काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ। यसअघि बबरमहलमा बहालको भवनबाट सेवा दिँदै आएको वडा आज (बुधबार) आफ्नै नवनिर्मित भवनमा सरेर सेवा आरम्भ गरेको हो।
नवनिर्मित भवनमा वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समिति संयोजक हीरालाल तण्डुकारले शिलालेख अनावरण गरे। त्यसअवसरमा उनले भने‚ “शारीरिक अवस्था कमजोर हुने, ह्विल चेयर प्रयोगकर्ता, दृष्टिविहीन सबै सेवाग्राही हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ। हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ।” उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी पनि दिए।

यस्तै वडा ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र वडा ९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समिति संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडावासीका लागि गर्वयोग्य काम भएको उल्लेख गरे। सेतो रङको भवनलाई बिम्बका रुपमा प्रयोग गर्दै भवनको रङजस्तै सेवा पनि थप पारदर्शी र जवाफदेही हुँदै जाने उनको भनाइ छ।
वडासचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र भने बबरमहलबाटै सञ्चालन हुनेछ।
