३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले यसपट स्रष्टा सम्मान पुरस्कार सात महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ मध्ये ११ जना स्रष्टालाई प्रदान गरेको छ।

काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता सम्मान, रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, वागदेवी राईलाई जोगमाया बराल स्रष्टा सौगात, पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, शर्मिलाकुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गरिएको समाजले जनाएको छ।

यसैगरी प्रा. चूडामणि रेग्मीलाई पवित्रादेवी चौलागाई मानवअधिकार स्रष्टा सम्मान, प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, पुरस्कृतहरुका तर्फबाट परिवारका सदस्य/प्रतिनिधिहरुले सम्मान ग्रहण गरेका थिए। पुरस्कृत स्रष्टाले नेपालीका अतिरिक्त नेपाल भाषा (नेवारी), संस्कृत, मैथिली, भोजपुरी, थारु, राई, मगर र गुरुङ गरी ९ भाषामा विशेष योगदान गरेका छन्। अंग्रेजी भाषामा समेत उनीहरुका कृति प्रकाशित छन। शान्ति समाजले २०७७ सालदेखि यी पुरस्कार प्रदान गर्दै आएको छ।

दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, डा. तीर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गरिएकामा स्वास्थ्यका कारण उनीहरु उपस्थित हुन नसकेको समाजकी उपनिर्देशक सरिता पौडेलले जानकारी दिइन्।

सभापति रेनुका पौडेलको सभापतित्वमा भएको कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, पूर्वमुख्य न्यायाधीश शेषराज शिवाकोटी, कवि अर्जुन पराजुली, शान्ति समाजका पूर्वसभापतिहरु होमकान्त चौलागाई र रामकृष्ण बराल, संस्थापक सदस्य कृष्ण कँडेल, सल्लाहकार रामप्रसाद जोशी, सचिव दिल्ली जैशी, सचिव दिवाकर पुडासैनी, सचिव प्रेम पटेल, सचिव तुलसीराम सुनार, कोषाध्यक्ष चन्द्रमणि बञ्जारा, पूर्वकोषाध्यक्ष किरण ढकाल र स्रष्टा रामबाबु दाहालले पुरस्कारहरु हस्तान्तरण गरेका थिए।