ललितपुर। रुकुम पूर्वका नेकपा एमालेका नेता कैलाशकुमार मल्ल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनलाई पार्टी संयोजक पुष्पकमल दाहालले स्वागत गरे।
पार्टी प्रवेशका क्रममा मल्लले विस्तृत राजनीतिक पृष्ठभूमि र आफ्नो निर्णयका आधारबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। जनताको मुक्तिका लागि चलेको जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उनले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे धारणा राखेका थिए।
एमालेभित्र पारित भएका ७० वर्ष उमेरसीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाएका छन्। उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतंककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गरे।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोकिएको निर्णयलाई उनले ‘अहंकारी र अराजकतन्त्रतर्फ उन्मुख नेतृत्वको पराकाष्ठा’ भएको बताए। एमाले नेतृत्वबाट भ्रष्टाचार, सहिद परिवारप्रति बेवास्ता र रुकुम-रोल्पाजस्ता राता भूगोलप्रति नकारात्मक दृष्टिकोण देखिँदै गएपछि आफूले गम्भीर राजनीतिक मूल्यांकन गर्न बाध्य भएको मल्लको भनाइ छ।
उनले रुकुम पूर्वको समृद्धि र उत्पीडित जनताको न्यायका लागि पूर्ण समर्पणसहित काम गर्ने प्रतिबद्धता पनि जनाए।