४ मंसिर २०८२
अ+
अ-

हेटौंडा। भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ।

भारी वर्षाबाट आएको बाढी-पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो। भारतले गत वर्ष पनि १० वटा बेलिब्रिज नेपाललाई दिएको थियो। नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलिब्रिज अनुदानमा उपलब्ध गराएको हो।

भारतले उपलब्ध गराउने १० मध्ये एउटा बेलिब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ। बाँकी नौवटा एक साताभित्र नेपाल आइपुग्नेछन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज हस्तान्तरण गरे।

भारतले उपलब्ध गराएको बेलिब्रिजको लम्बाइ ७० मिटर छ। पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर छ। पुलको भारवहन क्षमता ३८ टन छ। पुल हस्तान्तरण समारोहमा ऊर्जामन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका बेला भारतले उपलब्ध गराएको सहायतले क्षति पुगेका पूर्वाधार शीघ्र पुन:स्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए।

सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायत क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदार अझै दह्रो देखिएको बताए। उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए। यस वर्ष उपलब्ध गराइएको बेलिब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनोट गरिएका ठाउँमा पुल जडानका लागि छिटै प्राविधिक टोली पनि आउने जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले प्राकृतिक विपद्ले क्षति पुर्याएका सडक सञ्चालनका लागि भारतका तर्फबाट उपलब्ध हुँदै आएको वस्तुगत र प्राविधिक सहयोगका लागि धन्यवाद दिए।