दृष्टिकोण
युवा पुस्ताको चेतनाको लडाइँ ‘के भत्कियो’ भन्नेमा होइन, ‘के बन्दै छ’ र त्यो बन्ने कुराले नागरिकलाई के दिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ।
गत २३ भदौको आन्दोलन एउटा आकस्मिक घटना मात्र होइन, यो त नेपाली समाज र विशेषगरी युवा पुस्ताका लागि सडकमा लेखिएको एउटा ‘खुला पाठ्यक्रम’ हो। यस पाठ्यक्रमको पहिलो पाठ हो– संकटको जड कुनै एउटा व्यक्ति वा संस्था होइन, पुराना-नयाँ सबै दलमा देखिएको सामूहिक नैतिक ह्रास हो। यस्तो ह्रास दलहरूमा व्याप्त आर्थिक भ्रष्टाचार मात्र होइन, बौद्धिक र वैचारिक दिवालियापन पनि हो। त्यसैले दलहरू सच्चिनुको विकल्प छँदै छैन। तर विडम्बना, सच्चिनुपर्छ भन्ने मुद्दा सबै दलमा कमजोर छ। जसले गर्दा देशको राजनीति अनिश्चितता र संशयको बन्दी बनेको छ। आम मानिसमा गहिरो अन्योल छ– कुन सही, कुन गलत र अब के हुन्छ? राजनीति गर्नेहरूले त यो बुझेनन् वा बुझ्न चाहेनन्, तर युवा पुस्ताले यो अन्योल चिर्न केही आधारभूत चेतनाको शिक्षा लिनुपर्छ।
यस चेतनाको पहिलो अध्याय विश्वविद्यालयका ‘जेनेरेसन जेड’ उमेरका विद्यार्थीबाटै सुरु हुन्छ। दसैँदेखि छठसम्मको बिदापछि यस पंक्तिकारले उनीहरूसँग गरेको कुराकानीले देखाउँछ– अहिलेका युवाहरूले सिक्न सुरु गरिसकेका छन्। उनीहरू सूचनाका निष्क्रिय उपभोक्ता मात्र होइनन्, सक्रिय विश्लेषक पनि हुन्। उनीहरूका अनुसार घरका अभिभावकले समेत उनीहरूलाई ‘कुरा बुझ्न र बुझाउन सक्ने’ परिपक्व पुस्ताका रूपमा आत्मसात् गर्न थालेका छन्। यो पुस्तागत सोचमा आएको ठूलो परिवर्तन हो, जहाँ उमेरको आधारमा तय हुने परम्परागत ज्ञानको एकाधिकार तोडिएको छ।
म्याद गुज्रिएका पात्रहरूलाई मुलुकले बिदा गर्न खोज्दा हाम्रा मिडियाले उनीहरू अझै सिंहासनमै भएको भान गराइरहेका छन्।
यस पुस्तालाई दिनुपर्ने दोस्रो शिक्षा हो– जवाफदेहीको निरन्तर माग। उनीहरूले आफ्नो समाजमा राजनीतिका नाममा भएका विभाजनकारी गतिविधि प्रस्टै चिनेका छन्, चाहे त्यो जातीय वा क्षेत्रीय होस् वा वर्गीय। त्यसैले उनीहरूमा एउटा बलियो भावना विकास भएको छ; जसले आदेश दिन्छ, उसले त्यसैअनुरूपको उत्तरदायित्व पनि वहन गर्नुपर्छ। उनीहरू पुरानो पुस्ताको अनुभवको कदर गर्न तयार छन्, तर त्यसका लागि पुरानो पुस्ता पारदर्शी हुनुपर्ने उनीहरूको पहिलो सर्त छ। पारदर्शिताविनाको अनुभव गल्ती र असफलता ढाकछोप गर्ने औजार मात्रै हो भनेर युवाहरूले बुझ्नुपर्छ। ‘हाम्रो पालामा यस्तो थियो, हामी यसो गर्थ्यौं’ भन्ने अनुभवको बखानले अब काम गर्दैन; ‘त्यो अनुभवले आजको समस्या किन हल गर्न सकेन?’ भन्ने प्रश्नको सामना गर्नैपर्छ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो– व्यवस्थाको आडमा लुकेको पुरानो विचार चिन्नु। लोकतन्त्र वा गणतन्त्रको नयाँ खोल ओढेर पुरानो सामन्ती र एकाधिकारवादी सोचले नै शासन गरिरहेको छ। पुरानो सत्तासँगै भस्म हुनुपर्ने थोत्रा विचार बोक्नेहरू अझै पनि इन्टरनेटका सामाजिक सञ्जालको खरानीमा आफ्नो औचित्य र अस्तित्व खोजिरहेका छन्। युवा पुस्ताले बुझ्नुपर्छ, भत्काउनु जति सजिलो छ, नवनिर्माण त्योभन्दा कैयौँ गुणा कठिन छ। यसका लागि गहिरो समर्पण, विचार र यसको सही सम्प्रेषण चाहिन्छ। विगतका आन्दोलनहरूका उपलब्धिलाई आम मानिसको जीवनसँग जोडेर परिवर्तनको आभास दिन नसकेकै कारण नयाँ आन्दोलन जन्मिएको हो। २०४६ साल होस् वा २०६२/६३, राजनीतिक परिवर्तन त भयो, तर त्यसले नागरिकको दैनिक जीवन, उसको आत्मसम्मान र राज्यले दिनुपर्ने सेवामा परिवर्तन र सुधार आयो त? आएन। त्यसैले यसपटकको चेतनाको लडाइँ ‘के भत्कियो’ भन्नेमा होइन, ‘के बन्दै छ’ र त्यो बन्ने कुराले नागरिकलाई के दिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ।
तर, यो नवनिर्माणको बाटोमा सबैभन्दा ठूलो तगारो हाम्रो समाजको बौद्धिक धरातल हो। हाम्रो समाज आफ्नो क्षमता, बुद्धि, विवेक र तर्कशक्तिमा कति खस्केको छ भन्ने कुरा अन्यत्र हेर्नै पर्दैन। यो ‘बौद्धिक खडेरी’ बारे युवाहरू सचेत हुनैपर्छ। उनीहरूले चिन्नुपर्छ ती नेताहरूलाई, जो आफ्ना नीति, क्षमता, व्यवहार र शैली सम्पूर्णरूपमा जनताबाट तिरस्कृत भइसके पनि जनताकै दुहाइ दिँदै बडो ठाँटका साथ मञ्चहरूमा बोलिरहेछन्। अझ चिन्ताको कुरा, तिनैलाई भरमग्दुर साथ दिने, तिनका गल्ती र अपराधमा रफु भर्ने र तिनीहरूको असफलतालाई सफलता हो भनेर प्रमाणित गर्न तम्सिने ‘कारिन्दा’ हरूको ठूलो फौज रक्षाकवच बनेर बसेकै छन्। ती कारिन्दाका आवरण अनेक छन्– राजनीतिकर्मी, कर्मचारी, पत्रकार, वकिल, शिक्षक, प्राध्यापक, स्वनामधारी विज्ञदेखि व्यापारी र समाजसेवीसम्म। उनीहरूको उमेरसमूह पनि सबै तहको छ। यिनीहरू त्यस्ता ‘बौद्धिक ढाल’ हुन्, जसले लाजै नमानी नेताको हरेक पतनलाई ‘बाध्यता’ वा ‘परिस्थितिसँग जुध्ने चतुर चाल’ का रूपमा व्याख्या गरिदिन्छन्।
२३ र २४ भदौको विद्रोहको सबैभन्दा ठूलो चुनौती सतहमा देखिएका दलका केही नेता होइनन्। खास चुनौती त यी नेताहरूलाई जन्माउने, हुर्काउने, जतिसुकै बदमासी र अपराधमा पनि जोगाउने र उल्टै पुरस्कृत गर्ने ‘जिम्मेवारीविहीन राजनीतिक प्रणाली’ हो।
यस सन्दर्भमा युवा पुस्तालाई मिडिया साक्षरता झनै जरुरी छ। मिडियामा आइरहेका विषयवस्तु वा सन्देशलाई केलाउने, पर्गेल्ने, विश्लेषण गर्ने र बुझ्ने क्षमता नयाँ पुस्ताले तिर्खानुपर्छ। म्याद गुज्रिएका पात्रहरूलाई मुलुकले बिदा गर्न खोज्दा हाम्रा मिडियाले उनीहरू अझै सिंहासनमै भएको भान गराइरहेका छन्। आन्दोलनको मर्म, समाजको मनोविज्ञान र जनताको आक्रोशलाई विश्लेषण गर्नुको सट्टा मिडियाले तिनै प्रयोजन र उपादेयता सकिएका नेताहरूलाई ‘अब के होला’ भन्दै सोधेर उनीहरूको सान्दर्भिकता बलजफ्ती कायम गराउन खोजिरहेको छ। यो ‘पहुँच’ का लागि गरिएको पत्रकारिता हो, ‘सत्य’ का लागि होइन। मिडिया र ती पुराना नेताबीच आपसमा अन्योन्याश्रित सम्बन्ध छ; मिडियालाई ‘पहुँच’ र ‘सामग्री’ चाहियो, नेतालाई ‘मञ्च’ र ‘सान्दर्भिकता’ चाहियो। युवाहरूले यो ‘पहुँच’ र ‘सत्य’ बीचको भेद छुट्याउन सिक्नुपर्छ।
युवा पुस्ताले लिनुपर्ने अन्तिम शिक्षा हो— समस्याको जड चिन्नु। नेपालको राजनीति र देशको अवस्था नसुध्रिनुको जड हो, ३० वर्षयता, विशेषगरी २०५२ सालदेखि नियति बनेको त्रिशंकु संसद्। त्यो समयदेखि नै राजनीति नीति र विचारबाट खस्किएर अंकगणितमा सीमित भयो। जब राजनीतिमा संख्या मात्र महत्त्वपूर्ण हुन्छ, सिद्धान्त र निष्ठाको अवमूल्यन हुन्छ। यही ‘त्रिशंकु’ अवस्थाले नीतिलाई पाखा लगायो, सांसद किनबेच र भ्रष्ट ‘पजेरो संस्कृति’ लाई जन्म दियो। राजनीतिलाई यतिसम्म व्यक्तिमुखी बनाइयो कि राजनीति गर्नेहरूले आफूलाई भगवान् र वरपरका सारालाई ‘भक्त’ देख्न थाले।
हाम्रा राजनीतिकर्मीहरू महँगो-चम्किलो गाडीमा उही सानसहित पार्टी कार्यालय आउँछन्, केही कार्यकर्ताको घेरामा रहेर हिजोका उही त्यक्त कुरा दोहोर्याइरहेछन् निर्धक्क। उनीहरूले चढ्ने महँगो गाडी केवल सुविधा होइन, यो त राज्यको स्रोतको दोहन र आफू आम नागरिकभन्दा ‘माथि’ छु भन्ने सामन्ती दम्भको प्रतीक हो। नबिर्सौं, २०५२ सालदेखिको ‘पजेरो संस्कृति’ का प्रमुख स्रष्टाहरू उनै हुन्, र हिजोदेखि आजसम्म आफूबाट भएका गलत कृत्य र अक्षमताप्रति उनीहरूमा न आत्मालोचना छ, न पश्चात्ताप, न त ग्लानि। किनकि यस प्रणालीले पश्चात्ताप होइन, यस्तै व्यवहारलाई पुरस्कृत गर्छ। यस्ता पात्र कुनै एउटा दल र परिवेशमा मात्र सीमित छैनन्; हिजो सत्ताको रापतापमा बसेका सबै दल र परिवेशमा छन् र हैकम जमाइरहेछन्।
यस परिस्थितिलाई चिन्नु र यो परिणतिलाई जरैदेखि मिल्काउन सक्नु नयाँ चेतनाको एउटा सानो तर गहिरो संकेत हुनसक्छ। यसपटकको तिहारमा सहरका मूल सडकमा धेरै कम व्यापारिक र सरकारी भवनहरूमा झिलिमिली बत्ती बालिए। यदि यो अवस्था आन्दोलनको गहिरो बुझाइपछिको ‘देखावटी’ र ‘सतही’ समृद्धिप्रतिको वितृष्णा हो भने मुलुक चेतयुक्त सामाजिक प्रगतिको पथमा डोरिने आशा गर्न सकिन्छ।
अन्त्यमा, २३ र २४ भदौको विद्रोहको सबैभन्दा ठूलो चुनौती सतहमा देखिएका दलका केही नेता होइनन्। खास चुनौती त यी नेताहरूलाई जन्माउने, हुर्काउने, जतिसुकै बदमासी र अपराधमा पनि जोगाउने र उल्टै पुरस्कृत गर्ने ‘जिम्मेवारीविहीन राजनीतिक प्रणाली’ हो। यो एउटा यस्तो ‘इकोसिस्टम’ हो, जहाँ दण्डहीनता मौलाउँछ र जवाफदेहीको हत्या हुन्छ। यो प्रणालीमाथिको प्रहारबिना हरेक आन्दोलन अपूर्ण र त्यसका उपलब्धि शून्य रहनेछन्। युवा पुस्ताले लिनुपर्ने सबैभन्दा गहन शिक्षा यही हो।