२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच एकता भएको छ।

पेरिसडाँडामा बुधबार दिउँसो दुई पार्टीबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै एकीकरण भएको हो। सहमतिसँगै भीम रावल पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

सहमतिपत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, रावलको जिम्मेवारीलगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने उल्लेख छ। यसैगरी राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सवल र जनतालाई समृद्ध तुल्याउनु पर्ने चुनौती रहेको पनि पत्रमा उल्लेख छ। यस्तै पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रमलगायत दस्ताबेज आपसमा मिलेर तयार गर्ने पनि सहमति पत्रमा उल्लेख छ।

हेर्नुहोस् सातबुँदे पत्र :
(१) नेपाल र नेपाली जनताको सर्वोपरि हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने।
(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक-सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने।
(३) आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपाल अन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरुलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने।
(४) नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमी जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।
(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने।
(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने।
(७) पार्टी एकीकरणको लागि विभिन्न तहमा आवश्यकता अनुसार कार्यदल गठन गर्ने।