काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नियात्रा

२०१७ सालपछि राजा महेन्द्रले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने यो पहिलो राजमार्गको निर्माण मित्रराष्ट्र चीनको सहयोगमा गर्ने निर्णय गर्दा अमेरिकासम्म निकै होहल्ला भएको थियो। अमेरिकी ‘चीनफोबिया’ अत्यधिक थियो। र, सायद त्यसैले पनि होला राजा महेन्द्रले त्यतिबेलाको अमेरिकालक्षित यो कडा टिप्पणी गरेका थिए – ‘कम्युनिज्म ट्याक्सी चढेर आउने होइन।’

३० कार्तिक २०८२
रारा ताल, राजा महेन्द्रले कविता लेखेको ढुंगा र काभ्रेको पलाञ्चोक भगवती मन्दिर। तस्बिरहरू : वसन्त लोहनी
अ+
अ-

म र मेरी श्रीमती उषा। हामी दुई यात्रा गर्न खुब रुचाउँछौँ। अझ पहिले त पदयात्रा पनि। विवाह भएको दुई वर्षपछि उनी अमृत क्याम्पसमा पढाउन थालिन्, अनि पछि प्राणीशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा। पछिल्लो चरणमा लामो समय प्राध्यापनका क्रममा मान्छे र जनावरबीचको सम्बन्धको विशेष अध्ययनका कारणले होला, उनलाई यात्रा गर्ने रुचि मलाई भन्दा धेरै छ। विवाहपछि पनि म बुटवलमा काम गर्थें, उनी काठमाडौँमा। आठ वर्षदेखि बुटवलमा गरिरहेको काम जनमत संग्रहको घोषणापछि ‘परिवर्तन चाहिन्छ’ भनेर एक्कासि छोडेर जनमत निर्माण गर्न पत्रकारितामा होमिन काठमाडौँ आएँ। यदि ‘परिवर्तन’ ले मुलुकको यस्तो हविगत हुन्छ भन्ने थाहा भएको भए म बुटवलमै आफ्नो उद्योग चलाइरहेको हुन्थेँ होला। जे बित्यो, बित्यो। त्यसपछि मैले उनलाई पछ्याएँ। म पनि सरस्वती क्याम्पसमा पढाउन थालेँ। अनि हाम्रो भ्रमणको सुरुआत पनि भयो। जाडोको छुट्टीमा हामी दुई घुम्न जान्थ्यौँ। मूलतः मुलुकभित्र जहाँ बाटोघाटो पुगेका थिए। अनि त्यहाँबाट सक्नेजति पैदल यात्रा पनि। पछि साना छोराछोरीलाई पनि सँगै लिएर जान्थ्यौँ। यसरी नै हामीले केही मुलुक देख्यौँ। जनता र जनजीविकाबारे केही अनुभव गर्‍यौँ।

कहिलेकाहीँ भूगोलपार्कस्थित इन्दिरा रेस्टुराँमा जाँदा काठमाडौँकेन्द्रित नेपालका पठितहरूले चियाको चुस्कीमा मुलुकको स्थितिबारे ठटाएका ‘गहन विश्लेषण’ र मैले अलिकति देखेको जनजीविकाबीचको तारतम्य म बुझ्दैनथेँ। त्यतिबेलादेखि नै हामी दुईले एकअर्कालाई भन्दै आएका हौँ। र, अहिलेसम्म पनि भनी नै रहेका छौँ। हाम्रो यात्राबारे हामी दुई मिलेर केही लेखौँ न! हाम्रो वैयक्तिक अनुभवलाई साझा बनाऔँ न!

क्याम्पसमा पढाउने, बच्चाबच्ची हुर्काउने र संयुक्त परिवारकी बुहारी भूमिका निर्वाहमा डुबेकी उनी सधैँ भ्याई नभ्याईमा। म परेँ गर्छु भन्दाभन्दै सधैँ अलमलिएरै बस्ने। पछि त हामी दुवै फुर्सदिला नै बनेका थियौँ। तर खै! नतिजा बनेको छ एकाधबाहेक हाम्रो यात्रा संस्मरण लेखिएन। अंग्रेजीको एउटा कहावत छ– ‘प्रोक्रास्टिनेसन इज द थिफ अफ टाइम’ अर्थात् ढिलासुस्ती समयको चोर हो। मेरो हकमा यो निकै हदसम्म लागु भएको छ। गर्छु भन्दाभन्दै ढिलासुस्ती गर्ने बानीले मेरो समय चोरेर नै लग्यो। अब त पुराना यात्राहरू धूमिल मात्र होइनन्, कता कता विस्मृतिमा नै पुगिसकेका छन्।

यात्रामा हामीले गरिबीलाई पनि अझ नजिकबाट देख्यौँ। रारा पुगेको दोस्रो दिन राजा महेन्द्रलाई सम्झिन पुग्यौँ।

नियात्रा-यात्रा वर्णन या यात्रा संस्मरण जे भने पनि साहित्यभित्र नै पर्छ यो। अझ भन्नुपर्दा यात्रा साहित्यभित्र। यसको प्रमुख कारण यात्रा गर्दा देख्ने, बुझ्ने, सुन्ने कुराहरूमा भेट्टाउन सकिने मानव संवेदनाहरू नै हुन्, जसलाई यात्रा गर्नेले आफ्नो निजी या वैयक्तिक अनुभव र चेतनाका आधारमा समात्न सक्छ। यसका स्वरूपहरू देख्न सक्छ। थिचिएको या फुकेको मान्छे, शिर ठाडो भएको या झुकेको मान्छेभित्र बाँचेका उसका आकांक्षाहरूलाई ठम्याउन सक्छ। ऊ बाँचेको समाजभित्र उसको सम्बन्ध जुन शासन, धर्म र रीतिथितिको आडमा सामाजिक मनलाई कसरी कन्डिसन गरिएको छ त्यो समग्रतालाई एउटा फराकिलो क्यानभासमा हेर्न सकिन्छ। यात्रा वर्णन भनेको फलानो ठाउँबाट फलानो ठाउँमा गएँ भन्ने मात्र होइन।

नियात्राको कुरा आउनेबित्तिकै हामी अत्यन्त प्रभावित भएको चाहिँ विद्याधर सूरजप्रसाद नैपौल अर्थात् बी.यस. नैपौलका यात्रा विवरणबाट हो। उनले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभन्दा धेरै अगाडि नै उनको यात्रा विवरण पढेर हामी मुग्ध भएका थियौँ। उनको भारत भ्रमणमा लेखिएका ट्राभल ट्रिलोजी अर्थात् एउटै विषयमा लेखिएका तीन यात्रा पुस्तकहरू विश्वमै प्रसिद्ध छन्। ती हुन्– एन एरिया अफ डार्कनेस, ए उन्डेड सिभलाइजेसन एन इनिग्म्याटिक एराइभल। यात्रा संस्मरणको ट्रिलोजीमा नपर्ने तर भारतबारे पर्ने अर्को किताब हो– ए हाउस फर मिस्टर विश्वास। हामी दुवैलाई मन पर्छ यो किताब। मलाई भन्दा उषालाई अझ बढी। यतिसम्म कि यी तीन किताबको समूह ट्रिलोजी बन्यो एउटै कुराको– इन्डियन कति फटाहा, कति धूर्त, कति पाखण्डी र कति ढोँगी छन् भन्ने। यसबारे ‘नैपालले जगाइदिएको नियात्रा’ शीर्षकमा २४ मंसिर २०७८ को नागरिक दैनिकमा छापिएको हाम्रो पोखराको यात्रा संस्मरणमा उल्लेख छ।

आफ्नो मुलुकभित्र र मुलुकबाहिर युरोप, अमेरिका र भारतको भ्रमणबारे लेख्छु भन्दाभन्दै नलेखेको चुकचुकी छ। ती संवेदनाहरू, ती अभिव्यञ्जनाहरूलाई सूक्ष्म रूपले हेरेर, अनि टिपेर एउटा फराकिलो क्यानभासमा चित्रपट बनाएर हामीले राख्न सकेनौँ। यात्रा संस्मरण लेख्न नसकेको अझ सबभन्दा खट्किएको चाहिँ ‘स्वर्गकी अप्सरा’ बाट सम्बोधन हुने रारा तालको वैशाख २०७५ को हाम्रो यात्रा रहन गएको छ। कर्णाली प्रदेशको मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जमा १० हजार फिटमाथि अवस्थित ताल्चा विमानस्थलमा नेपालगन्जबाट उत्रिएपछि हामीले करिब आठ घण्टा पैदल यात्रा गरेका थियौँ। ‘स्वर्गकी अप्सरा’ लाई भेट्न।

राजा महेन्द्रले कविता लेखेको राराको ढुंगा जुन अहिले बेवास्तामा परेको छ।

त्यो पदयात्रा हाम्रा लागि अहिलेसम्मको सबभन्दा रमाइलो र रोमान्टिक यात्रा रहन गएको हो। आफ्नै मष्टो संस्कृति भएको यस क्षेत्रमा रारा ताल देखिने अगाडि जंगलबीचको बाटोबाट हिँडिरहँदा देब्रेतिर एउटा सानो स्थानीय रूपमा बनेको मन्दिर देख्यौँ। त्यहाँ लेखिएको हुनाले हामीलाई थाहा भयो– त्यो मन्दिर महादेवको रहेछ। तर, त्यहाँ महादेवको मूर्ति थिएन। महादेवको मूर्तिबिना महादेवको पूजा गर्दा रहेछन् यहाँका खस बासिन्दाहरू। यात्रामा हामीले गरिबीलाई पनि अझ नजिकबाट देख्यौँ। रारा पुगेको दोस्रो दिन राजा महेन्द्रलाई सम्झिन पुग्यौँ। पहिलो कारण हो– उनको राप्सोडी। दोस्रो कारण हो– राष्ट्रिय निकुञ्जबारे उनले त्यतिबेला गरेको परिकल्पना।

जहाँ राम त्यहीँ अयोध्या। तर, पहिलोपटक जिन्दगीमा हामी आयौँ रामायणकालीन अयोध्या जहाँ राम जन्मेका थिए। उनी जन्मेको ठाउँको यो परिसरलाई राम जन्मभूमि भनिन्छ।

