सीमा सुरक्षामा नयाँ समन्वय
ताप्लेजुङ। नेपालका ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यबीचको सीमा क्षेत्रमा संयुक्त अनुगमन‚ गस्ती तथा सीमा स्तम्भ मर्मत पूरा भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र भारतीय सुरक्षाकर्मी सम्मिलित टोलीले सीमा मर्मत तथा अनुगमनको काम गरेको हो।
टोलीले सिदिङवा गाउँपालिका १ र सिरिजंघा गाउँपालिका ८ अन्तर्गत पर्ने तिम्बुङपोखरी क्षेत्र र भारतको सिक्किम राज्यस्थित ग्याल्सिङ जिल्लाको लामपोखरी सीमाक्षेत्रमा स्थलगत अनुगमन गरेको थियो।
अनुगमनमा नेपालतर्फको सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त गस्ती गरी जीर्ण अवस्थामा रहेका सीमा स्तम्भको मर्मतसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए।
मर्मत तथा गस्ती कार्य सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा भएको हो। गस्ती टोलीले दशगजा क्षेत्रमा सरसफाइ पनि गरेको थियो।

सीमा सुरक्षा थप प्रभावकारी, संयोजित र विश्वसनीय बनाउन सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघा, ताप्लेजुङको समन्वयमा गरिएको संयुक्त अनुगमनमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखसमेत सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार सीमा सुरक्षासम्बन्धी यस्ता सहकार्य र संयुक्त क्रियाकलाप आगामी दिनमा पनि सञ्चालन गरिनेछ। उनले भने, “नेपाल-भारतबीचको सीमा सुरक्षामा आपसी समन्वय र पारदर्शिता कायम रहँदा दुवै देशबीचको आपसी विश्वास अझ सुदृढ हुन्छ।”
हेर्नुहोस् थप तस्बिर :
