अतिक्रममुक्त गरिएको ५ रोपनी १० आनामा ‘स्पोर्टस् पार्क’ बन्न थाल्यो
काठमाडौँ। काठमाडौँमा आज (बुधबार) स्पोर्टस् पार्कको शिलान्यास गरिएको छ। व्यक्ति तथा संस्थाको प्रयोग भइरहेको महानगरपालिका १०‚ देवीनगर (धोबीखोला करिडोर खण्ड) मा रहेको सार्वजनिक जग्गामा भएका संरचना हटाइएको ठाउँमा पार्क निर्माणका लागि शिलान्यास गरिएको हो।
पार्कको शिलान्यास गर्दै वडा १० का अध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले, पार्क निर्माण पूर्वाधार मात्र नभई सामाजिक क्रियाकलाप बढाउने माध्यम पनि भएको उल्लेख गरे।
पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर छ। उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले कार्यान्वयन गरेको यस कामका लागि बोलपत्र आह्वानबाट १२ कम्पनीले आवेदन दिएका थिए। यसमध्ये हान्स–चपुर ज्वाइन्ट भेन्चरले जिम्मेवारी पाएको छ। पार्क निर्माणको लागत अनुमान भ्याट र पीएससहित दुई करोड ८१ लाख ४० हजार रुपैयाँ थियो। कार्यादेश रकम भ्याट र पीएसबाहेक एक करोड ८८ लाख ९१ लाख रुपैयाँ हो।
पार्क बनाउनु पूर्वाधार विकास गर्नु मात्र होइन, सामाजिक गतिविधि बढाउनु पनि हो : वडाध्यक्ष केसी
निर्माण पक्षलाई कात्तिक १८ गते कार्यादेश दिइएको छ। निर्माणअवधि १८ कात्तिक २०८३ सम्म छ। पार्कभित्र खुला व्यायामशाला हुनेछ। १२८ वर्गमिटर क्षेत्रफलको ब्याडमिन्टन कोर्ट हुनेछ। ९२८.५३ वर्गमिटरको फुटसल मैदान हुनेछ।
पार्कभित्र महिला, पुरुष र अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै शौचालय र पोसाक परिवर्तन गर्ने कक्ष हुनेछ। ३११.८९ वर्गमिटर क्षेत्रमा दूबो रोपेर हरियाली बनाइनेछ।
पार्कभित्र विभिन्न जातका १६३ बिरुवा रोपिनेछन्। यस्तै ३०० वटा मौसमी फूल रोपिनेछन्। पार्कको सुरक्षाका लागि वरिपरि पर्खाल लगाइनेछ। पार्क निर्माणपछि अनामनगर, घट्टेकुलो, मैतीदेवी, पुरानो बानेश्वर, थापागाउँलगायतका बासिन्दालाई खुला व्यायाम गर्ने, ज्येष्ठ नागरिकलाई टहल्ने, बालबालिका र युवाहरुलाई खेल्ने ठाउँ हुनेछ।
महानगर प्रहरी बलले यस स्थानमा भएका संरचना ४ साउन २०८० मा अतिक्रमणमुक्त गराएको हो। त्यसबेला यो ठाउँको भोगचलन गरिरहेकी भद्रकुमारी घलेले महानगरपालिकाको सार्वजनिक जग्गा खाली गराउने अभियानमा सहयोग गर्दै संरचना भत्काउन सहयोग गरेकी थिइन्।
यस्तो बन्नेछ पार्क :
