डिपोर्ट भएकाहरू दाङ र रुकुमका बढी

४ मंसिर २०८२
त्रिभुवन विमानस्थल। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। अमेरिकाले ३५ नेपालीलाई डिपोर्ट गरेको छ। अमेरिकामा गैरकानुनी रूपमा गएका ३३, पर्यटक भिसाका एक र विद्यार्थी भिसामा गएका एक नेपालीलाई डिपोर्ट गरेको हो।

ती नेपालीलाई जहाज चार्टर्ड गरी बुधबार अपराह्न अमेरिकाले त्रिभुवन विमानस्थलमा ओरालेको हो। मानव बेचबिखन ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार ३३ जना मेक्सिको हुँदै तल्लो बाटोबाट विभिन्न मितिमा अमेरिका छिरेका थिए।

अमेरिकाले फेब्रुअरी २०२५ पछि अवैध आप्रवासीमाथि कडा निगरानी सुरु गरेसँगै पाँच सय नेपालीलाई ‘डिपोर्ट’ गरिसकेको छ।

पर्यटक भिसामा गएका व्यक्तिको भिसा अवधि सकिएपछि पक्राउ गरी अमेरिकाले डिपोर्ट गरेको पंगेनीले बताए। कलेज नगई अन्य गतिधिविमा संलग्न भएको भन्दै विद्यार्थीलाई पनि अमेरिकाले डिपोर्ट गरेको छ। “डिपोर्ट भएकाहरू सामान्य सोधपुछपछि घर फर्किएका छन्,” पंगेनीले भने।

डिपोर्ट भएकाहरू दाङ र रुकुमका बढी छन्। अमेरिकाले फेब्रुअरी २०२५ पछि अवैध आप्रवासीमाथि कडा निगरानी सुरु गरेको थियो। यसपछि पाँच सय नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ।