शैली
सेलिब्रेटी र सामाजिक सञ्जालको प्रभावले कस्मेटिक उपचारमा युवा आकर्षण
चार वर्षअघि २४ वर्षीया आस्था राई (नाम परिवर्तन) आफ्नो चिउँडो अस्वाभाविक बाहिर निस्किएको र यसकै कारण बिहे नहुने हो कि भन्ने चिन्तामा थिइन्। अनुहारको बनोटकै कारण आत्मविश्वास खस्किएपछि उनले कस्मेटिक सर्जरी गराउने निर्णय गरिन्।
आस्थाको शल्यक्रिया गर्ने डाक्टर थिए, वीर अस्पतालका अर्थोडन्टिस्ट मनीष वज्राचार्य। उनको चिउँडोको भाग धेरै बाहिर निस्किएकाले दाँत, चिउँडोलगायत पूरा अनुहारकै संरचनाको सर्जरी गर्नुपरेको डा. वज्राचार्य बताउँछन्। “सर्जरीपछि उहाँको आत्मविश्वास बढ्यो र बिहे पनि भयो। बच्चा जन्मेपछि उहाँ मलाई भेट्नसमेत आउनुभयो,” उनी भन्छन्।
आस्थाले उपचारका क्रममा डा. वज्राचार्यलाई एक कोरियन अभिनेत्रीको तस्बिर देखाएर आफूलाई त्यस्तै बनाइदिन भनेकी थिइन्।
आस्थाजस्तै निरोज कार्की (नाम परिवर्तन) पनि कोरियाली सेलिब्रेटीबाट प्रभावित हुनेमा पर्छन्। उनले आफू १९ वर्षको छँदा कोरियाली ड्रामाबाट प्रभावित भएर आँखाबाट आँसुको थोपा झरेको टाटु बनाएका थिए। ३० वर्ष पुग्ने बेला जब उनले आफ्नो बिहेका बारेमा सोचे, उनलाई टाटु बनाएकामा पछुतो भयो।
यो समस्या लिएर उनी काठमाडौँ मेडिकल कलेज, सिनामंगलकी डर्माटोलोजिस्ट डा. एलिज अर्यालकहाँ पुगे। डा. अर्यालले कस्मेटिक उपचार विधिमार्फत निरोजको टाटु हटाइदिइन्।
आस्था र निरोजजस्ता धेरै युवा के-पप स्टार र कलाकारहरूबाट प्रभावित छन्। युवकहरूलाई बीटीएसका सदस्यजस्तै देखिनु छ, युवतीहरूलाई ब्ल्याकपिंककी सदस्यजस्तै। मनोरञ्जन बजारको प्रभावमा सुन्दरता परिभाषित गर्ने उनीहरू सामाजिक सञ्जालमा चलेको ‘ट्रेन्ड’ का कारण पनि अनुहारको निश्चित नापनक्सा बनाउने थप दबाब र रहरमा परिरहेका छन्। यस्ता रहरलाई कस्मेटिक सर्जरी र कस्मेटिक करेक्सन (सर्जरीबिनै गरिने उपचार) विधिले पूरा गरिदिएको छ। जसले सर्जरी गरेर वा सर्जरीविना पनि आँखीभौँ, नाक, ओठ, दाँत, चिउँडो, कानदेखि शरीरका अन्य कुनै भागको परिमार्जन गरेर आफूले चाहेजस्तो बनाउने सुविधा दिएको छ।
कस्मेटिक उपचार विधिले कोठी, मुसादेखि डन्डीफोरको दाग हटाउन सकिन्छ। च्यातिएको कानको लोती मिलाउन र गालाका खोबिल्टा पुर्न मिल्छ। डा. वज्राचार्य र डा. अर्यालको भनाइमा यी सुविधाले मनोवैज्ञानिक रूपमा व्यक्तिलाई आफू ‘सुन्दर’ भएको महसुस गराउँदै आत्मविश्वास बढाइरहेको छ। यही कारण कस्मेटिक करेक्सनमा युवा पुस्तादेखि विभिन्न उमेरसमूहका मानिसहरू आकर्षित भइरहेको उनीहरूको बुझाइ छ।

सर्जरीअघि र पछिको तस्बिर
नेपालमा छाला कसिलो बनाउने, आँखावरिपरिको चाउरीपन र कालोपन हटाउने, विभिन्न भाग पुर्ने वा मासु थप्ने, आकर्षण थप्नेजस्ता काम सामान्य कस्मेटिक करेक्सनबाटै हुन्छन्। आँखावरिपरि बाहेक छाला वा बोसो हटाउन, ओठको आकार स्थायी रूपमा बदल्न, नाक, दाँत र चिउँडोको हड्डीको आकार मिलाउनेजस्ता उपचार गर्न भने सर्जरी नै गर्नुपर्ने हुन्छ।
