काठमाडौँ
००:००:००
११ माघ २०८२, आईतवार

आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन

गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुग्यो

१७ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षको भन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ। गत आवभन्दा चालु आव ०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानबीच पनि बढेको हो।

गत आव ०८१/८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा बढोत्तरी हुने जनाएको हो।

“आव ०८२/८३ मा मुद्रास्फीतिको चाप कम रहेको छ। विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा गिरावट आएको, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो अवस्थामा रहेको, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको, बाह्य पर्यटकको आगमनमा वृद्धि सँगसँगै निर्यात र विप्रेषण आप्रवाहमा पनि वृद्धि भएको र विगत केही वर्षदेखि सङ्कुचनमा रहको निर्माण र उत्पादनमूलक उद्योग क्षेत्र यस बैंकले गरेको मौद्रिक सहजताका कारण विस्तार हुँदै गएको हुँदा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिन्छ‚” प्रतिवेदनमा भनिएको छ।

चालु आवमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा सकारात्मक हुने अनुमान राष्ट्र बैंकको छ। “अर्थतन्त्रमा तरलता पर्याप्त रहेको, सरकारले सुशासन प्रवर्द्धन गर्दै पुनर्निर्माण अघि बढाएको‚ साना र तयारी नपुगेका आयोजनामा बजेट स्थगन गर्दै परियोजना प्राथमिकीकरण गरिएकोलगायत कार्यले अर्थतन्त्र चलायमान भई आर्थिक गतिविधि बढ्ने अनुमान छ‚” केन्द्रीय बैंकले प्रतिवेदनमार्फत भनेको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गत आव २०८१÷८२ मा नेपालको आर्थिक वृिद्धदर उपभोक्ताको मूल्यमा ४ दशमलव ६ प्रतिशत र प्रचलित मूल्यमा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ।

गत आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.२, १२.८ र ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको प्रतिवेदनमा उल्लेख छ।

गत आवको मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत छ। कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत छ। कर्णाली प्रदेशको हिस्सा भने सबैभन्दा कम ४.२ प्रतिशत छ।

प्रतिवेदनअनुसार गत आवमा प्रमुख कृषिबालीको उत्पादन ३.७ प्रतिशतले बढेको छ। यस्ता बालीले ढाकेको भूक्षेत्र भने २.२ प्रतिशतले घटेको छ।

त्यस्तै तरकारी उत्पादन १०.१ र मसला उत्पादन ०.७ प्रतिशतले बढेको छ भने फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ।

पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन एक र मासु उत्पादन ०.३ प्रतिशतले घटेको छ। अन्डा उत्पादन १ प्रतिशतले बढेको छ। वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन ८.८२ र दाउरा उत्पादन ४.७४ प्रतिशतले बढ्दा औषधिजन्य वस्तुको उत्पादन १.९१ प्रतिशतले घटेको छ।

गत आवमा अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आव ०८०/८१ मा यस्तो क्षमता उपयोग ४८.३ प्रतिशत थियो। २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्र कर्जाको अंश ३०.४२ प्रतिशत छ।

प्रतिवेदनअनुसार गत आवमा नेपाल भ्रमण गर्ने पर्यटक सङ्ख्या १.७ प्रतिशतले वृद्धि भई ११ लाख ४७ हजार ८३४ जना पुगेको छ।

त्यस्तै गत आवमा घर/भवन नक्सापास सङ्ख्या १.२ प्रतिशतले र घरजग्गा रजिस्ट्रेसनबाट प्राप्त हुने राजस्व १८.६ प्रतिशतले घटेको छ। २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा औसत कर्जा-निक्षेप अनुपात ७६.६ प्रतिशत छ। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश उच्च छ। कुल निक्षेपमा यस प्रदेशको अंश ६५.८ प्रतिशत र कुल कर्जामा ५९.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।