आवरण
नेपालमा ३६ जना पुरुषमध्ये एक र ६५ जना महिलामध्ये एकलाई ७५ वर्षको उमेरअगावै सुर्तीजन्य क्यान्सर हुने डरलाग्दो अवस्था
थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालपछाडिको गेटमा २६ साउन २०८२ को बिहान सवारीसाधनहरूको हर्न बज्दै थियो। गन्तव्यमा पुग्न हतारिएका मानिस र ट्राफिकको होहल्लाले एकाबिहानैको वातावरण कोलाहलपूर्ण थियो। बिहान ७:४० बजे एकाएक त्यो लय टुट्यो। २९ वर्षीया रेफतबी अन्सारी त्यसबेला ६ महिनाकी गर्भवती थिइन्। अस्पताल पुगेकी अन्सारी दुई पुरुषसँग आमनेसामने भइन्। ती दुईजनाले पिएको चुरोटबाट निस्केको धुवाँले अन्सारी र उनको पेटमा रहेको शिशुलाई उकुसमुकुस बनाएको थिएन, सकस नै पारेको थियो। अन्सारी झर्किँदै अस्पतालको गेटमै चुरोटको धुवाँ उडाउने व्यक्तिसँग प्रतिवादमा उत्रिइन्।
यो दृश्य बटुवाहरूले रोकिएर हेर्नलायक थिएन। अन्सारीसँग चुरोटको धुवाँ उडाउने दुई पुरुष भने लज्जाजनक रूपमा अरूको श्वास फेर्ने अधिकारभन्दा आफ्नो चुरोट पिउने अधिकार महत्त्वपूर्ण हो भन्ने तर्क गर्दै थिए। तिनको हठले यो दृश्य देख्नेलाई असजिलो भएको अनुभव हुन्थ्यो।
नेपालमा यसरी जथाभाबी धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्य संकट मात्र ल्याएको छैन, आर्थिक क्षति नै गरेको छ।
बुद्धनगरमा अन्सारी परिवारको कबाडखाना छ, जुन उनीहरूको घर पनि हो। त्यो दिन उनी दुई जना चुरोटेसँग चुप लागेर बस्ने मुडमा थिइनन्। उनले नेपाल न्युजलाई भनिन्, “मलाई चुरोटको गन्ध कहिल्यै मन पर्दैन। गर्भवती भएदेखि त यो बिल्कुलै सहनै सक्दिनँ। श्रीमान्को कबाडखानाको गन्धले पनि मलाई यति धेरै असर गरेको थिएन, जति यो चुरोटको धुवाँले गरेको छ।”
केही समयपहिले उनले अस्पताल, विद्यालय र सार्वजनिक स्थानवरपर सरकारले धूमपानमा लगाएको प्रतिबन्धको खबर सुनेकी थिइन्। त्यसलाई कडाइका साथ लागु गर्न सरकारले फेरि पहल गरेको भिडिओसमेत अन्सारीले हेरेकी थिइन्।
सार्वजनिक स्थलमा धूमपान निषेधसम्बन्धी कानुन थाहा पाउनुअघि उनले बस स्टप, पार्क र गल्लीहरूमा चुरोटको धुवाँ चुपचाप सहेकी थिइन्। त्यतिबेला उनलाई यससम्बन्धी कानुनी ज्ञान थिएन। अब भने उनले आफूलाई असर पार्ने गरी चुरोट तान्नेसँग प्रतिवाद गर्ने भएकी छन्। उनी भन्छिन्, “कानुन हुँदाहुँदै किन मानिसहरू सार्वजनिक ठाउँमा चुरोट पिउँछन्? जथाभाबी चुरोट तान्दा अरू मानिसहरूको स्वास्थ्य र अधिकारलाई हानि पुग्ने कुरा कस्तो थाहा नभएको।”
अन्सारीको प्रतिवादपछि पनि दुई पुरुषहरूले चुरोट पूरै तानिसकेपछि मात्र निभाए। चुरोटको धुवाँ हट्दासम्म सडकको भिड सामसुम भइसकेको थियो।
यता, पाठेघरको शल्यक्रिया गराएकी र फलोअपका लागि गएको साउनमै काठमाडौँ मेडिकल कलेज पुगेकी प्रभातीदेवी थरुनी (४३)ले धूमपानले सताएको पीडा व्यक्त गरिन्। उनले भनिन्, “मलाई धूमपान कहिल्यै मन पर्दैनथ्यो, तर कोभिड-१९ बाट निको भएपछि चुरोटको गन्ध सहन अझ गाह्रो भएको छ। हरेकपटक अस्पताल जाँदा म पार्किङ लट र वरपरका सडकहरूमा मानिसहरूले लापरवाहीपूर्वक गरेको धूमपानको धुवाँबाट बच्न नाक छोप्न बाध्य हुन्छु।”
