शिक्षा
लेबोरेटरी विद्यालयको स्वामित्व विवादमा ढिलो गरी पलाएको त्रिविको बुद्धिमा ‘यदि र तर’ को विकल्प दिइनुहुन्न।
नेपालको आधुनिक उच्च शिक्षा थालनीको इतिहासमा लेबोरेटरी (ल्याब) माध्यमिक विद्यालय, कीर्तिपुर गौरव बनेर उदाएको थियो। तर, अहिले यही विद्यालय त्रिभुवन विश्वविद्यालयको १०८ रोपनी अनधिकृत कब्जा गरी भोगाधिकार कायम गर्न खोजिरहेको देवानी कसुर आरोपित विद्यालयका रूपमा बदनाम हुन पुगेको छ। जग्गाधनी त्रिवि विद्यालयप्रतिको आफ्नो दायित्व बिर्सेर कानुनको बलमा विद्यालयका भवनहरूसहित जग्गा फिर्ता गर्ने दाउमा देखिन्छ। विद्यालयलाई यस अवस्थामा पुर्याउनेहरू अझै जीवितै छन्, तर उनीहरूले स्वयंको कर्तुत ओकल्ने कुरा भएन, जानेबुझेका अधिकांश मौन छन्।
सरकारको अस्थिर नीति, सत्ताधारीहरूको निजी लाभलोलुप र अदुरदर्शी नीति-नियमको तर्जुमाले सबैतिर भाँडभैलो भएको कुरो भनिरहनु परेन, जेन-जी आन्दोलनको प्रमुख मुद्दा नै त्यही हो। जेन-जी आन्दोलनको लगत्तैजसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २६ असोजमा सार्वजनिक गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१’ को प्रतिवेदनले लेबोरेटरी विद्यालय र विश्वविद्यालयको कानुनी लफडा छर्लंग पारेको छ। अनि त्रिविको पाँच हजार २१८ रोपनी जग्गामध्ये झन्डै आधा दुई हजार ५३९ रोपनी जग्गा अतिक्रमणमा परेको कुरा सञ्चारहरूबाट प्रचारमा आएको छ, जसमध्ये १०८-१४-२-३ जग्गा लेबोरेटरी विद्यालयले भोगचलन गरिरहेको प्रतिवेदनले देखाएको छ।
डेमोन्स्ट्रेसन (पछि लेबोरेटरी) विद्यालय कलेजसँगै चेतभवनको मूल कम्पाउन्डभित्र अनेक पर्खालले घेरिएका खण्ड खण्ड चौर, बारी, चोकहरूमा फैलिएको थियो।
देशमा भइरहेको भाँडभैलोमा ‘छक्कमाथि तीनछक्क’ पार्ने थप एउटा विषय थपिएको छ। त्रिवि र विद्यालयबीच कानुनी झमेला कसरी सुरु भयो र यसको समाधानबारे कुरा गर्नु पहिले यो विद्यालयका सुनौला सुरुआती दिनको स्मरण गर्न चाहन्छु।
र्याडिसनको त्यो लेबोरेटरी
प्रजातन्त्र प्राप्तिलगत्तै सन् १९५४ मा नेपाल सरकार, संयुक्त राज्य अमेरिकाको ‘यूएसएड’ र अमेरिकाकै ओरगोन विश्वविद्यालयबीच शिक्षक शिक्षण (शिक्षक बन्न चाहनेलाई शिक्षाशास्त्र वा शिक्षणकला सिकाउने काम)का लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने सम्झौता भएअनुसार ‘कलेज अफ एजुकेसन’ स्थापना गरिएको थियो। राष्ट्रिय शिक्षा योजना आयोगको सिफारिसमा सन् १९५६ मा खोलिएको यो कलेजकै जुम्ल्याहा भाइ थियो, ‘डेमोन्स्ट्रेसन विद्यालय’। पढाउने अभ्यासका लागि खोलिएको यही विद्यालय केही पछि ‘लेबोरेटरी विद्यालय’ मा बदलियो।

