खानपिन
एउटा होमस्टेको अलि नमीठो अनुभूति बोकेर हिँडिएको भारी भोजपुरको गोठेसिंह होमस्टेले पूरै बिर्साइदियो। अनि इलामे वरपीपल बिसौनीले होमस्टेप्रतिको समग्र दृष्टिकोण नै फेरिदियो।
आठ वर्ष जतिअघि कामका सिलसिलामा यात्रा गर्दा एउटा होमस्टे पुगियो। साथमा आलोपालो गाडी चलाउने गरी आएका भाइ उमेरका साथी। काम गर्दागर्दै साँझ पर्यो। नजिकै होमस्टे देखियो। भोलि पनि त्यही आउनु थियो।
पहिलोपल्ट होमस्टेको स्वाद चाखौँ न भन्ने लाग्यो। कोठाभाडा सस्तो र सफा पनि। शौचालय र नुहाउने ठाउँ पनि सफा र फराकिला। पुगिहाल्यो। बसियो।
घाम अस्ताएको थिएन। तैपनि साँझको खानाको तयारी भयो। मंसिरको चिसो चिसो साँझ। आँगनमा बसेर खानाको प्रतीक्षामा आगो ताप्न थालियो। आगो देखेपछि भाइले मासु पोल्न पाए हुने दाइ भने। सितन भएपछि साथी पनि चाहिएला नि भनियो। कुरा सुनिरहेका घरबेटीले ‘अरू त छैन। कि लोकल कुखुरा कि हाँस’ भने। मासु कम हुने लोकल कुखुराभन्दा त हाँस नै ठीक हुन्छ भनियो।
एक घण्टाजतिमा ६/६ टुक्रा पोलेको हाँस र एक एक गिलास पेय पदार्थ खायौँ। पोलेको हाँसमा अदुवा र धुवाँमिश्रित सुगन्ध थियो। हाँस काट्न र पकाउन अभ्यस्त मान्छेले पकाएको भन्ने स्वादैले बुझिन्थ्यो। लगत्तै एक कचौरा हाँसको हड्डीको झोल र भात आयो। अदुवा र खुर्सानीको गजबको सम्मिश्रण थियो त्यो झोल। झोलसहितको भातले जीउ मजाले ततायो। सुतियो।
होमस्टेप्रतिको समग्र दृष्टिकोण फेर्न चाहिँ इलामको करफोक नै पुग्नुपर्यो। आफूले २० वर्षभन्दा अगाडिदेखि चिनेका, सँगै काम गरेका र पारिवारिकजस्तो सम्बन्ध भएका केदार र किरण शर्माले चलाएको वरपीपल बिसौनीमा।
बिहान हिसाबकिताब भयो। सिंगै हाँसको पैसा जोडिएको रहेछ। कुनै बहस नगरी तिरियो। गुनासो गर्न एकजना होमस्टे विज्ञलाई फोन गरियो। उनले पनि ‘अलि अलि गर्छन्’ भनेर टारे। पैसा खासै ठूलो पनि थिएन। तर किन हो, नखाएको पनि तिर्नुपर्ने भनेर नमीठो अनुभूतिको भार बोकेर हिँडिएछ। त्यसपछि होमस्टेलाई खासै प्राथमिकतामा पारिएनछ। परेको बेलामा बसियो पनि। रेस्टुराँका शैलीका खाना खाइयो पनि। न मोह जाग्यो, न गुनासो हट्यो।
गएको असोज पहिलो साता भोजपुरको मैयुङ डाँडाबाट पानीमा रुझ्दै/ओभाउँदै ११ घण्टा लगाएर चखेवानजिक झरेपछि झमक्क साँझमा गोठेसिंह होमस्टेका प्रकाश राईले दिएको सत्कारले भने मनको बोझ पूरै हटाइदियो।
लामो हिँडेर आएका पाहुनालाई गोडा दुख्यो होला भनेर नुनसहितको तातोपानीमा गोडा चोपलेर बस्ने सुविधा। तोङ्वाको मनतातो चुस्कीसँगै भान्सामा पाकेका थरी थरीका किराँती परिकारको स्वादले स्वर्गीय अनुभूति दिएको थियो।