छाला, कपाल र नङसम्बन्धी उपचारका लागि डर्माटोलोजी, नाकको आकार र टुप्पो मिलाउन राइनोलोजी, आँखाका लागि ब्लेफारोप्लास्टी तथा मुख, दाँत, अनुहारका हड्डी र मांसपेशीका लागि म्याक्सिलोफेसियल उपचार पद्धति अभ्यासमा छन्।
कस्मेटिक करेक्सन र सर्जरी गर्ने चिकित्सकहरूका अनुसार यी सेवा खासगरी १५ देखि ५० वर्ष आसपासका व्यक्तिहरूले लिने गरेका छन्। अनुहारको रौँ हटाउन, ओठमाथिको रौँ निकाल्न, आँखीभौँ भर्न वा मिलाउन, चाउरिएको वा झोल्लिएको छाला तन्काउन र अनुहारको चमक बढाउन क्लिनिक वा अस्पताल धाउनेहरू धेरै छन्। यसका लागि बोटक्स, फिलर्स, पिलिङ, पीआरएफजस्ता सेवा नेपालमा प्रचलनमा रहेको डा. अर्याल बताउँछिन्। भन्छिन्, “१० वर्षअघिसम्म बोटक्सका लागि नेपालीहरू बैंकक वा मुम्बई जान्थे। अहिले यहीँ विदेशभन्दा सस्तो र राम्रो उपचार हुन्छ।”
उनका अनुसार सामाजिक सञ्जालको प्रभावले ग्लास फेस, बेबी फेसजस्ता ट्रेन्ड पछ्याउँदै आउनेहरूमा युवा समूह (१५ देखि २५ वर्षभित्रका) धेरै छन्। यसका साथै, विभिन्न समस्या लिएर २५ वर्षमाथिका पनि आउँछन् र उमेरजन्य समस्या बोकेर ४० वर्ष आसपासका बढी आउँछन्।
सस्तो र सुलभ भएपछि बोटक्स र फिलर्स अहिले मध्यम वर्ग र निम्न मध्यम वर्गका मानिसको पहुँचमा आएको छ। कलाकार, सञ्चारकर्मी, सोसल मिडिया इन्फ्लुएन्सरदेखि राजपरिवारका सदस्यहरूसम्मले बोटक्स र फिलर्स गर्ने देखिएको छ।

कस्मेटिक्स सर्जरीको एआईसिर्जित तस्बिर
नेपालमै गुणस्तरीय र सस्तो दरमा कस्मेटिक उपचार सेवा उपलब्ध हुँदा सेवाग्राहीहरू बढेको डा. वज्राचार्य बताउँछन्। भन्छन्, “वीर अस्पतालमा सस्तोमा राम्रो उपचार हुने भएकाले कस्मेटिक सेवाकै लागि विदेशी नागरिकसमेत आउन थालेका छन्। यस वर्ष दुई जना कोरियाली, एक जना अमेरिकी र एक जना हङकङका नागरिक उपचारका लागि आए।”
सस्तो र छिटो सेवा पाइने भएकाले विदेश बस्ने नेपालीहरू पनि यहाँ आएको बेला कस्मेटिक सेवा पाइने क्लिनिक र अस्पताल पुगिहाल्ने डा. अर्याल बताउँछिन्। “विदेशबाट आउने नेपालीमा पनि बोटक्स र फिलर्स लोकप्रिय छ। धेरै जना ऐश्वर्या राय, माधुरी दीक्षित, गौरी खानको रेफरेन्स लिएर आउँछन्, र बेबी फेस बनाउनुपर्यो भन्छन्। ती हिरोइनहरूको चम्किलो अनुहार पनि बोटक्स र फिलर्सकै कमाल हो।”
सामाजिक सञ्जालको दबाब
जन्मजात वा दुर्घटनाका कारणबाहेक सुन्दर देखिन लिइने कस्मेटिक सेवाहरू स्वैच्छिक हुन्छन्। यस्ता स्वैच्छिक कस्मेटिक उपचारको कुनै सीमा हुँदैन। जसले मानिसमा आफ्नो अनुहार र विभिन्न अंगको नापनक्साबारे असन्तुष्टि बढाइरहेको डा. वज्राचार्यको मूल्यांकन छ। “सौन्दर्यको परिभाषा र मानक व्यक्तिको दृष्टिकोणमा भर पर्छ। कसैलाई दाँतको ग्याप धेरै हुँदा पनि चल्छ, कसैलाई थोरै मात्र ग्याप भयो भने पनि उपचार गर्नैपर्ने हुन्छ,” उनी भन्छन्, “कहिलेकाहीँ केही समस्या नभएका सेवाग्राही पनि मेरो अनुहारको एक पाटो अलि बांगो छ मिलाइदिनुपर्यो भन्दै आउँछन्। त्यस्ता सेवाग्राहीलाई हामी मनोवैज्ञानिक परामर्श दिएर बुझाउने प्रयास गर्छौं।”