२०२४ सालसम्म अहिले होटल र्याडिसन रहेको जग्गामा बनेको चेतभवनबाट सञ्चालित थियो लेबोरेटरी स्कुल र कलेज अफ एजुकेसन। तस्बिर : बिक्रम राई
यी कलेज र विद्यालय एकसाथ काठमाडौँको लाजिम्पाटमा हाल ‘होटल र्याडिसन’ ठडिएकै भूमिमा रहेको राणाकालीन ‘चेतभवन’ (चेतकशमशेरको) दरबार र त्यसको ठूलो कम्पाउन्डभित्र थियो। कलेजमा शिक्षाशास्त्रप्रति आकर्षण बढाउन विद्यार्थीलाई अध्ययन भत्ता (स्टाइपेन) पनि दिइन्थ्यो।
यसरी यो कलेज र विद्यालयको स्थापना सन् १९५९ (विसं २०१६)मा त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै भइसकेको थियो। यो कुरा माथि उल्लिखित प्रतिवेदनले पनि सकारेको छ। प्रतिवेदनको पृ. २० ले कलेज अफ एजुकेसनबारे वैशाख २०१५ को नवीन शिक्षा मासिकको हवाला दिँदै भनेको छ, ‘… नेपालमा विश्वविद्यालय स्थापना भई कार्यक्रम सञ्चालन नहुँदा सम्मका लागि ब्याचलर अफ एजुकेसन डिग्री प्रदान गर्नका लागि अधिकृत (आधिकारिक संस्था) मानिएको देखिन्छ।’ यो कलेज शिक्षा सचिवालय (हाल मन्त्रालय) अन्तर्गत सञ्चालन गर्ने गरी देशमा विद्यालयीय पढाइको स्तरीय विकासको उद्देश्यले स्थापना भएको थियो जुन नेपालका लागि नौलो सोचको थियो।
डेमोन्स्ट्रेसन (पछि लेबोरेटरी) विद्यालय कलेजसँगै चेतभवनको मूल कम्पाउन्डभित्र अनेक पर्खालले घेरिएका खण्ड खण्ड चौर, बारी, चोकहरूमा फैलिएको थियो। शिक्षासम्बन्धी अरू पनि काम गर्न सरकारले चेतभवन बहाल वा लिजमा लिएको देखिन्छ।
डेमोन्स्ट्रेसन विद्यालय कसरी कलेज अफ एजुकेसनको अंग थियो भन्ने बुझाउन विसं २०१८-२०२२ को मेरै स्मरण सुनाउँछु। चेतभवनको उत्तरी खण्ड रोमन अक्षरको एल आकारमा थोरै चुच्चो आँगनको कुँडुले चक्रेटोतिर निक्लेको थियो। त्यसै लङको भुइँतलामा हल थियो जुन वृत्तचित्र देखाउन र अरू प्रयोजनमा प्रयोग हुन्थ्यो।
एक दिन हामीलाई दैनिक पढ्ने कक्षाकोठाबाट त्यही हलमा लगियो। अरू विद्यालय-कलेजमा जस्तो त्यहाँ लामा बेन्ची थिएनन्। प्रत्येक विद्यार्थीलाई बोकेर लैजान मिल्ने छुट्टाछुट्टै दायाँतिर लेख्न फलेक ठोकिएको मेच थियो। हलको अगाडि भागमा हामी कक्षा ८ का विद्यार्थी बसेका थियौँ र पछाडि कलेजका दाइ विद्यार्थीहरू। शिक्षक वेदीमा थिइन् चन्द्रकला किरण जो पछि शिक्षासचिवसमेत भइन्, नेपालकी प्रथम महिला सचिव। त्योबेला उनी नै कलेजकी प्राचार्य थिइन्।
लेबोरेटरी विद्यालयका आफ्नै पहेँला रङका तीनवटा बस थिए जसले काठमाडौँको हालको रिङरोड सेरोफेरोभित्र विद्यार्थीहरूलाई ओसार्थ्यो।
उनै चन्द्रकलाले कक्षा ८ को पाठ्यक्रमको कुनै एक पाठ कसरी पढाउने भन्ने विषयमा कलेजका विद्यार्थीका लागि डेमोन्स्ट्रेसन क्लास लिएकी थिइन्। कलेजका विद्यार्थी केवल पर्यवेक्षक थिए, तत्क्षण प्रश्न गर्न पाउँदैनथे। हामी विद्यार्थीहरूले चाहिँ शिक्षकसित सवालजवाफ गर्न पाउँथ्यौँ। त्यही कक्षामा मेरो प्रश्नको उत्तरमा गुरुआमा चन्द्रकलाले अगाडि टेबलमा फिँजाइराखेका शैक्षिक सामग्रीबाट टिपेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन किताब उठाएर देखाएको म सम्झन्छु, मुनामदनको त्यो मेरो पहिलो दर्शन थियो।
कहिलेकाहीँ हाम्रो सानो कक्षाकोठामा शिक्षक वेदीमा हुन्थे, कलेजका कुनै दाइ विद्यार्थी र पुछारको लहरमा हुन्थे, कलेजका केही प्राध्यापक, दाइ विद्यार्थीको पाठनकलाको मूल्यांकन गर्न चुपचाप बसेका। कहिलेकाहीँ कलेजका अन्तिम वर्षका विद्यार्थीमध्ये केहीले अभ्यास शिक्षण (प्राक्टिस टिचिङ) पनि गर्थे। तर, सधैँ यस्ता क्रियाकलाप हुँदैनथे। विद्यालयको नियमित पाठन विद्यालयकै अर्थात् शिक्षा विभागका दरबन्दीका शिक्षकहरूबाट हुन्थ्यो, बरु कुनै विषय, सम्भवतः विद्यालयको आवश्यकतामा कलेजका प्राध्यापकहरूले पढाउँथे। राजेन्द्रकुमार रंगोङ हामीलाई अंग्रेजी पढाउँथे, जो पछि त्रिविको पाठ्यक्रम विकास केन्द्रका प्रमुख (१९७५-१९९०) भए। उनले केही समय लेबोरेटरी विद्यालयका प्रधानाध्यापकका रूपमा पनि बिताए।

कलेज अफ एजुकेसनको गेट र भवन
दरबारको आधा भुइँतलामा लेबोरेटरी विद्यालय थियो, आधाजसोमा दृष्टि कमजोरहरूका लागि ब्रेल लिपिमा पढाइने विद्यालय र प्राथमिक तहका शिक्षक उत्पादनका लागि ‘नर्मल टिचर ट्रेनिङ’ कार्यक्रम सञ्चालित थियो। कलेज अफ एजुकेसन चाहिँ भवनको पहिलो र दोस्रो तलामा थियो। लेबोरेटरी विद्यालयका आफ्नै पहेँला रङका तीनवटा बस थिए जसले काठमाडौँको हालको रिङरोड सेरोफेरोभित्र विद्यार्थीहरूलाई ओसार्थ्यो। विद्यार्थीका लागि दिउँसो खाजा विद्यालयमै पाक्थ्यो। हरेक कक्षाका विद्यार्थीलाई हरेक वर्ष केहीपटक उपत्यकाभित्रका विभिन्न ठाउँमा ‘फिल्डट्रिप’ लगिन्थ्यो, त्योबेला भने खाजा घरैबाट लानुपर्थ्यो।
कलेजको ठूलो पुस्तकालय थियो, जुन विद्यालयका विद्यार्थीका लागि पनि खुला थियो। विद्यालयमा विद्यालयकै विद्यार्थीहरूले सञ्चालन गर्ने अर्को सानो पुस्तकालय पनि थियो।
विद्यालय र कलेजका धेरै कुरा साझा थिए। मंकीजम्प र पिङजस्ता खेल मात्र होइन, पर्खालले घेरिएको फुटबल ग्राउन्ड पनि थियो। लाजिम्पाटको मूल सडकमै ठूलो गेट थियो, कलेज अफ एजुकेसन लेखिएको। त्यो ठाउँ अहिले होटल र्याडिसन छिर्ने छेडोको मुख बनेको छ। गेटबाट छिर्नेबित्तिकै बायाँ बास्केटबल ग्राउन्ड र त्यसपछि सवारीसाधनका लागि पार्किङ थियो। साइकल अड्याउने स्ट्यान्डसहितको टहरो पनि थियो।
त्यसपछि दोस्रो पर्खाल सुरु हुन्थ्यो, जहाँभित्र बाटोको बायाँ शिक्षा विभागको छापाखाना थियो जुन अहिले जनक शिक्षा सामग्री केन्द्र बनेको छ। त्यहाँ छापिन्थ्यो, नेपालीको पहिलो बालसाहित्यको पत्रिका ‘कोपिला’ (कान्तिपुर दैनिकको परिशिष्टांक होइन)। छापाखानाको ठिक अगाडि, बाटोको दायाँपट्टि सानो फुटबल ग्राउन्ड थियो। अझ अगाडि दायाँ डिस्पेन्सरी थियो जहाँ हामी केटाकेटी कहिलेकाहीँ पेट दुखेको बहानामा जान्थ्यौँ र कम्पाउन्डरले हाम्रो छल कुरा बुझेर मुख आँ गर्न लगाई रातो गुलियो झोल ‘कार्मिनेटिभमिक्स्चर’ एकाध औँस चखाइदिन्थे, हामी मक्ख पर्थ्यौं। त्यहीँ हामीलाई हरेक वर्ष हैजालगायत अन्य रोगविरुद्धको टीएबीसी खोप लगाइन्थ्यो। डिस्पेन्सरीपछि सुरु हुन्थ्यो तेस्रो पर्खाल जहाँभित्र बगैँचे आँगनपछि ठडिएको थियो, रातो चेतभवन दरबार।
लेबोरेटरी विद्यालयमा निर्धारित पाठ्यक्रम अतिरिक्त व्यावसायिक विषय पनि पढ्नुपर्थ्यो, जुन अवधारणा अन्य विद्यालयमा फैलिइसकेको थिएन। जसमा चित्रकला, संगीत, कृषि र सिकर्मी आदि विषय समावेश थिए। कलेजका विद्यार्थीका लागि यो व्यावसायिक भए पनि विद्यालयको विद्यार्थीका हकमा त्यसलाई सोखको विषय भनिन्थ्यो र सो विषयमा प्रारम्भिक ज्ञान दिइन्थ्यो। सिकर्मीको सिकाइ सानो चोकमा हुन्थ्यो जहाँका भित्तामा ‘लर्न टु डु बाई डुइङ’ नारा ठाउँ ठाउँमा टाँसिएका थिए।

कलेज अफ एजुकेसनको विद्यार्थी ओसार्ने गाडी र परेड गरिरहेका विद्यार्थी
कलेजको ठूलो पुस्तकालय थियो, जुन विद्यालयका विद्यार्थीका लागि पनि खुला थियो। विद्यालयमा विद्यालयकै विद्यार्थीहरूले सञ्चालन गर्ने अर्को सानो पुस्तकालय पनि थियो। हलमा बेलाबेला शिक्षाप्रद फिल्म वा वृत्तचित्र देखाइन्थ्यो। त्यहीँ मैले पहिलोपटक खाडले चर्पी (पिट ल्याट्रिन) कसरी बनाउने भन्ने कार्टुन फिल्म हेरेको थिएँ। यी धेरैजसो गतिविधि कलेजका लागि थिए, सौभाग्यले विद्यालयका विद्यार्थी पनि सहभागी हुन पाएका।
अनि सर्यो कीर्तिपुर