के हो अंग्रेजी शब्द यो राप्सोडी? नेपालीमा यसको नजिकको अर्थ हुन्छ– प्रशंसा गाथा बोकेको काव्यात्मक अभिव्यक्ति। म त भन्छु एउटा अत्यन्त सुन्दर धुन। यस्तो धुन जुन हृदयभित्र सहजै छिर्छ। त्यतिमा सीमित रहन्न यो धुन। हृदयभित्र आसन नै जमाउँछ। मैले यस्तै अनुभव गरेँ फालिएको अवस्थामा रहेको एउटा शिलामा कुँदिएका हरफहरू अनायास पढ्न पुगेपछि। त्यो बेलादेखि त्यसका दुई हरफहरू मेरो हृदयभित्र सम्झना बनेर बाँचेका छन्। ती हुन्:

सुन्दरताको भण्डार सारा
के खन्यायौ यसै रारामा रारा कि अप्सरा।

जुम्लाबाट घोडा चढेर त्यहाँ पुगेको बेला रारा तालको दक्षिण तटको खुला फाँटमा क्याम्प गाडेर बसेका कवि मविवि शाहले यो राप्सोडी १० चैत २०२० मा लेख्दा।

राष्ट्रिय निकुञ्जको परिकल्पना पनि महेन्द्रले त्यहीँ गरेका थिए। तालसँगै किनारमा बसेका दुई गाउँहरू रारा र छब्रुका बासिन्दाहरूलाई त्यहाँबाट डबल जग्गा दिएर बर्दिया स्थानान्तरण गरिएको थियो। र, खाली भएको ठाउँमा रूख रोप्न सुरु गरियो। अहिले यही ठाउँ जंगल बनेको छ। राष्ट्रिय निकुञ्जको यस परिकल्पनालाई मुलुकभरि कार्यान्वयन गर्न २०३२ सालमा डा. हर्क गुरुङले प्रारूप तयार गरेका थिए। त्यहीअनुरूप कानुन बन्यो र प्रत्येक निकुञ्जमा सेनाको ब्यारेक स्थापना भएको हो।

रारा ताल

राराजस्तै अर्को यात्रा संस्मरण लेख्न नसकेकामा पनि हामीलाई थकथक छ। त्यो हो – महाकुम्भको महास्नान। बुद्ध एयरबाट काठमाडौँबाट भैरहवा, र त्यहाँबाट एउटा गाडी लिएर अयोध्या हुँदै हामी महाकुम्भ स्नान गर्न प्रयागराज पुगेका थियौँ। यसरी जाँदा एक रात अयोध्यामा पनि बिताएका थियौँ। जसरी हामी हुर्क्यौं त्यसअनुसार भन्नुपर्दा– भगवान् रामले बोलाएपछि कसको के लाग्छ? राम जन्मेको ठाउँ अयोध्यामा ५६ दिनको बीचमा हामी दुईपटक पुग्यौँ। यसअघि पहिलोपटक २५ मंसिर २०८१ मा अयोध्या नै जान भनेर, बुद्धको मृत्यु भएको थलो अर्थात् महापरिनिर्वाण थलो कुशीनगरमा दुई रात बिताएर। र, दोस्रोपटक २२ माघ २०८१ मा प्रयागराज जाँदा बाटोमा परेर।

भनिन्छ– जहाँ राम त्यहीँ अयोध्या। तर, पहिलोपटक जिन्दगीमा हामी आयौँ रामायणकालीन अयोध्या जहाँ राम जन्मेका थिए। उनी जन्मेको ठाउँको यस परिसरलाई राम जन्मभूमि भनिन्छ। जतिसुकै समय बितोस्, जतिसुकै मान्छे र सभ्यताको आउनेजाने भएको होस्, तर बहिरहेको सरयू नदी मात्र रामायणकालीन छ। यो नदी हाम्रै देश नेपालको कर्णाली नदी हो। भारत छिरेपछि घागरा भन्ने गरिन्छ र अयोध्यामा पुगेपछि सरयू। अयोध्याको पूर्वमा अनादिकालदेखि बहिरहेको सरयू नदीको प्रवाहसँगको समय प्रवाहमा कति मान्छे जन्मे, कति मरे, कति सभ्यता त्यसै गरी जन्मे मरे, अनि कति युग। आज हामीलाई छुन आएको यो समय बिन्दुमा अयोध्यामा सरयू नदीबाहेक रामायणकालीन केही पनि छैन। फगत भावना मात्र, अत्यधिक विश्वासयुक्त भावना।

गंगा, जमुना र विलुप्त सरस्वतीको संगममा डुंगा चढेर गई सकीनसकी डुबुल्की मारियो। त्यतिबेला फुड पोइजनिङजस्तो भएर म बिरामी नै परेको थिएँ। तर, विश्वासले सबै जित्यो।

यहाँका भवन, महल, घर र मन्दिरहरू कतिपटक बने, कतिपटक भत्किए, यो कसलाई थाहा छ र? त्यसको कुनै हिसाब छैन। यहाँ जे छन् ती पछिका हुन्। नयाँ बनेको राम मन्दिरमा नयाँ बनेको रामको मूर्तिको प्राण प्रतिष्ठापन जनवरी २०२४ मा मात्र भएको हो। सोह्रौँ शताब्दीमा मुगल सम्राट् बाबरले राम मन्दिर भत्काएर त्यसैको गर्भगृहमा बाबरी मस्जिद बनाएका थिए। करिब ५०० वर्षको अन्तरालमा बाबरी मस्जिद पनि भत्काइयो। अहिले मस्जिद भएकै ठाउँमा निर्माण गरिएको हालको यो राम मन्दिर भव्य छ। अति सुन्दर छ। निकै अगाडि इन्टरनेटमा मैले पढेको एउटा प्रतिवेदन भन्छ– अयोध्यामा करिब एक हजार ६०० मठमन्दिर छन्। र, ती धेरैजसो आपराधिक गतिविधिमा संलग्न छन्। मठमन्दिरभित्र साधुको भेषमा यस्ता आपराधिक गतिविधिहरू हुने गर्दछन्। तर पनि, मलाई चाहिँ किन हो किन लाग्छ, हजारौँ यस्ता साधुहरूबीच कुनै हनुमान्‌जी अझै हुन सक्छन् यहाँ!

