काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। अमेरिकी सङ्घीय सरकारको बन्द (सटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन्। यद्यपि अधिकांश तालिका सामान्य रहे पनि यात्रु अझै पनि असहज अवस्थामा छन्।

सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ। यसका कारण एटलान्टा, डलास, डेनभर, सार्लोटलगायत देशका प्रमुख विमानस्थलमा लामो सुरक्षा लाइन र अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन्।

एफएएको आदेशअनुसार हाल करिब चार प्रतिशत उडानहरू कटौती गरिएका छन्। यसको दर आगामी सातामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रह्यो भने यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ।

यात्रुलाई सास्ती, पुनः बुकिङको हतारो
ह्युस्टनको जर्ज बुस इन्टरकन्टिनेन्टल विमानस्थलमा यात्रु बिहानैदेखि लाइनमा उभिन बाध्य भए। कतिपयले कुर्दा-कुर्दै कुर्सीमा सुत्नुपरेको अनुभव सुनाए। एटलान्टामा पुगेकी कारा बर्गेरोनले भनिन्, “लाइनहरू लगातार सर्दै थिए, यस्तो भिड मैले पहिले कहिल्यै देखेकी थिइनँ।”

केही यात्रुलाई भने अझ कठिनाइ भयो। कनेक्टिकटकी चिकित्सक करेन सोइकाको उडान न्युजर्सीको नेवार्कबाट रद्द भएपछि उनलाई न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल पुग्नुपर्ने अवस्था आयो। उनले उटाह जाने योजनाका लागि कार भाडामा लिन खोजिन् तर उपलब्ध भएन। अन्ततः उनले ‘क्रस-कन्ट्री ट्रक चलाएर जानुपर्ने’ बताइन्। भाडाका कार कम्पनीहरूले पनि एकतर्फी यात्राको माग तीव्र रूपमा बढेको जनाएका छन्।

एयरलाइन्सको प्रतिक्रिया र उडान कटौतीको अवस्था
उडान टङ्याकिङ वेबसाइट फ्लाइटअवेयर का अनुसार शुक्रबार मात्रै एक हजारभन्दा बढी उडान रद्द भएका थिए। यो बिहीबारको तुलनामा पाँच गुणा बढी हो। वासिंटनस्थित रेगन राष्ट्रिय विमानस्थल सबैभन्दा बढी प्रभावित रह्यो। यहाँ १८ प्रतिशत उडान अर्थात् करिब ८० भन्दा बढी रद्द गरिए।

डेल्टा एयरलाइन्सले शुक्रबार १७० उडान स्थगित गरेको बताएको छ भने अमेरिकन एयरलाइन्सले सोमबारसम्म दैनिक २२० उडान कटौती गर्ने योजना बनाएको छ। साउथवेस्ट एयरलाइन्सले पनि करिब १२० उडान रद्द गरेको छ। युनाइटेड र अमेरिकन दुवैले प्रभावित यात्रुलाई पुनः बुक गर्न प्रयास भइरहेको बताएका छन्।

राजनीतिक गतिरोध र दीर्घकालीन जोखिम
ट्रम्प प्रशासनले डेमोक्रेट सांसदहरूलाई सरकारी बन्द अन्त्य गर्न दबाब दिँदै गर्दा एफएएको आदेश आएको हो। नियन्त्रकहरूलाई महिनाभर तलब नदिइँदा उनीहरूमा आर्थिक र मानसिक दबाब बढेको एफएएको भनाइ छ। यातायातमन्त्री डफीले भने, “हामी ढिलाइ वा अवरोध देख्न चाहन्नौँ, तर जबसम्म सुरक्षा मापदण्ड सुधार हुँदैन, उडान कटौती आवश्यक छ।”

विश्लेषकहरूका अनुसार लामो समयसम्मको बन्दले अमेरिकी हवाई ढुवानी प्रणालीमा गम्भीर असर पार्न सक्छ। अमेरिकी हवाई मालसामानको करिब आधा हिस्सा यात्रु विमानमार्फत ढुवानी हुने भएकाले ढिलाइले आपूर्ति शृङ्खलामा पनि प्रभाव पार्नेछ।

एलिभेट एभियसन ग्रुपका प्रमुख ग्रेग राइफलले भने, “हवाई यातायात अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो। यो बन्दले व्यापारिक बैठकदेखि लिएर पर्यटकहरूको यात्रा, सबै क्षेत्रमा असर पार्नेछ।”

यात्रुलाई सल्लाह
सरकारको निर्देशनअनुसार ढिलाइ आफूहरूको नियन्त्रणभित्रको कारणले नभएसम्म एयरलाइन्सहरूले रद्द भएका उडानका टिकट फिर्ता गर्नुपर्छ तर खाना र आवास खर्च वहन गर्नुपर्ने छैन। यात्रा सल्लाहकार क्रिस्टिना श्लेगलले भनिन्‚ “आतङ्कित नहुनुहोस्, आफ्नो उडानको स्थिति निरन्तर जाँच गर्नुहोस् र वैकल्पिक मार्गको जानकारी तयार राख्नुहोस्।” यदि सरकारी बन्द छिटै अन्त्य भएन भने आगामी बिदाअघि हवाई यात्रा अझ अव्यवस्थित र महँगो बन्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।