यस्तै पीडा निजामती सेवा अस्पताल बानेश्वरमा आफ्नो काकाको हेरचाह गरिरहेका जुम्लाका २६ वर्षीय रतनबहादुर बुढाले व्यक्त गरे। उनले गत साउनमा अस्पतालको गेट, सार्वजनिक बस स्टप र छेउछाउको गल्लीनजिकै धूमपान गर्नेहरूको बिगबिगीको यसरी वर्णन गरे, “म धूमपान गर्दिनँ र त्यसको गन्ध पटक्कै मन पराउँदिनँ। कलेज, अस्पताल र बस स्टपनजिकै धूमपान गर्दा पनि उनीहरूलाई रोक्ने कोही छैन।”
बुढाले सिभिल अस्पतालनजिकै धूमपान गर्नेहरूको समूह र धूमपान विक्रेताको विरोध गरे। तर, उनलाइ साथ दिने कोही देखिएन, उल्टै उनी उपहासको सिकार भए।
नेपालमा यसरी जथाभाबी धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगले स्वास्थ्य संकट मात्र ल्याएको छैन, आर्थिक क्षति नै गरेको छ। देशको सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य नेपालले मात्रै वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको चुरोट उत्पादन गर्छ। यसबाट धूमपानको भयावह विस्तार तथा सञ्जालबारे अनुमान गर्न सकिन्छ।

अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ का लागि सुर्तीजन्य वस्तुको अन्तःशुल्कबाट रु. ३५ अर्ब राजस्व उठाउने प्रक्षेपण गरेको थियो। तर, गत आवको पहिलो ६ महिनामा सुर्तीजन्य उत्पादनबाट मात्र रु. १३.७९ अर्ब राजस्व संकलन भएको थियो। अघिल्लो आवको सोही अवधिमा रु. १२.९२ अर्ब बराबर राजस्व संकलन गरेको थियो।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनले विद्यालय, अस्पताल र बाल हेरचाह केन्द्रहरूको १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ। ऐनले १८ वर्षमुनिका व्यक्ति तथा गर्भवतीहरूलाई त्यस्ता पदार्थ बिक्रीवितरण गर्न प्रतिबन्ध लगाएको छ। यो कानुन उल्लंघन गर्ने व्यक्तिलाई १०० रुपियाँ जरिवाना र कानुन लागू गर्न नसक्ने अधिकारीलाई पाँच हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। तर, प्रभावकारी अनुगमनबिना यो कानुन लागू गर्न सम्भव छैन। अहिले पनि सहरका घना बस्ती, अस्पताललगायत सार्वजनिक स्थलको १०० मिटर वरिपरि चुरोट र सुर्तीजन्य वस्तुको खुलेआम कारोबार र उपयोग हुन्छ। जस्तो– प्रसूति गृह, निजामती अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालजस्ता प्रमुख अस्पतालवरिपरि चुरोट पसल देखिन्छन्।
निष्क्रिय धूमपान पनि उत्तिकै खतरनाक छ। सन् २०१९ मा ३३.५ प्रतिशत वयस्कहरू घरमा र २२.५ प्रतिशत काममा निष्क्रिय धूमपानको सिकार भएको तथ्यांक थियो।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्री आचार्यले लामो समयदेखि अस्पतालवरपरको वातावरण सफा र धूमपानमुक्त राख्ने प्रयास गरे पनि सफल नभएको बताउँछन्। आचार्य भन्छन्, “गर्भवती महिलालाई चुरोटको धुवाँले जोखिममा पारेको हुन्छ। धूमपानले समयअगावै बच्चा जन्मिने, बच्चा कम तौलको हुने, जन्मजात दोष र सुतेकै बेला शिशुको अचानक मृत्यु हुने सिन्ड्रोम (एसआईडीएस)को जोखिम बढाउँछ। त्यसैले हामीले सार्वजनिक स्थलमा धूमपान कम गर्न स्थानीय अधिकारीहरूसँग काम गरेका छौँ, तर नियमित अनुगमनबिना धूमपान पूर्ण रूपमा रोक्न सकिएको छैन।”
विश्व स्वास्थ्य संगठन, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल विकास अनुसन्धान प्रतिष्ठानले जथाभाबी धूमपानको समस्या विकराल बनेको जनाएका छन्। धूमपानबाट वार्षिक २७ हजार १०० भन्दा बढी नेपालीको ज्यान जाने गरेको छ।
सन् २०१९ मा विश्व स्वास्थ संगठनको एक सर्वेक्षणले २८.९ प्रतिशत वयस्कहरूले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेको देखाएको थियो। सन् २०२४ को एनडीआरआई सर्वेक्षणले यो आँकडा बढेर ३४.१ प्रतिशत पुगेको देखाएको छ, जबकि विश्व स्वास्थ्य संगठनको २०२२ को तथ्यांकले १४.५ प्रतिशत देखाएको थियो।
निष्क्रिय धूमपान पनि उत्तिकै खतरनाक छ। सन् २०१९ मा ३३.५ प्रतिशत वयस्कहरू घरमा र २२.५ प्रतिशत काममा निष्क्रिय धूमपानको सिकार भएको तथ्यांक थियो। निष्क्रिय धूमपान महिला र बालबालिकाका लागि थप जोखिमयुक्त छ। यसले प्रतिरक्षा र फोक्सोलाई कमजोर पार्छ, साथै मुटु रोग पनि बढाउँछ।
धूमपान गर्नेहरू सबै एकैनासका हुँदैनन्। लगनखेलस्थित क्याम्पियन स्कुलका शिक्षक जयकुमार साह दैनिक धूमपान गर्छन्, तर तोकिएका क्षेत्रमा मात्र। उनी भन्छन्, “मैले कहिल्यै सार्वजनिक ठाउँमा धूमपान गरेको छैन। म धूमपान गर्नेहरूको आलोचना गर्छु। धूमपान नगर्ने मानिसहरूको पनि अधिकार छ र उनीहरू हाम्रो कारणले पीडित हुनु हुँदैन।”
साह सार्वजनिक स्थानमा धूमपान गर्नेलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयका समर्थक हुन्। तर, उनी चुरोट मात्र सहरको वायु गुणस्तर खस्काउनका लागि दोषी नभएको बताउँछन्। भन्छन्, “सवारीसाधनको धुवाँ र धुलोले चुरोटको धुवाँभन्दा धेरै प्रदूषण गर्छ।”
शिक्षक साह आफ्नो विद्यालय पाटन अस्पतालसँग जोडिएको गल्लीमा रहेको र नियमित रूपमा दुई वा तीन जनालाई धूमपान गरिरहेको भेट्ने बताउँछन्। भन्छन्, “मलाई लाग्छ, कडा कानुन भए पनि मानिसहरूले सार्वजनिक धूमपान छोड्दैनन्, किनभने संवेदनशील स्थानहरूमा दृश्य सचेतना अभियान र कार्यक्रमको कमी छ।”
साहको स्कुलमा कक्षा ९ की एक विद्यार्थी स्कुल आउने-जाने क्रममा दैनिक सडकमा कम्तीमा चार वा पाँच जना व्यक्तिहरूलाई धूमपान गरिरहेको देख्ने बताउँछिन्। उनी भन्छिन्, “मानिसहरूले नागरिक चेतनाको कमी र अरूको स्वास्थ्यलाई बेवास्ता गर्दा सडकमा खुल्लमखुल्ला धूमपान जारी छ।”
काठमाडौँमा सार्वजनिक स्थलमा धूमपानविरुद्धका नियम प्रभावविहीन बनेका छन्। मानिसले धूमपानविरोधी कानुनलाई खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकायले कारबाही प्रक्रिया अघि बढाउन चासो दिने गरेका छैनन्।
वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी बाबुराम घिमिरे चुरोटले गर्ने प्रदूषणबारे अध्ययन हुनै बाँकी रहेको बताउँछन्। “चुरोट खाँदा प्रदूषण हुन्छ, तर नेपालमा यो अझै माइक्रो लेभलमा छ। हामीले समग्र वायु प्रदूषणमा यसको अंश मापन गर्न अध्ययन गरेका छैनौँ,” उनी भन्छन्।
धूमपानले जति क्षति गरे पनि सबै मानिसले यसलाई चटक्क छाड्न सक्दैनन्। तिनका लागि धूमपान लतमा परिणत हुने भएकाले त्यसलाई छोड्नुपर्ने उनीहरू कुनै कारण देख्दैनन्। जस्तो– गोरखाका ५६ वर्षीय निर्माण मजदुर अमरबहादुर पुलामीले किशोरावस्थादेखि नै धूमपान गर्दै आएका छन्। भन्छन्, “सास फेर्नेबाहेक धूमपानले मेरो स्वास्थ्यमा असर गरेको छ जस्तो लाग्दैन, कहिल्यै जाँच पनि गराएको छैन। तर, हामी धूमपान गर्नेहरूले अरूलाई हानि पुर्याउनु गैरजिम्मेवार कार्य हो। तोकिएको ठाउँमा मात्र धूमपान गर्नुपर्छ।”