यही भावनाको चिन्मयतामा हामीले २५ मंसिरको दिन मूलतः राम जन्मभूमि क्षेत्र र सरयू नदीको तटमा बितायौँ।

देव नगरी भनिने वाराणसीजस्तै प्राचीन सहर हो, प्रयागराज। सन् १८५७ मा ब्रिटिसविरुद्धको बगावत, जसलाई भारतीयहरू पहिलो स्वतन्त्रता संग्राम भन्छन्, त्यसपछि प्रयागराजको नाम ब्रिटिसले बदलेर अलाहाबाद राखिदिएका थिए। सन् २०१८ मा अलाहाबादलाई बदलिएर पुनः प्रयागराज बनाइएको हो। जुनसुकै नाम भए पनि वाराणसीजस्तै कुनै बेला नेपालीहरूले ज्ञान आर्जन गर्ने गन्तव्य थियो। यहाँको अलाहाबाद विश्वविद्यालयमा अध्ययन गरेर नेपालमा योगदान पुर्‍याउने ठूला विद्वान्‌हरू थिए। तीमध्ये रुद्रराज पाण्डे एक हुन्।

प्रयागराजमा परेको गत वर्ष २०८१ सालको महाकुम्भ १४४ वर्षपछि परेको हो। ४५ दिनमा ६६ करोडले संगममा स्नान गरे। प्रत्येक १२ वर्षमा महाकुम्भ प्रयागराजमा हुन्छ। रापताप दिने सूर्य, कोमलता दिने चन्द्र र बुद्धि दिने बृहस्पतिको संयोजन मिलेपछि महाकुम्भ हुने गर्छ। यस्तो १२ वटा पछि १४४ वर्षमा जुरेको यो महाकुम्भ हाम्रो जीवनको आखिरी हो। कुम्भ अर्थात् समुद्र मन्थन गरेपछि निस्केको अमृत राखिएको भाँडो। यो अमरत्वसँग गाँसिएको छ।

गंगा, जमुना र विलुप्त सरस्वतीको संगममा डुंगा चढेर गई सकीनसकी डुबुल्की मारियो। त्यतिबेला फुड पोइजनिङजस्तो भएर म बिरामी नै परेको थिएँ। तर, विश्वासले सबै जित्यो। बाजेलाई सम्झेँ जसले बनारसको मणिकर्णिका घाटमा भीमफेदी हुँदै मलाई त्यहाँ लागेर चोपली दिनुभएको थियो सात वर्षको उमेरमा। पितालाई सम्झेँ जो मेरो आराध्यदेव नै हुनुहुन्छ। अनि आमालाई जसले मलाई धर्ती देखाउनुभयो। मलाई यो महाकुम्भका बारेमा यति धेरै लेख्ने मन थियो तर खै? त्यहाँको माहोलसँग आबद्ध जोगीहरू, मठहरू र दर्शनार्थी गरेर जुन मानव सागर बनेको थियो अलाहाबाद फोर्टको पूर्व र दक्षिणको गंगा र जमुना नदी तटमा, जुन गतिविधि थियो, समग्रमा जुन छटा थियो त्यसको सूक्ष्मता अब बिर्सी नै सक्यौँ हामीले। त्यतिबेला हाम्रो मनमा आएको थियो– हामी बाँचेको समाजमा असल मान्छे छन्, खराब मान्छे छन् र सबै अमरत्वको खोजी गरिरहेका छन्। यो सम्बन्धलाई लिएर हामीले महाकुम्भमा जे देख्यौँ त्यो लेख्ने इच्छा थियो हाम्रो। तर, खै गई गयो।

महाकुम्भ स्नान गर्न संगमस्थलतर्फ जाने ठाउँबाट देखिने जमुना नदी

२०८२ सालको भाइटीकाका लागि हाम्री बुहारी अमेरिकाबाट काठमाडौँ आएको बेला। आफ्ना भाइबहिनीसँग अपर मुस्ताङको भ्रमण सकिएपछि माइतबाट हामीसँग बस्न आएकी १७ कात्तिकमा। अपर मुस्ताङको कुरा गर्दा १५ हजार फिटमाथि कोरला नाकासम्म नै हामी पनि पुगेका थियौँ तिहार अगाडि मात्र। त्यसबारे पनि भ्रमण गरिरहँदा केही लेख्ने इच्छा बाँचेको थियो हामी दुवैको। खै! पर्न लागेको पानीलाई हावाले उडाएर बेपत्ता पारेजस्तो भएर कता पो गयो। अब त धूमिल हुँदै गइसक्यो।

२०१७ सालपछि राजा महेन्द्रले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने यो पहिलो राजमार्गको मित्रराष्ट्र चीनको सहयोगमा निर्माण गर्ने निर्णय गर्दा अमेरिकासम्म निकै होहल्ला भएको थियो।

बुहारी पनि सँगै भएको कारणले हुनसक्छ अनायास एउटा ख्याल आयो हामीबीच– होइन, कतै ‘डे ट्रिप’ गर्न जाने हो कि? खै! कता भन्ने टुङ्गो नलाग्दै फेरि अनायास नै काभ्रेपलान्चोक भगवती माताको दर्शन गर्न जाने तय भयो। अनि पर्सिपल्ट चतुर्मास सकिएको पूर्णिमाको दिन १९ कात्तिक बुधबार बिहान हामी लाग्यौँ त्यसतर्फ। यस भ्रमणका बारेमा हामी दुई मिलेर केही लेख्नुपर्छ भन्ने आवाज गुन्जियो मेरी श्रीमतीको। उनले अगाडि थपिन्, ‘नत्र यो पनि समयको अन्तरालमा झल्याकझुलुक धूमिल सम्झनामा विलुप्त भएर जानेछ। बाँचोस् न यसपटकको।’ कुरा एकदम ठिक थियो। मैले पनि वाचा गरिदिएँ। तर, एक हप्ता बितिसकेपछि मात्र यसमा लाग्ने साइत जुरेकोजस्तो भयो। दुवैले लेख्यौँ। दुवैलाई एकीकृत गरी सम्पादन गर्‍यौँ।

अलि अगाडि हामीले लेखिसक्यौँ नि कसरी हामी हुर्कियौँ केटाकेटीदेखि तीर्थको कुरा सुनेर। तीर्थ नबोलाईकन जानै पाइँदैन। बोलाएपछि नगई सुखै छैन। यसको अर्थ हामीले त्यतिबेला बुझेकै थिएनौँ। एक किसिमबाट भन्नुपर्दा बल्ल मात्र झल्याँस्स बुझेकोजस्तो भयो। काठमाडौँबाट मोटर बाटोमा ५७ किलोमिटर पर काभ्रेपलान्चोक जिल्लामा पाँचखाल लामिडाँडाबाट पूर्व-दक्षिणको डाँडामा रहेको माताको वासस्थानमा उत्तरार्धको यो उमेरमा बल्ल हामी दुई बुहारीलाई समेत लिएर पहिलोपटक त्यसतर्फ लाग्यौँ, ब्रेकफास्ट गरेर ९ बजेतिर। सूर्यविनायकसम्म आरामसँग गइयो। त्यसपछिको बाटो करिब बिग्रिएको। गाडीभित्र दायाँबायाँ थचारिँदै जानुपर्‍यो धुलिखेलसम्म नै। बीचबीचमा कतै पुरानो राम्रो बाटो पनि फेला पर्‍यो। यस्तो अवस्था बनेको कारण चाहिँ बाटो चौडा गरिने काम अझै सकिएको रहेनछ।

काभ्रेस्थित पलान्चोक भगवती माताको मन्दिर

धुलिखेलसम्म हामी धेरैपटक आएको र पछिल्लोपटक गत वर्ष ज्वाइँ, छोरी, नातिनातिना र सम्धीसम्धिनीसँगै होराइजन रिजोर्टमा लन्च खाएका थियौँ। धुलिखेलबाट पूर्वतिर बीपी राजमार्ग छोडेर हामी अरनिको राजमार्गमा उत्तरतर्फ देब्रेतिरको ओरालो झर्‍यौँ। राजमार्गको दायाँबायाँको बस्ती केही छाँटिएकाले प्रकृतिसँगको सामीप्य बढेको महसुस भयो। उषा र रश्मि आपसमा बात मारिरहेको बेलामा कहिलेकाहीँ प्रकृतिको सुन्दर छटा हेर्दै केही बेर म आफैँ भित्र पनि हराएको थिएँ। यति सुन्दर मुलुक, अरूका लागि त ज्यान दिनसक्ने हाम्रा तन्नेरीहरू। मौका पाए आफ्नो मुलुकमा के मात्र गर्न सक्दैनन्। नयाँ नेपालको लुटतन्त्रात्मक समाजवादी यात्राको विकास र समृद्धिको अनवरतको गफले गर्दा आफ्नै मुलुक छोडेर जान विवश पारिएका छन्। तिनीहरूको पसिना खाएर यी ठगहरू ठालु बनेर रजाइँ गरिरहेका छन्। म झल्याँस्स हुन्थेँ जब उषाले केही सोध्थिन मलाई। अनि उनीहरूको कुराकानीमा म मिसिन पुग्थेँ।

गाडी गुडिरहेको थियो। हामी आपसमा बात मारिरहेका थियौँ। दायाँतर्फको डाँडामा देख्यौँ त्यो पुरानो माउन्टेन रिजोर्ट जहाँ हामीले एकदुई पटक रात बिताएका थियौँ। यो सम्झना आउनेबित्तिकै मैले भनेँ– सिँढी उक्लिएर जाने हो त्यहाँ कफी पिउन? उषाले भनिन्, ‘होइन, बेलुका फर्कन ढिलो हुन्छ फेरि।’ त्यतिबेलासम्म हाम्रो ड्राइभर सोम रिजोर्ट काटेर अगाडि गइसकेको थियो। यसपछि म फेरि दुई मुखे सम्झनाको उडानमा हराउन पुगेँ। पहिलो थियो राजा महेन्द्रको कडा टिप्पणी। अनि दोस्रो थियो यो राजमार्ग सकिनुअगाडि नै आफूले यो राजमार्गको यात्रा गरेको। २०१७ सालपछि राजा महेन्द्रले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने यो पहिलो राजमार्गको निर्माण मित्रराष्ट्र चीनको सहयोगमा गर्ने निर्णय गर्दा अमेरिकासम्म निकै होहल्ला भएको थियो। अमेरिकी ‘चीनफोबिया’ अत्यधिक थियो। र, सायद त्यसैले पनि होला राजा महेन्द्रले त्यतिबेलाको अमेरिकालक्षित यो कडा टिप्पणी गरेका थिए– ‘कम्युनिज्म ट्याक्सी चढेर आउने होइन।’