विसं २००७ को जनक्रान्तिलगत्तै आरम्भ गरिएको यो शैक्षिक गतिविधि २०१९ सालमा लागु भएको पञ्चायत व्यवस्थाको आरम्भिक चरणमा पनि यथावत् थियो, लेबोरेटरी विद्यालयका लागि त स्वर्णकाल नै थियो। सरकारले त्रिविका लागि भनेर २०१३ सालमा कीर्तिपुरको जग्गाको अधिग्रहण प्रक्रिया थालेर जग्गा हस्तान्तरण गरिसकेपछि आफ्नै भौतिक संरचना नभएको कलेज अफ एजुकेसन र लेबोरेटरी विद्यालयका लागि कीर्तिपुरको जग्गामा यूएसएडकै सहयोगमा कलेज र विद्यालयका लागि छुट्टाछुट्टै ठाउँमा तर उही डिजाइनका भवनहरू बनाइयो। त्यसपछि २०२४ सालमा विधिवत् रूपमा कलेज र विद्यालयलाई लाजिम्पाटबाट कीर्तिपुर सारियो। यसरी अब कलेज र विद्यालय करिब एक-डेढ किलोमिटरको फरकमा स्थापित भए, विद्यालयले कलेजको गतिविधि र सान्निध्यको अवसर गुमायो।
सबै झमेला त्रिविबाट विद्यालयको व्यवस्थापन गुमेपछिका हुन्, अन्यथा विद्यालयलगायत सबै कुरा त्रिविकै हो।
त्रिविको जग्गामा भवन भए पनि कलेज र विद्यालयको सञ्चालन भने सरकारबाटै भइरहेको थियो। २०२८ सालमा ‘राष्ट्रिय शिक्षा पद्धति योजना’ (चलनचल्तीको भाषामा ‘नयाँ शिक्षा योजना’) लागु भएपछि २०२९ सालमा लेबोरेटरी विद्यालयसहित कलेज अफ एजुकेसनलाई त्रिविमा गाभियो भने त्यहाँका शिक्षक-कर्मचारीलाई सरकारी सेवामै फर्कने वा त्रिवि सेवामा रहने विकल्प दिइयो। त्यसपछि चन्द्रकला किरण सरकारी सेवामा फर्किन् भने राजेन्द्रकुमार रंगोङ त्रिविमा गए।

लेबोरेटरी स्कुल परिसर। तस्बिर : बिक्रम राई
साउन २०२९ देखि कलेज अफ एजुकेसन त्रिविको शिक्षाशास्त्र संकायको केन्द्रीय क्याम्पसका रूपमा पुरानो नाम गुमाएर पनि कीर्तिपुरमै रह्यो, तर लेबोरेटरी विद्यालय शिक्षा संकायमा गाभिएन। यसको सञ्चालनका लागि त्रिविकै प्राध्यापकहरूको अध्यक्षतामा व्यवस्थापन समिति बन्यो र केही समय अभ्यास शिक्षण सञ्चालन पनि गरियो। त्यसपछि यो विद्यालय कुनै कारणवश २०३४ सालअघि नै सरकारको तजबिजमा फर्किसकेको र जग्गा विवाद सुरु भइसकेको देखिन्छ (उपर्युल्लिखित प्रतिवेदन, पृ. २२ र ३२)।
२०५७ सालमा शिक्षा मन्त्रालयले यो विद्यालयको व्यवस्थापन गैरसरकारी संस्थालाई हस्तान्तरण गरेको देखिन्छ। करारको अवधिभित्रै (नसकिँदै) सरकारको स्वामित्व रहेको भन्दै विद्यालयलाई सार्वजनिक शैक्षिक गुठीमा परिणत गरेको देखिन्छ। हाल गुठीबाटै विद्यालय सञ्चालित छ। करारको मिति सकिएपछि सरकारले लिएको नीतिबारे सरकार चुप छ। विद्यालयले त्रिविलाई जग्गा फिर्ता गर्न मानेको छैन (प्रतिवेदन पृ. २३, २५, २७)।
समाधान के त?
‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति, २०८१’ ले विद्यालयले त्रिविलाई जग्गा फिर्ता गर्नुपर्छ भन्ने ध्येय राख्नु विषयसंगत कुरा हो। साथै, प्रतिवेदनले २०३४ सालसम्म सरकारीस्तरमा सञ्चालित विद्यालय हाल निजी स्रोतबाट सञ्चालित हुने गरी विभिन्न समयमा भएका नियम-कानुन विपरीतका निर्णयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीआईबीलाई अनुसन्धान गर्न लगाई त्यस्ता निर्णय गर्नेउपर कारबाही गर्नुपर्ने सुझाव पनि दिएको छ।
सरकारले जसरी आफ्नै अस्पताल नभईकन चिकित्साशास्त्र पढाउने कलेज बनाउने अनुमति दिँदैन, त्यसरी नै शिक्षाशास्त्र महाविद्यालय (कलेज)सित पनि ‘शिक्षक शिक्षण विद्यालय’ अनिवार्य हुनुपर्ने बाध्यात्मक नियम बनाउनुपर्छ।
यी सबै झमेला त्रिविबाट विद्यालयको व्यवस्थापन गुमेपछिका हुन्, अन्यथा विद्यालयलगायत सबै कुरा त्रिविकै हो। यदि २०२९-३४ बीचमा त्रिविले विद्यालय चलाउने काम विश्वविद्यालयको होइन भनेर विद्यालय सरकारलाई फर्काएको भए व्यावहारिक रूपमा विद्यालयसँगै उसले भवन र जग्गा पनि दिनुपर्ने देखिन्छ, किनभने विश्वविद्यालय आफूले पनि त्यसरी नै अरू सबै कलेजका घरजग्गा प्राप्त गरेको हो। तर, सरकारले जबरजस्ती विद्यालयको व्यवस्थापन पक्ष आफूले लिएको हो भने त्रिविले घरजग्गा दिनु आवश्यक छैन र सरकारले पनि विद्यालय व्यवस्थापन पक्षबारे जेसुकै निर्णयहरू गरे पनि घरजग्गाबारे कुनै निर्णय गर्ने अधिकार ऊसित रहँदैन। यो कानुनी लफडामा त्रिवि निकै लामो समयदेखि फसेको देखिन्छ।

लेबोरेटरी स्कुल। तस्बिर : बिक्रम राई
तर, अहिले आएर त्रिविको बुद्धिरूपी घैँटोमा घाम लागेको देखिन्छ। त्रिविले लेबोरेटरी विद्यालय र सम्बन्धित व्यक्तिहरूसित विद्यालयलाई विश्वविद्यालयले सञ्चालन गर्ने प्रस्ताव राखेको र ‘विश्वविद्यालयको विद्यालयको रूपमा सञ्चालन नगर्ने भए’ विद्यालय अन्यत्रै लगेर सञ्चालन गर्न भनेको समाचार प्रकाशित भएको छ (गोरखापत्र, १७ कात्तिक २०८२, पृ. २)। यो प्रस्ताव उपयुक्त हो, तर ‘… सञ्चालन नगर्ने भए…’ भन्ने विकल्प चाहिँ औचित्यहीन हो, किनभने इतिहासले यो विद्यालय त्रिविको अंग हुनैपर्ने कुरा स्पष्ट देखाउँछ।
त्यसैले त्रिविले यो विद्यालय आफू मातहतमा फर्काउन विद्यालय व्यवस्थापनसित मात्र होइन, सरकारसँगै कसिएर वार्ता गर्नुपर्छ। बरु सरकारले जसरी आफ्नै अस्पताल नभईकन चिकित्साशास्त्र पढाउने कलेज बनाउने अनुमति दिँदैन, त्यसरी नै शिक्षाशास्त्र महाविद्यालय (कलेज)सित पनि ‘शिक्षक शिक्षण विद्यालय’ अनिवार्य हुनुपर्ने बाध्यात्मक नियम बनाउनुपर्छ। कीर्तिपुर हातामा रहेको शिक्षा संकायको क्याम्पस पनि लेबोरेटरी विद्यालयभन्दा डेढ किलोमिटर टाढा होइन, विद्यालयले चर्चेको १०८ रोपनीभित्रै हुनुपर्छ।