कतिपय सेवाग्राहीले दोहोर्याई-तेहर्याई कस्मेटिक करेक्सन गरे पनि सन्तुष्ट नहुने नेपाल मेडिकल कलेजकी नाक-कान-घाँटी विज्ञ डा. इंकु श्रेष्ठ बताउँछिन्। “एक पुरुषले नाकको आकार मिलाउन राइनोप्लास्टी गर्नुभयो। पहिलोपटकको उपचारमा चित्त नबुझेर दोस्रोपटक गर्न लगाउनुभयो। फेरि तेस्रोपटक पनि आउनुभयो,” उनी भन्छिन्, “त्यसबेला हामीले उहाँको उपचार गरेनौँ, मनोवैज्ञानिक परामर्श दिएर पठायौँ।”
कस्मेटिक सेवा दिने चिकित्सकहरू टिकटक, इन्स्टाग्राम, रिल्स र स्न्यापच्याटका ब्युटी फिल्टरहरूले मानिसहरूमा आफ्नो अनुहार र शरीरप्रति असन्तुष्टि बढाउने काम गरेको र प्राकृतिक सौन्दर्यभन्दा कृत्रिम सौन्दर्यप्रतिको चाहना बढिरहेको बताउँछन्। सामाजिक सञ्जालमा राम्रो देखिन अनुहारको ढाँचा र आकार परिमार्जन गर्नुपर्ने दबाब र रहर पनि बढेको छ। विभिन्न एपमा उपलब्ध ब्युटी फिचर र फिल्टरले भिडिओमा सुन्दर देखिने चिन्ता क्षणिकरूपमा समाधान गरिदिने हो। सामाजिक सञ्जालको ‘फिल्टर संस्कृति’ ले कृत्रिम रूपरङ र आफूबीचको दूरी बढाउँदै कस्मेटिक सुधारप्रतिको चाहना तीव्र बनाउँछ। डा. श्रेष्ठ भन्छिन्, “सोसल मिडियामध्ये टिकटकले धेरैलाई प्रभावित गरेको महसुस गरेकी छु, खास गरी टिनएजर केटीहरूमा। केटाहरूको संख्या पनि कम छैन।”
सामाजिक सञ्जालको यस जमानामा अरूबाट प्रशंसा र सामाजिक स्वीकृति खोज्ने मनोविज्ञान संसारभरिकै सञ्जाल प्रयोगकर्तामा हाबी छ। यो कुरा शारीरिक सुन्दरतामा अझ गहिरो देखिन्छ। जसका कारण कस्मेटिक करेक्सन युवा पुस्ताको जीवनशैलीको महत्त्वपूर्ण हिस्सा बनिरहेको छ।

एआईसिर्जित तस्बिर
डा. अर्याल कोभिड महाव्याधिपछि युवा पुस्तामा वर्तमानमा रमाउने धारणा बलियो भएको महसुस गर्छिन्। यस्तो अवधारणा बलियो बनाउनमा फेसबुक, इन्स्टाग्राम र टिकटकमा मान्छेहरू रमाएको देखिने फोटो, भिडिओको प्रभाव पनि पाउँछिन् उनी। पहिले के खाने, के फिल्म हेर्ने भनेजस्तै अहिले फेसन र साजसज्जा महत्त्वपूर्ण विषय बनिसक्यो। अचेल देखासिकीका कारण कुन क्रिम वा रिमुभल प्रयोग गर्ने, कुन शैली अपनाउने भन्ने कुराले प्राथमिकता पाइरहेछ। उनी भन्छिन्, “उनीहरूको चाहनालाई अचेल आमाबुबाले पनि नाइँनास्ती गर्न सक्नुहुन्न र जिद्दी गरेपछि आउनुपरेको बताउनुहुन्छ। युवाहरूको रहरले अभिभावकमा समेत मनोवैज्ञानिक र आर्थिक दबाब बढाएको छ।”
सामान्य ‘हेयर रिमुभल’ का लागि समेत अस्पताल वा क्लिनिकमा सातआठ चरण धाउनुपर्छ। नियमित धाउँदा खर्चिलो हुने नै भयो। यति हुँदा पनि सौन्दर्य र सज्जाप्रतिको आकर्षण कम देखिँदैन।
