काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

गृहमन्त्रीसँग र अमेरिकी राजदूतबीच भेट, के भयो कुराकानी?

१२ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज (बुधबार) भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गरेका थिए। यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उनको भनाइ थियो।

राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

राजदूत थम्प्सनले पछिल्लो समय एमसीसी परियोजनाका विरुद्धमा भइरहेको बयानबाजी र एमसीए नेपालले केही स्थानमा भोगिरहेको अप्ठ्याराका विषयमा चासो जनाएका थिए। यस सम्बन्धमा गृहमन्त्री अर्यालले वर्तमान सरकार अघिल्लो सरकार, संसद्ले गरेका प्रतिबद्धता पूरा गर्न तयार रहेको आश्वासन दिए।

त्यस अवसरमा राजदूत थम्पसनले नेपालमा रहेका शरणार्थीसम्बन्धी पनि चासो राखेका थिए र मन्त्री अर्यालले नेपालले सबै प्रकारका मानवअधिकारको सम्मान गर्ने बताएका थिए । साथै गृह मन्त्रालयले निर्वाचन आयोगसँग सुरक्षाका विषयमा परामर्श गरिरहेको पनि अर्यालको भनाइ थियो।