काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका अफगानिस्तान स्टार नाजिबुल्लाह जाद्रन, नेदरल्यान्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका छन्।
शुक्रबार राति तीनै खेलाडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुलाई कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र अन्य प्रतिनिधिले स्वागत गरेका हुन्। कोल्सावाल लगातार दोस्रो पटक एनपिएल खेल्दैछन् भने जाद्रन र डावड पहिलो पटक एनपिएल खेल्न लागेका हुन्।
भारतकै प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका थिए। अब, कर्णाली याक्समा आवद्ध ६ मध्ये अस्ट्रेलियाका विलियम बासिस्टो र स्कटल्यान्डका मार्क वाट नेपाल आउन बाँकी छ।
कर्णाली याक्सले छैटौं विदेशी खेलाडीमा कोल्सावालालाई अनुबन्ध गरेको थियो। ३६ वर्षीय भारतीय आक्रमक ब्याटरले दोस्रो पटक कर्णाली याक्सबाट खेल्न लागेका हुन्। विकेट किपर समेत रहेका कोल्सावालले पहिलो संस्करण दुई खेल खेल्दा चितवनविरुद्ध अर्धसतक बनाएका थिए । नेपाली नेपाली क्रिकेटको लागि परिचित खेलाडी समेत हुन्। यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए।
अफगानिस्तानका जाद्रन पाचौं विदेशी खेलाडीको रुपमा अनुबन्ध भएका थिए। ३२ वर्षीय बायाँ हाते ब्याटरले अफगानिस्तानबाट १०७ खेल खेल्दा १ हजार ८ सय ३० रन बनाएका छन्। १३७.८० को औसतमा रन बनाउँदा ८ अर्धसतक बनाए। एकदिवसीयमा भने उनले ९२ खेलमा २ हजार ६२ रन बनाएका छन्।
यता, पहिलो पटक एनपिएल खेल्न लागेका म्याक्स ओ डावड भने तेस्रो विदेशी खेलाडीको रुपमा कर्णालीमा अनुबन्ध भएका हुन्। ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन्। जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन्। उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन्।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।