होमस्टेप्रतिको समग्र दृष्टिकोण फेर्न चाहिँ इलामको करफोक नै पुग्नुपर्यो। आफूले २० वर्षभन्दा अगाडिदेखि चिनेका, सँगै काम गरेका र पारिवारिकजस्तो सम्बन्ध भएका केदार र किरण शर्माले चलाएको वरपीपल बिसौनीमा। काठमाडौँको चकाचौँधमा रमाएको, विभिन्न सुखसुविधामा सहज पहुँच भएको यो दम्पती एकदिन अचानक गाउँ फर्कियो। अनि होमस्टे खोलेर रमाउन थाल्यो।
यसपालिको आरीघोप्टे पानीले कच्ची मोटर बाटो लगेकाले करफोक स्कुलदेखि नै हिँड्नुपर्ने रहेछ वरपीपल बिसौनी पुग्न। स्कुल छाडेर चियाबारीको डिलैडिल १५ मिनेटजति ओरालो हिँडेपछि पुगिन्छ यो होमस्टे। बाटो भुले कि भनेर अलि परसम्म लिन आउनुभएको रहेछ केदार शर्मा। उहाँका परिचय अनेक छन्– पत्रकार, पटकथा लेखक, सम्पादक, अनि अलि थाहा नभएको चाहिँ कविवर माधवप्रसाद घिमिरेका व्याख्याता। होमस्टे जाँदै गर्दा देखिएका संरचनामा शर्माको अर्को परिचय वा पढाइको पृष्ठभूमि सिभिल इन्जिनियरिङ पनि झल्किन्छ। यो दम्पतीको नयाँ परिचय चाहिँ नेपाली लोकपरिकारको खोजकर्ताको हो। यो अन्वेषक जोडीले नेपालका अधिकांश जिल्लामा स्थानीय मानिसका भान्सामै गएर रैथाने खाना चाखेको छ र त्यसको अभिलेखीकरण पनि गरेको छ।
भान्सामा किरण भाउजू खानाको तयारीमा भिडिरहनुभएको थियो। डाइनिङ टेबलमा बसियो। अनि सुरु भयो– खानाको गफ, उहाँहरू नेपाल घुम्दाका अनुभूतिहरू। आफूले नभोगे पनि युरोपतिरका रेस्टुराँमा ‘सेफ काउन्टर’ हुन्छन् र त्यहाँ सेफ वा मालिकले पस्किने परिकारका कथाहरू सुनाउँछन् भन्ने पढेकै हो।
इस्कुसको बोक्रा मात्र बाँकी राखेर खुर्केर निक्लेको गुदीलाई एउटा बटुकोमा हाल्नुभयो अनि प्याज चिजलगायत सामग्री मिसाएर ओभनमा छिराउनुभयो। तयार भयो तातो स्टफ इस्कुस।
वरपीपल बिसौनीको त्यो डाइनिङ टेबल सेफ काउन्टरमा परिणत भयो। तर, त्यहाँ परिकारका कथा मात्र पस्किइएको थिएन, ऐतिहासिक पृष्ठभूमिका कुरा पनि सँगै आएका थिएँ। कसरी इलाममा धेरै हुने अदुवाको सदुपयोग गरियो, अनि अदुवाको मुरब्बा र तितौरा बनाइयो लगायत परिकारका कथावाचन हुँदै गयो। यसबीचमा किरण भाउजूको ‘प्रेप कुक’ मा बदलिनुभएको थियो शर्मा। स्थानीय कृषि उत्पादन र अंग्रेजीमा ‘फर्जिङ’ भनिने वन बालीको संकलनका कुरा भए। हामीकहाँ निगुरो, टुसा, जङ्गली बिहीँ, टाँकीको सागलगायत वन बालीको संकलनमा एकरूपता छैन। कतै लोप नै हुने गरी चरम उपयोग हुन्छ त कतै खेर गइरहेको हुन्छ भन्ने बहस पनि भयो। अनि ‘फार्म टु टेबल’ अवधारणाको व्याख्या सुरु भयो।
