काठमाडौँ। सिंहदरबारभित्र निर्माण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रि-फ्याब भवन हस्तान्तरण गरिएको छ।
नवनिर्मित प्रि-फ्याब भवन विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम र मन्त्रालयका कर्मचारीहरुलाई औपचारिक रुपमा हस्तान्तरण गरेको हो। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)को नेपाल कार्यालयले निर्माण गरेको स्वास्थ्य मन्त्रालयको भवन आइतबारदेखि सेवा नियमित हुने गरी तयारी गरेको प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।
२४ भदौको जेन-जी आन्दोलनपछि भएको प्रदर्शनका क्रममा रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको थियो। आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनबाट सेवा नियमित गरेको थियो।
प्रवक्ता बुढाथोकीले सेनाको नरसिंह दल गणले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरेको बताए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवा सिंहदरबार भित्रबाटै सञ्चालन हुनेछन्।
सेनाको यो गण प्रधानमन्त्री कार्यालयनजिक सरेपछि खाली रहेको उक्त क्षेत्रको जग्गा र भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि प्रयोगमा ल्याउने गरी छुट्याइएको बुढाथोकीले जानकारी दिए।
उनका अनुसार खाली जग्गा रहेको स्थानमा मन्त्रालयका लागि उपयुक्त हुने गरी विश्व स्वास्थ्य संगठनको आर्थिक र प्राविधिक सहयोगमा प्रि-फ्याबका भवनहरु बनेका हुन्।