सामाजिक सञ्जालले धेरै मिडिया पर्सन, सोसल इन्फ्लुएन्सर जन्माएको छ। पेसागत हिसाबले ग्ल्यामर र मिडिया क्षेत्रदेखि फ्रन्ट डेस्कमा देखिने गरी काम गर्ने धेरै महिला र पुरुष कस्मेटिक करेक्सन गर्नैपर्ने दबाबमा हुन्छन्। “त्यस्ता धेरै सोसल मिडिया पर्सन र इन्फ्लुएन्सर हाम्रा सेवाग्राही हुनुहुन्छ। उहाँहरूमा भिडिओमा राम्रो देखिनुपर्ने दबाब हुन्छ,” तिलगंगा अस्पतालकी अकुलोप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार भन्छिन्।
सामाजिक सञ्जालमा ‘बिफोर’ र ‘आफ्टर’ भन्दै आउने पोस्ट र अनेकथरी ब्युटी फिल्टरले सौन्दर्यको मानक नै फेरिरहेका छन्। त्यहाँ कहिले कोरियाली सौन्दर्य-शैलीको ग्लास फेसको लहड चल्छ त कहिले बलिउडको बेबी फेस। यस्तो ट्रेन्ड फैलाउनुमा इन्फ्लुएन्सरहरूको व्यापारिक उत्पादनको विज्ञापन गर्ने स्वार्थ पनि गाँसिन्छ।
सामाजिक सञ्जालमा आउने सबै कुरा सत्य हुँदैनन्, विभिन्न स्वार्थ र लाभका लागि गलत र भ्रामक सूचना, विज्ञापन गर्नेहरू पनि त्यहीँ हुन्छन्। भ्रामक सूचना र विज्ञापनको फन्दामा पर्दा धेरै जना ठगीमा पर्ने र कतिपयले त स्वास्थ्य जटिलता पनि भोग्ने गरेका छन्। “एक जनाले टिकटकमा हेरेर शरीरको मुसा जाने केमिकल लगाउनुभएछ, मकहाँ आउँदा छाला जलेको थियो,” डा. अर्याल भन्छिन्, “कुनै पनि केमिकल वा लोसन सबैलाई मिल्दैन।”
उनका अनुसार पहिले मानिसहरू सीमित खालको उपचारका लागि मात्रै आउँथे, अहिले सोसल मिडियाकै कारण नयाँ नयाँ उपचारको माग आउने गरेको छ।

कस्मेटिक्स प्रोडक्ट्स
डा. वज्राचार्य यस्तो माग बढ्दा बजारमा दर्ताविनाका क्लिनिक र लाइसेन्सविनाका डाक्टरको बिगबिगी बढेको बताउँछन्। यसले सौन्दर्यसम्बन्धी सेवा लिनेदिने दुवै पक्षलाई घाटा भइरहेको उनको अनुभव छ। भन्छन्, “कति जना त्यस्ता अनधिकृत ठाउँमा गलत उपचार गराएर दुःख पाएपछि वीर अस्पताल आउनुहुन्छ। यो अत्यन्तै संवेदनशील कुरा भएकाले सरकारको निगरानी र नियन्त्रणको खाँचो छ।”
दार्शनिक दृष्टिले मान्छेको सुन्दरता आन्तरिक हुन्छ भनिन्छ, तर बाह्य सौन्दर्यप्रति मानिसहरू मरिहत्ते गर्छन् भन्ने कुरा कस्मेटिक करेक्सनका दृष्टान्तहरूले पनि देखाएका छन्। कसैलाई आफू सुन्दर छैन भन्ने लाग्यो, वा अरू कसैले सुन्दर छैन भनिदियो भने त्यसबाट पर्ने मनोवैज्ञानिक असर डरलाग्दो हुन्छ। त्यसैले सुन्दर देखिन मानिसहरू अतिरिक्त प्रयास र लगानी गरिरहेका हुन्छन्।
तर यस्ता अतिरिक्त प्रयास कति दिगो हुन्छन् त?
डा. श्रेष्ठ विवाह गर्नकै लागि गरिने कस्मेटिक सर्जरी र करेक्सनले वैवाहिक सम्बन्धको भविष्यमा संकट ल्याउने देखिएको बताउँछन्।
डा. अर्यालका अनुसार कस्मेटिक उपचार अनिवार्य नभएर लतजस्तै हो। भन्छिन्, “उपचार गरुन्जेल बढेको अनुहारको चमक उपचार गर्न छोडेसँगै घट्दै जान्छ। त्यसपछि आत्मविश्वास पनि घट्ने देखिएको छ।”
त्यसैले सकेसम्म शृंगारमा कम र शिक्षा, सीपमा बढी लगानी गर्नु व्यक्ति र समाजकै लागि हितकर हुने उनको सुझाव छ।