भाउजू ‘टी स्मोक चिकेन’ अर्थात् मासुमा चियाको सुगन्ध निकाल्न अनेकन् उपाय लगाएर मासु तयार गर्दै हुनुहुन्थ्यो। यसबीचमा शर्माले ‘वाइन मेकर’ को अवतार लिनुभयो, अझ भन्नुपर्दा पश्चिमी दुनियाँको ‘सम्मुलिय’ वा ‘सोमेलियर’ बन्नुभयो। यी त्यस्ता विशेषज्ञ हुन् जसले वाइनलाई खानासँग जोड्छन् र कथा हाल्छन्, खाँदै गर्दा पिइरहेको वाइन कुन प्रक्रियाबाट बन्यो भनेर विस्तृत व्याख्या गर्छन्। चुस्की लिँदै गरेको चिया, पाखनभेद नामक जडीबुटी, मह र चिनी मिसाएर बनाइएको वाइनको कथा भन्दै हुनुहुन्थ्यो, ‘राम्रोसँग बनाउन जानिएन भने वाइन कतिखेर भिनेगर बन्छ पत्तै हुँदैन।’ अनि ‘अक्सिडेसन’, ‘लाइभ मदर’ का कुरा हुँदाहुँदै सिक्किमतिर फर्मेन्टेसनका लागि प्रयोग हुने ‘किन्वन’ शब्दका कुरा पनि भए। गुन्द्रुक हाल्ने वा बनाउने भन्ने कि सागलाई किन्वन गर्ने भन्ने भनेर हाँसो पनि गरियो। बीच बीचमा वाइनसँग जिरा मिसाएर बनाइएको चिजको टुक्राको स्वाद पनि लिइँदै थियो।
हामीसँगै थिए- बेलाबेलामा सुनिने झ्याउँकिरीका गीत, आँगनतिर सुतिरहेको एउटा बिरामी कुकुर र चकचके बिरालो।
त्यसबीचमा उसिन्न राखेको इस्कुस तयार भएछ। सेलाउन टेबलमा लडाइयो। अनि प्याज काट्न थाल्नुभयो शर्माले। यो उहाँको सेफ अवतार थियो। इस्कुसको बोक्रा मात्र बाँकी राखेर खुर्केर निक्लेको गुदीलाई एउटा बटुकोमा हाल्नुभयो अनि प्याज चिजलगायत सामग्री मिसाएर ओभनमा छिराउनुभयो। तयार भयो तातो स्टफ इस्कुस। बीचमा दिनुभयो इस्कुसको जिब्री। उसिनेको इस्कुसको बिउँलाई लामो लामो काटेर तयार गरिएको टुक्रा। घरमै तयार गरिएको ससमा चोबेर खानका लागि गजब।
स्टफ इस्कुस अलि सेलाएको थियो अनि मुखमा हाल्नासाथ असीम आनन्द आयो। इस्कुस गुदी, चिज, प्याजको अद्भुत संगम।
धेरैले यो होमस्टेलाई खानपिन र ज्ञान आदानप्रदान गर्ने ठाउँका रूपमा लिन्छन्। कतिपय पाहुना त आफैँ खाना बनाउन थाल्छन्, कतिपय चाहिँ वाइन र रक्सीका अनेकन् प्रकारको सम्मिश्रण बनाउन थाल्छन्। खासमा यो होमस्टे धेरै पछि आउन पाएकी चेलीको माइतीघरजस्तो हो वा टाढाबाट आएको भान्जाभान्जीको मामाघरजस्तो हो। पाहुना नअघाएसम्म दाइभाउजू दुवै हौसी हौसी खुवाउनुहुन्छ। बिहानको खाजा होस् वा बेलुकाको खाना, अब त साँच्चै पुग्यो नभनुन्जेल पकाएको पकायै, खुवाएको खुवायै। त्यसपछि आरामदायी सफा र सुन्दर बास।
भोलिपल्ट सोचेभन्दा झन्डै दुई घण्टाअगाडि नै काममा हिँड्न पर्यो। ‘खाजा बनाउने कष्ट नगर्नुहोस् है, चटारो हुन्छ’ भन्दाभन्दै किरण भाउजू देखिनुभयो र भन्नुभयो, ‘कहाँ भोकै पेट जाने, एकछिनमै तयार हुन्छ।’ अनि बिहान आठै बजे भात, दाल, तरकारी मात्र होइन, साथमा ढकनी पनि हतार हतार तयार गरेर खुवाउनुभयो।
अनि दिनभरिको काम सफल होस् भनेर पातलो दहीजस्तै देखिने ‘बिउ’ (ग्रेन- ब्याक्टेरिया, इस्ट र प्रोटिनको मिश्रण) हालेर दूधको कफिर खुवाएर पठाउनुभयो। अमिलो अमिलो तिक्खर स्वादको कफिरको स्वादसँगै ‘देशभरिका होमस्टेमा वरपीपल बिसौनीको गुण सरोस्’ भन्ने कामना गर्दै करफोकतिर उकालो लागियो।