काठमाडौँ। नेपाल वायुसेवा निगमको सञ्चालक अमृतमान श्रेष्ठलाई कार्यकारी सञ्चालक नियुक्त गरिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको भूमिकासमेत निर्वाह गर्ने गरी जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।
हाल भइरहेको छनोट प्रक्रियाबाट निगमको महाप्रबन्धक नियुक्ति नभएसम्मका लागि श्रेष्ठलाई कार्यकारी सञ्चालकको रूपमा जिम्मेवारी दिइएको खरेलले बताए।
निगममा यसअघि नायब महाप्रबन्धकको रूपमा जनक कालाखेती थिए। उनलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको थियो।
इजरायलको आईएआई कम्पनीमा निगमको एयरबस ए-३२० को इन्जिन समयमा नल्याइएको, उक्त कम्पनीको इन्जिन लिजमा लिइएको विषयमा २७ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीले सञ्चालक समितिका पदाधिकारीलाई बोलाएर छलफल गरेकी थिइन्। उक्त छलफलमा निगम पदाधिकारीले इजरायलमा रहेको इन्जिन फर्काउन भुक्तानी र क्षतिपूर्ति सम्बन्धी विवाद रहेको बताएका थिए। भुक्तानी समस्या चाँडो समाधान गरेर इन्जिन फर्काउन कार्कीले निर्देशन दिँदा कालाखेतीले भुक्तानीमा संलग्न हुन आनाकानी गरेका थिए। उनले निमित्तलाई ठूलो रकम भुक्तानीको अधिकार नभएको बताएका थिए।
त्यसक्रममा श्रेष्ठले ‘तपाईंहरू भुक्तानी गर्न नसक्ने हो भने मलाई जिम्मेवारी दिनुस्, कहाँ सही गर्नुपर्छ गर्छु’ भनेका थिए।
१४ कात्तिकमा पर्यटन मन्त्रालयको समेत जिम्मेवारीमा रहेकी प्रधानमन्त्री कार्कीले निगमको महाप्रबन्धक नियुक्त गर्न तीन सदस्यीय समिति गठन गरेकी थिइन्। २७ कात्तिकमा उक्त समितिले आवेदन आह्वान गरेको थियो।