काठमाडौँ। चालु आव ०८२/८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको ६.२१ प्रतिशत मात्रै विकास खर्च भएको हो।
चालु आवका लागि पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँबराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ।
यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३.८७ प्रतिशत छ। चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा चार खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक रुपैयाँ विनियोजन रहेकामा हालसम्म २७.१८ प्रतिशत अर्थात तीन खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ।
वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन भएकामा हालसम्म ३२.६७ प्रतिशत अर्थात एक खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँबराबर खर्च भएको छ।
यस अवधिको सरकारी राजस्व संकलन तीन खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँबराबर छ। जुन वार्षिक लक्ष्यको २१.७२ प्रतिशत हो। चालु आवका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।