स्कुले छात्रछात्रालाई सार्वजनिक स्थलमा हुने धूमपानले नराम्रो असर गरेको छ। १७ वर्षकी भवानी भुसाल गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्दाका दिन सम्झिन्छिन्। स्कुलबाट उनको घर फर्कने गल्लीमा सधैँ केही मानिस खुलेआम धूमपान गरिरहेका हुन्थे। यसले उनलाई सिधै असर गरेको थियो। उनी भन्छिन्, “म त नाकै थुनेर हिँड्थे। कोभिड-१९ भएपछि म चुरोटको धुवाँ पटक्कै सहन सक्दिनँ। तर, सहरका विद्यालय आउजाउ गर्ने गल्लीहरू धूमपानमुक्त होऊन्।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि यो तथ्यप्रति अनभिज्ञ छैन। मन्त्रालयका सुर्तीजन्य पदार्थ नियन्त्रणका फोकल पर्सन डा. भक्तबहादुर केसी सरकारले धूमपान नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन प्रभाकारी बनाउन देशका ७५३ स्थानीय तह र ७७ जिल्ला कार्यालयहरूसँग काम गरिरहेको बताउँछन्। केसीले भनेजस्तो सरकारले पालिकाहरूलाई स्थानीय तहमा धूमपान नियन्त्रणको जिम्मा दिए पनि प्रगति सुस्त छ। उनी भन्छन्, “धूमपान खतरनाक छ र क्यान्सर निम्त्याउँछ भन्ने जान्दाजान्दै मानिसहरूले अरूलाई कस्तो असर गर्छ भन्ने ख्याल नगरी सार्वजनिक रूपमा धूमपान गर्छन्।”
हुन पनि धूमपानले जनस्वास्थ्यमा थप्ने बोझ गम्भीर छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को २०२४ को अध्ययनले पुरुषहरूमा हुने क्यान्सरमध्ये ३५.३ प्रतिशत र महिलाहरूमा १७.३ प्रतिशत धूमपानका कारणले हुने देखाउँछ। यसबाट धेरैजसोमा फोक्सो, मुख र अन्ननलीको क्यान्सर हुने गरेको छ।
त्यस्तै, विश्व स्वास्थ्य संगठनले चुरोटको धुवाँमा रहेका ७० भन्दा बढी कार्सिनोजेनका कारण धूमपानले कम्तीमा १६ प्रकारका क्यान्सर निम्त्याउने उल्लेख गरेको छ। नेपालमा ३६ जना पुरुषमध्ये एक र ६५ जना महिलामध्ये एकलाई ७५ वर्षको उमेरअगावै सुर्तीजन्य क्यान्सर हुने डरलाग्दो अवस्था छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का चन्द्रभूषण यादव भन्छन्, “सुर्तीजन्य वस्तु र धूमपानसम्बन्धी धेरै अध्ययन हुन सकेको छैन। हामी अहिले थप डेटा संकलन गर्दै छौँ। नेपालमा सार्वजनिक धूमपान भयानक चुनौती हो।”
काठमाडौँमा सार्वजनिक स्थलमा धूमपानविरुद्धका नियम प्रभावविहीन बनेका छन्। मानिसले धूमपानविरोधी कानुनलाई खुलेआम चुनौती दिँदा पनि सरोकारवाला निकायले कारबाही प्रक्रिया अघि बढाउन चासो दिने गरेका छैनन्। डा. केसी भन्छन्, “सार्वजनिक स्थलमा धूमपान रोक्न संवैधानिक व्यवस्था नै थप्न जरुरी छ। कडा सजाय जरुरी भयो। किनभने, भएका कानुन र सरकारी प्रयासले मात्र रोक्न नसकिने भइयो।”
जनस्वास्थ्यविद् डा. खेम कार्की धूमपान गर्ने लतको प्रकृति नबुजी यो रोक्न नसकिने तर्क गर्छन्। उनी धूमपानलाई ‘शरीरको निकोटिनप्रतिको लत र बानी छोड्न नसक्ने दिमाग’ बीचको द्वन्द्वका रूपमा अर्थ्याउँछन्। भन्छन्, “जब लतको इच्छा जाग्छ, धूमपान गर्ने व्यक्तिले जनस्वास्थ्यको वास्ता नगर्न सक्छ। चेनस्मोकर यसबाट उम्कन सकिन्छ भन्ने संकत देख्दा पनि धूमपान त्याग्न हिचकिचाउँछ।”