काठमाडौँ
००:००:००
१ मंसिर २०८२, सोमबार

१७ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत निर्माण हुने किरियापुत्री भवनको आज (सोमबार) शिलान्यास गरेका छन्।

अवसरमा खापुङले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताए। आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उनको जोड छ।

प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुःखद निधन हुँदा आशौच बार्ने संस्कार (किरियापुत्री) का लागि काठमाडौँ महानगरपालिका ३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका नाममा रहेको जग्गामा भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीतिनिर्माण समितिको बैठकले निर्णय गरेको थियो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले भवन निर्माणको उद्देश्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो।