काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। आज (बिहीबार) बस्ने भनिएको बैठक महाधिवेशनका विषयमा नेताहरूबीच सहमति नभएकाले पर्सि (शनिबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक स्थगित भएको यो चौथोपटक हो। विधानले तोकेको समयमा महाधिवेशन गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदा-हुँदै पनि कांग्रेसको केन्द्रीय कार्यसमिति लामो समयदेखि त्यसमै अल्झिएको छ।
पार्टी विधानअनुसार यही मंसिरभित्रै कांग्रेसले महाधिवेशन गर्नुपर्छ। विधानले विशेष कारण देखाएर एक वर्ष कार्यकाल बढाउन सक्ने व्यवस्था गरे पनि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले २१ फागुनका लागि तोकेको चुनावअघि नियमित वा विशेष जे गरे पनि महाधिवेशन सम्पन्न गराउनुपर्ने अडान लिएका छन्। तर संस्थापन पक्षका पूर्वपदाधिकारीहरू भने वैशाखअगाडि महाधिवेशन गर्न नहुने पक्षमा छन्।

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठकको मिति पुनःपरिवर्तन भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार सूचना जारी गर्दै शनिबार दिउँसो एक बजेसम्मका लागि सारिएको जानकारी दिएका छन्।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। उक्त बैठक २०८२ मंसिर ६ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो।