२४ कार्तिक २०८२
मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रीहरु पद तथा गोपनीयताको शपथ लिएपछि। फाइल तस्बिर : नेपालन्युज
अ+
अ-

जनकपुर। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिमै मुख्यमन्त्रीमा नियुक्त भएको दाबी गरेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै यादवले विगतका मुख्यमन्त्रीहरूले विश्वासको मत प्राप्त गर्न नसकेपछि उत्पन्न भएको राजनीतिक अन्योल हटाउन तथा संवैधानिक निकासका लागि आफू मुख्यमन्त्री नियुक्त भएको दाबी गरे।

नेकपा एमाले प्रदेशको ठूलो राजनीतिक दल भएको र सबैभन्दा बढी प्रदेशमा सांसद भएको उनको भनाइ छ। प्रदेशको संवैधानिक संकट समाधान गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री भएको उनको भनाइ थियो।

मुख्यमन्त्री यादवले भने, “मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवं तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरूलाई आग्रह गर्दछु।”

यादव मुख्यमन्त्री भएपछि मधेस प्रदेश भवनभित्र आज तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनका कारण मन्त्रालयहरूको अवस्था अस्तव्यस्त भएको थियो। साथै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीविरुद्ध नाराबाजीसमेत भएको थियो।