागि नेपालका लागि सहायक रेजिडेन्ट क्याम्पबेल, कर्णेल लोयड तथा नेपाल र सिक्किमका वकिलले फिल्ड निरीक्षण गर्ने तय भयो। तर, सिक्किमका राजाले बारम्बार वकिल पठाउनु बेकार हो भनेर सं १८९४ को असोज-कात्तिकमा वकिल पठाउन अस्वीकार गरे। १८९४ माघमा चाहिँ अन्त्यमा उनले सबै काम गर्ने मालिक तिमी हौ, जे गर्छौ गर भनी अंग्रेजलाई जवाफ दिए। यसअघि अंग्रेजका तर्फबाट सिमाना अध्ययन गरेका लोयडले सिक्किमका राजाको वकिल नपठाउने निर्णयको बचाउ गरे। उनले लेखे– यसअघि दुईपटक अनुसन्धान भइसकेको थियो। वकिल पठाउँदा सिक्किमले ३०० जना मान्छे पठाउनुपर्छ। त्यसो गर्दा खर्च लाग्छ र मान्छे जुन ठाउँमा पठाउनुपर्ने हो, त्यहाँ औलो लाग्छ भनेर राजाले वकिल पठाउन इन्कार गरेका हुन्।
लोयड साहेब आफैँलाई पनि थप अनुसन्धान गर्न जाँगर थिएन। उनले भने– तेस्रो त के, तीन हजारपटक अनुसन्धान गरे पनि चाहेजस्तो परिणाम आउँदैन।
लेफ्टिनेन्ट कर्णेल लोयड, क्याम्पबेल र नेपाली टोली सोही वर्षको माघमा मेची खोला गए। अन्तु डाँडाको फेरो घुमे। दुई नदीको मुहानसम्म पुगे र नक्सलबारी र नक्कलबन्दा गए। फागुनमा पनि सिक्किमे राजाले वकिल पठाउँदिनँ भनेपछि उहीबेला लोयड र क्याम्पबेलले अलग अलग रिपोर्ट आफ्नो सरकारलाई दिए। त्यही रिपोर्टका आधारमा ब्रिटिस सरकारले भन्यो– दुई नदीमध्ये सबैभन्दा पूर्वको नदीलाई मेची भनिँदो रहेछ। त्यसैले त्यो नदी नै सीमा नदी हो। त्यसैले अन्तु डाँडा नेपालको ठहर्छ।
जेठ १८९६ मा अंग्रेज गभर्नरले यसै बेहोराको चिठी नेपालमा रहेका उनका रेजिडेन्ट हज्सनलाई पठाए र सो ठाउँ नेपाललाई हस्तान्तरण गर्न आदेश दिने जनाए। हज्सनले यो कुरो राजालाई बताए। सो जमिन हात परेपछि आवाद गुलजार गर्ने बन्दोबस्त गर्नू भनी राजाले कुम्मेदान हेमदल थापालाई अह्राए।
यसरी केही समय गुमेको ४५ वर्ग किलोमिटर जमिन ठूलो झगडा नभईकन नेपालले फिर्ता पायो र अन्तु डाँडाजस्तो सुन्दर ठाउँ नेपालको भयो।
यो लेख तयार गर्न निम्न सामग्रीको उपयोग गरेको छु :
परराष्ट्र मन्त्रालयका सार्वजनिक नभएका कागजात, २ सि. ३६८, ९ र १७९, राष्ट्रिय अभिलेखालय पोका नम्बर १, पत्र संख्या १३१, डीएनए २/३१ ५/३, तथा द रोड अफ डेस्टिनी : दार्जिलिङ लेटर्स १८३९