मन्त्रिपरिषद् बैठक
काठमाडौँ। सरकारले विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा दानबहादुर कार्कीको नियुक्ति, मधेस प्रदेशमा नयाँ प्रदेश प्रमुखका रुपमा सुरेन्द्र लाभ कर्णको नियुक्ति तथा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्तलगायत विभिन्न सातवटा निर्णय गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकबारे जानकारी गराएका हुन्।
उनका अनुसार नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्कीलाई नियुक्त गरिएको छ। कार्की ३३औं प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका हुन्।
२७ कात्तिकमा अहिलेका आईजीपी चन्द्रकुबेर खापुङ अनिवार्य अवकाशमा जानुअघि सरकारले कार्कीलाई आईजीपी नियुक्त गरेको हो। आईजीपीमा नियुक्त कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। आईजीपी प्रतिस्पर्धामा एआईजीहरू राजन अधिकारी, मनोजकुमार केसी र सिद्धिविक्रम शाह थिए।
कार्की २०५४ सालमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन्। गुल्मीमा जन्मिएका उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए।
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेसको नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण
कार्की डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा कार्यरत थिए। एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका थिए। उनी इमानदार प्रहरी अधिकृतको छवि बनाएका अधिकृत हुन्।
यसैगरी सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। प्रदेश प्रमुखका रुपमा सरकारले सुरेन्द्र लाभ कर्णको नाम सिफारिस गरेको छ। साथै प्रदेश प्रमुखका रुपमा सरकारले लाभको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
यसैगरी सरकारले भू-उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने पनि निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए।
सरकारले २३ र २४ भदौको घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय पनि गरेको छ। साथै सरकारले २६ देखि २८ कात्तिकसम्म भारतको नयाँदिल्लीमा नेपाल-भारत को-अर्डिनेसन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति प्रदान गरेको छ।
साथै सरकारले १ देखि ७ फागुनसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णयसमेत गरेको प्रवक्ता खरेलले जानकारी दिए।
यस्ता छन् सरकारका सात निर्णय :
–नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।
–राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।
–भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।
–२०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।
–भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।
–२०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
–मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।