धनुषा। मधेस प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
सभामुख रामचन्द्र मण्डललाई हिजो (बुधबार) पदमुक्त गरेसँगै बैठक आज (बिहीबार) का लागि बोलाइएको थियो। तर अन्तिम समयमा अर्को सूचना नहुनेबेलासम्म बैठक स्थगित गरिएको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ।
मधेस प्रदेश सभाबाट पदमुक्त भएका सभामुख मण्डलले आफ्नो निलम्बन असंवैधानिक र प्रक्रियागत त्रुटि भए पनि आफू अदालत नजान्ने बताएपछि अब नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुनेछ। नयाँ सभामुखका लागि नेपाली कांग्रेसले दाबी गर्दै आएको छ। सात राजनीतिक दलभित्र सभामुखको विषयमा छलफल भए पनि निर्णय नभएको कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले जानकारी दिए।
जसपा नेपालका प्रमुख सचेतक रामशिष यादवले प्रदेश सभासँग बिजनेस नरहेको र प्रदेश सरकारको विषयमा अदालतमा बहस चलिरहेकाले अहिले सदन चलाउनु उपयुक्त नभएको बताउँदै यसका लागि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गर्ने सहमति भएको दाबी गरे।
प्रदेश सभा अस्तव्यस्त रहेको र कर्मचारी अभाव रहेको अवस्थामा सभा चलाउन समस्या रहेको सचिवालयले जनाएको छ।