२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारू समुदायले समाचकेवा पर्व मनाएका छन्।

थारु महिला समाज उपत्यका समितिले पर्यटन बोर्डमा आयोजना गरेको ‘समाचकेवा पर्व २०८२’मा थारु समुदायका दिदीबिहनी भेला भए। थारु समुदायका दिदी-बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६२ सालदेखि काठमाडौंमा पनि मनाउने गरिएको थारु महिला समाज उपत्यका समितिकी अध्‍यक्ष सुशीला चौधरीले बताइन्।

“हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका छौं‚’ उनले भनिन्। उनले अहिले सरकारले दसैँ, तिहार र छठलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता गरेको गुनासो गरिन्।