काठमाडौँ
००:००:००
२३ कार्तिक २०८२, आईतवार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ का लागि निर्माण पक्षले बालकलाकारको अडिसन आह्वान गरेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी गरिरहेको जनाएको छ।

गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो। साथै फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो। जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ। पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो।

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका तीनजना केटा बालकलाकार, ६ देखि ७ वर्षकी एकजना केटी बालकलाकार र ११ देखि १२ वर्षका दुईजना केटा बालकलाकार आवश्यक छन्।

बालकलाकारहरूको रङ गहुँगोरो र उचाइ २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ। निर्माणपक्षले प्राप्त भिडियोबाट प्रारम्भिक छनोट भएकालाई फाइनल अडिसनका लागि सम्पर्क गर्ने जनाएको छ ।

चलचित्रको कथा विद्यार्थीमा देखिने सामाजिक दबाब, झुटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको संकेत गरिएको छ। निर्माता विनोद पौडेलले केही समयअघि सामाजिक सञ्जालमा लेखेका थिए, “सबैलाई नजिते, इज्जतै पाउँदैन रे। गन्तीमै आउँदैन रे। अरु सबै मूर्ख अरे एउटै विद्वान्, रोल नं. वान… रोल नं. वान… रोल नं. वान।”

यस अभिव्यक्तिले चलचित्रले प्रतिस्पर्धात्मक समाजका कारण बालमस्तिष्कमा पर्ने दबाबलाई गहिराइपूर्वक प्रस्तुत गर्ने सम्भावना देखाउँछ। चलचित्रमा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद र प्रशान्त शिवाकोटीको संगीत रहनेछ। निर्माणपक्षले कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्को चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ प्रदर्शनको तयारीमा छ।