दोस्रो कुरा रह्यो मेरो यात्रा। २०२२ सालतिरको कुरा हो। त्यतिबेला म त्रिचन्द्र कलेजमा पढ्थेँ। नेपालको नाम चीनमा प्रसिद्ध गराउने त्यो ठूलो कलाकार अरनिकोको नामबाट यो ११५ किलोमिटर लामो राजमार्गको नामकरण सायद भइसकेको थिएन। कोदारी राजमार्ग भनिन्थ्यो। मेरा भिनाजु चिफ इन्जिनियर हुनुहुन्थ्यो। त्यो राजमार्गको निरीक्षण गर्न उहाँ जाँदै गर्दा मैले पनि जान्छु भनेँ। त्यो रसियन जिपमा उहाँको सहायकहरूसहित म पनि सँगै थिएँ कोदारीसम्म पुग्दा। तर, जाँदा या फर्कंदा पलान्चोक भगवतीको दर्शन गर्न जाने कुरा नै उठेन। प्रस्ट छ माताले बोलाउनुभएको थिएन। त्यसपछि एमए पढ्ने अगाडिको खाली समयमा मैले टुरिस्ट गाइड भएर काम गरेको थिएँ। बीचको केही महिना नै खाली भएको भए पनि मेरो पिताको मान्यता थियो काम नगरेर खाली बस्नु हुँदैन भन्ने। त्यसैले उहाँले आफ्नो साथी द्वारिकादास श्रेष्ठले पारस होटेलको एउटा कोठामा भर्खर सुरु गर्दै गरेको काठमाडौँ ट्राभल्स एन्ड टुर्समा काममा लगाइदिनुभयो। कैयौँपटक जानेआउने गरेँ मैले धुलिखेलसम्म पर्यटक लिएर, तर भगवती माताको दर्शन गर्न त्यहाँ जाने कुरा कहिले मेरो मनमा नै आएन।

लिच्छविकालमा यस क्षेत्रमा दुई प्रमुख मन्दिर बने। पहिलो हो भक्तपुरमा राजा हरि दत्तले चौथो शताब्दीमा बनाएको चाँगुनारायणको मन्दिर। यो नेपालको सबभन्दा पुरानो मन्दिर हो। अनि काभ्रेमा पाँचौँ शताब्दीमा बनेको पलान्चोक भगवती मन्दिर।

ऐँसेलुखर्क जाँदाआउँदा पनि यो कुरो मेरो मनमा आएन। मेरो विवाह गर्दा श्रीमतीको त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय विकास सेवाअन्तर्गतको १० महिना गाउँमै बसेर काम गर्नुपर्ने समयको करिब एक महिना सकिन अझ बाँकी थियो। त्यसैले विवाह सकिएलगत्तै म उनलाई पुर्‍याउन सिन्धुपाल्चोकको ऐँसेलुखर्क गए। लामिडाँडामा बसबाट झरेपछि हामी दुईले ढाँड खोला तरेर सालघारीको उकालो उक्लिएका थियौँ। करिब ८ घण्टा हिँडेर त्यहाँ पुग्दा एकपछि अर्को गाउँ हुँदै गएका थियौँ। गोरेटोको बीचबीचका ठाउँहरूमा माने देखिन्थे। भर्खरै विवाह गरेका हामी दुईभित्र सागर अटाउने कौतूहल र जिज्ञासा थिए। बात मार्दै ठाउँ ठाउँमा बस्दै, मूलको पानी पिउँदै हिँडेर उक्लिरहँदा ओल्लो डाँडा र पल्लो डाँडाबाट गाउँलेहरू एकआपसमा कुरा गरिरहेका सुनिन्थे। अनि आइपुग्यो नेत्रविक्रम थापाको घर। उनीलाई बन्दुके काजी पनि भन्थे। उनको घरलाई हबेली। सायद त्यो गाउँको नाम पनि। थाकेको म बारम्बार सोध्थेँ त्यहाँ पुगेपछि उषालाई– होइन कति पर छ, अब। हबेली कटेपछि उनले भनिन्– अब धेरै छैन। यसरी ऐँसेलुखर्क पुग्यौँ। दुई दिन बसेँ त्यहाँ म। स्कुल छेउको डाँडामा हामी दुई बात मारेर बसिरहँदा बीचबीचमा हुस्सु आएर हामीलाई एक अर्कोबाट अलिक नदेखिने पारिदिन्थ्यो। ऐँसेलुखर्क जाने र आउने बाटो लामिडाँडा भएर नै थियो। र, पलान्चोक भगवती जाने बाटो पनि लामिडाँडा भएर नै हो। तर, न दुवैसँगै जाँदा, न उषालाई पुर्‍याएर म एक्लै फर्केर आउँदा पलान्चोक भगवती मन्दिर जाने ख्याल दिमागमा आयो। त्यसपछि पनि धुलिखेलमा कैयौँपटक घुम्न गयौँ परिवारसहित। भगवती माताको मन्दिरमा पुगिएन। यी सबै कुराले म त विश्वास गर्छु देवीदेवताको मन्दिरमा नबोलाईकन पुग्न सकिँदैन। बोलावट भयो तब न हामी जाँदै थियौँ।

पाँचखाल पुगेपछि सडकछेउको एउटा रेस्टुराँमा कफी खाने मुड भयो हामी तीनैजनाको। दुवैतिर हेर्दै गयौँ, तर भनेकोजस्तो कफी सप देखेनौँ। पुछारतिर केही नलागेर दायाँपट्टिको एउटा रेस्टुराँतिर मोडियौँ। कफी पिउँदै गर्दा त्यसका मालिक राम गिरीसँग गफगाफ भयो। उनी मुम्बईको गोरे गाउँमा बसोबास गर्दा रहेछन्। मुम्बईको कुरा सुन्नेबित्तिकै केही दिनअगाडि मात्र नवीन अर्यालले लेखेको मुम्बईका एक्ला ‘नेपाली डन’ पढेको झ्वाट्ट सम्झिन पुगेँ। लेखाइ राम्रो भएको कारणले मनमा अझै ताजा थियो। फ्याट्ट सोधिहालेँ– नेपाली डन तथा शिव सेनाको टिकटमा मुम्बईको महानगरपालिकाको पार्षद्, जसको हत्या गरिएको थियो, केटी थापालाई चिन्नुहुन्थ्यो? कल्पना नै नगरेको प्रश्न सुनेर उनी दंग भए। खुसी भएर बताउन थाले उनको बारेमा।

कफी सकिएपछि गिरीजीसँग बिदा भएर गाडीमा केहीबेर अगाडि बढेपछि दाहिनेतिरको डाँडो चढ्ने एक लेनको मोटर बाटो देखा पर्‍यो। हाम्रो गाडी त्यहीँबाट माथि उक्ल्यो। यो बाटो पाँचखालबाट आएको अरनिको राजमार्गसँग ‘बेल कर्भ’ अर्थात् घण्टी आकार बनाउँदै करिब १४ किलोमिटर दक्षिण-पूर्वतिर लागेपछि पलान्चोक भगवती पुग्यौँ हामी। त्यहाँबाट तरकारीको भण्डार पाँचखाल उपत्यका हेर्दा खुब राम्रो देखिँदो रहेछ। अनि मन्दिर हेर्‍यौँ। फराकिलो परिसर भित्र रहेको। लिच्छविकालमा यस क्षेत्रमा दुई प्रमुख मन्दिर बने। पहिलो हो भक्तपुरमा राजा हरि दत्तले चौथो शताब्दीमा बनाएको चाँगुनारायणको मन्दिर। यो नेपालको सबभन्दा पुरानो मन्दिर हो। अनि काभ्रेमा पाँचौँ शताब्दीमा बनेको पलान्चोक भगवती मन्दिर। राजा मानदेवले डाँडाको टुप्पामा बनाएको यो मन्दिर सुन्दर छ।

मन्दिरअगाडिको बाटो अलिकति मर्मत हुँदै गरेको रहेछ। त्यसैले हामी बाटोमै झर्‍यौँ र मन्दिरतर्फ पश्चिम लाग्यौँ। मोटर बाटो जाँदा अगाडि देखि पनि यो वास्तवमा मन्दिरको पछाडिको भाग रहेछ। फूल बेच्नेहरू लाइनमा उभिएका र तीमध्ये एकजनाबाट एक ढक्की पूजा सामान किनेर हामी अगाडि बढ्यौँ। अनि केही सिँढी झरेर मन्दिर परिसरभित्र प्रवेश गर्‍यौँ। पहिलेको हिँडुवा बाटोतर्फ मन्दिरको मूल ढोका रहेछ। माताको मूर्ति त्यतै फर्किएको। अर्थात् पश्चिमतर्फ। पहिले सासू-बुहारी दर्शन गर्न गए। म रेखदेख गरेर बसेँ उनीहरूका ब्यागहरू। उनीहरू फर्केपछि दर्शन गर्न गएँ म। माताको आराधना गरेर, केटाकेटीदेखि कण्ठ भएका केही श्लोकहरू उच्चारण गरेर पाउमा पूर्ण समर्पणको भावमा दण्डवत् गरेँ। देखेँ, एउटै ढुंगाबाट बनेको मूर्तिमा १८ भुजामा हातहतियार लिएकी देवी। अरू देखेँ, आफ्ना दुई खुट्टाहरूले चण्ड, मुण्ड र महिषासुरलाई कुल्चेकी। यो सुन्दर मुलुकमा अहिलेको चण्ड, मुण्ड र महिषासुरको वितण्डा देख्दा कता कता मुक्तिका लागि म त दैवी शक्तिको प्रतीक्षारत हुन पुगेको छु।

