२४ कार्तिक २०८२
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ। छलफल गर्न मंगलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा भेला आयोजना हुन लागेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवाप्रवाह, कर्णाली प्रदेशले योजना छनोटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व संकलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ।

संविधानमा तीन तहका सरकारबीच सहकारिता, सह-अस्तित्व र समन्वयका आधारमा अघि बढनुपर्ने भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप समन्वयात्मक ढंगले अघि बढाउन प्रदेश सरकारले विषयगत छलफल तथा अन्तर्क्रियाको आयोजना गरेको सचिव विकले बताए। छलफलमा दुई तहका सरकारबीच देखिएका कतिपय सम्बन्ध तथा समस्या र समाधानका उपाय खोजिनेछन्।

दुईदिने भेलामा नगरप्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख सहभागी हुने सचिव विकले जानकारी दिए।