काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारी अस्पतालहरूबाट दिइने सेवा गुणस्तरीय एवं सस्तो हुने भएकाले ढुक्क भएर उपचार गर्न सर्वसाधारणसँग अनुरोध गरेकी छन्।

वीर अस्पतालको अनुगमन गर्दै सरकारी अस्पतालहरूमा राम्रो र भरपर्दो सेवा पाइँदैन कि भन्ने सोचबाट मुक्त भई स्रोत-साधनसहित अनुभवी जनशक्ति भएको सरकारी अस्पतालबाट सेवा लिन उनले सबैसँग अनुरोध गरिन्।

“सरकारी अस्पताल त्यसमाथि पनि वीर अस्पतालको सेवा निजीको भन्दा कम छैन। निर्धक्क भएर उपचार गर्नोस्। अस्पतालको सेवाप्रति ढुक्क हुनोस् र लाभान्वित हुनोस्‚” उनले भनिन्‚ “वीर अस्पतालमा उपकरण र जनशक्तिको समस्या देखिएको छ। परामर्श सेवामा कमजोर रहेछौँ। नर्सको सङ्ख्या बढाउनुपर्ने भन्ने माग आयो। त्यसतर्फ अस्पताल व्यवस्थापनको ध्यान जान आवश्यक छ।”

शल्यक्रियाका लागि लामो समय पर्खिनुपर्ने भन्ने जनगुनासो सम्बोधन गर्न निर्देशन दिँदै उनले केन्द्रीयसहित प्रादेशिक अस्पतालहरूको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिइन्। मन्त्री गौतमका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा र श्रमिकका लागि ‘टेलिमेडिसिन’ सेवा सञ्चालन गर्नु अस्पतालको सबल पक्ष हो। उनले वीर अस्पतालको जनशक्ति तथा उपकरण व्यवस्थापनका क्षेत्रमा सक्दो सहयोग प्रतिबद्धता जनाइन्।