हाल मन्दिरको पछि परेको पहिले हिँडुवा बाटोबाट आउँदा मन्दिरको मूलद्वारबाट पुरानो हिँडुवा बाटोमा झरेँ केही परैसम्म केही अनुभव लिन। सम्झना आयो माता मनकामनाको दर्शन गर्न आँबुखैरेनीदेखि हिँडेर जाँदा यसरी सिँढी चढेर मन्दिर परिसरतिर उक्लेका थियौँ। यो सम्झना मनमा लिएर अनि उक्लेँ, हेर्दै र कल्पनामा डुबेँ– त्यतिबेलाको मूलतः धर्मभीरु अर्थात् पापधर्मको डर भएको मान्यता सम्झेर जसले निकै हदसम्म सामाजिक सन्तुलन कायम गरेको थियो।

पलान्चोक भगवती मन्दिर जाने हिँडुवा बाटो

मन्दिरको छेउको पसलमा कफी पिएपछि हामी ओरालो झर्‍यौँ अरनिको राजमार्ग पुग्न। बाटोमै कार्यक्रम बन्यो र मैले हाम्रो ड्राइभर सोमलाई सोधेँ, ‘होइन, कति टाढा छ हँ सुकुटे बिच?’

उसको जवाफ आयो, ‘करिब ४५ मिनेट बाह्रबिसेतिर लाग्दा।’

अनि मैले भनेँ, ‘ल जाऔँ त त्यतै।’ बाटोमा दुई ठाउँमा पहिरो गएको रहेछ। त्यसलाई हटाउने काम भइरहेको थियो। केही बेर रोकिनु पनि पर्‍यो। भोकाएर पुगियो सुकुटे बिच। त्यसैले पहिलो काम खाना खाने नै भयो।

हाम्रो यात्रा संस्मरण भन्दा पनि यात्रा संस्मरणहरूको प्रभाव पनि रोकियो, जबकि सप्तकोशी बनाउने सुनकोसीको सुकुटे बिचमा देखेको प्रवाह अविरल बगिरहेको छ।

त्यसपछि घुम्दै हेर्दै जाँदा रमाइलो लाग्यो। गडगडाएर आएको रहेछ सुनकोसी नदी, सप्तकोसीमध्येको एक। यो नदी नेपालभित्रै केही झरनाहरू मिलेर सुरु भएको हो। यसलाई तागत दिने काम भनेको तिब्बतबाट आएको भोटेकोसीले गरेको हो। बाह्रबिसे नजिकै उत्तरतिरबाट आएको भोटेकोसी मिसिएपछि सुनकोसीको तागत ह्वात्तै बढ्न जान्छ। तिब्बतलाई भोट भनिने र तिब्बततिरबाट बगेर आएको नदी भएकोले भोटेकोसी भनिएको हो। तर, सुनकोसीसँग मिसिएर भोटेकोसीको अस्तित्व समाप्त भएर सुकुटेमा आइपुग्दा पनि अझै भोटेकोसी भनिएको सुन्यौँ। त्यति मात्र कहाँ हो र? दोलालघाटमा नदी इन्द्रावतीलाई सुनकोसीले आफूमा नमिसाउन्जेल भोटेकोसी र सुनकोसी आलोपालो नाम जस्तै जुन नामले बोलाए पनि हुनेजस्तो सुन्यौँ।

सुनकोसीले नै अरू नदीहरू– इन्द्रावती, तामाकोसी, दूधकोसी , लिखु, अरुण र अन्त्यमा तमोरलाई सँगालेपछि त्यो विशाल कोसी नदी बनेको हो। सुकुटेको घना जंगलले ढाकेका अजंगका पहाडहरूबीच एकपछि अर्को घुम्ती लिँदै अविरल ध्वनिको साथ बहिरहेको सुनकोसीलाई एक टकले हेरिरहँदा मनभित्र हजारौँ कुराहरू एकसाथ आउँदा रहेछन्। ती सबैलाई मिलाएर सुनकोसीको जस्तो मनको प्रवाह बन्न सक्दो रहेनछ।

भोटेकोसी नदी मिसिएपछि सुकुटे बिचमा देखिने सुनकोसी।

सुनकोसीको सान्निध्यमा निकै समय बितायौँ हामीले। त्यसपछि काठमाडौँ फर्किनलाई गाडी चढ्यौँ। अरनिको राजमार्गबाट फर्किरहँदा पाँचखाल पुग्नुअगाडि जिरो किलोमिटरमा आइपुगियो। अर्थात् यहाँबाट मेलम्ची-हेलम्बु सडक सुरु हुने हुँदा यसलाई जिरो किलोमिटर भनिएको रहेछ। हामी देब्रे मोडियौँ र पाँचखाल हुँदै धुलिखेल आइपुग्यौँ। समय कफी टाइमको भएको थियो। होटेल मिराबेल जाने भन्दाभन्दै गाडी सडकछेउको होराइजन रिजोर्टमा आइपुगिसकेको थियो। त्यहीँ छिरियो। बेलुका घर आइपुग्दा झमक्क भइसकेको थियो। हाम्रो यात्रा संस्मरण भन्दा पनि यात्रा संस्मरणहरूको प्रभाव पनि रोकियो, जबकि सप्तकोसी बनाउने सुनकोसीको सुकुटे बिचमा देखेको प्रवाह अविरल बगिरहेको छ। सुरुआत नै टुंगिनुपर्ने यात्रा बोकेको मान्छेको यात्रा संस्मरणको प्रवाह समयको अन्तरालमा कति नै परसम्म बहन सक्छ र? अब अर्कोपटकको लागि जबसम्म यात्रा जारी छ।