बारा। प्रहरी र तस्करी गर्ने समूहबीच बारामा गोली हानाहान भएको छ। पचरौता नगरपालिका ६ मा भारतीय तस्कर समूह र प्रहरीबीच आइतबार राति करिब पौने ११ बजे गोली हानाहान भएको हो।
भारतको हनुमाननगरबाट नेपालतर्फ मोटरसाइकलमा आएका २५ जनाको समूहसँग प्रहरीको जम्काभेट हुँदा गोली चलेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। उनीहरूलाई पक्राउ गर्न खोज्दा प्रहरीलाई लक्षित गरी कटुवा पेस्तोलबाट दुई राउन्ड गोली चलेपछि जवाफी कारबाही गरिएको कुँवरले बताए।
यसपछि प्रहरीले पेस्तोलबाट सात राउन्ड गोली चलाएको प्रहरी उपरीक्षक कुँवर बताउँछन्। प्रहरीको जवाफी गोली प्रहारपछि तस्कर समूह ट्याक्टर लिएर भारततिर भागेको उनले बताए।
तस्करीको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोली गस्तीमा निस्किएको थियो। “गोली हानाहानपछि इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षकको नेतृत्वमा १० जना टोली पुगेर हेर्दा तस्करले चलाएर आएका मोटरसाइकल र केही अन्य सामान छोडेर गएको पाइयो,” कुँवरले भने।
घटनास्थलबाट प्रहरीले चारवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल‚ दुई थान मोबाइल र भारतीय नागरिक रञ्जित कुमारको सवारी चालक अनुमति पत्र (लाइसेन्स) बरामद भएको छ। बारामा नयाँ प्रहरी उपरीक्षकका रूपमा आइतबार मात्रै कुँवर हाजिर भएका थिए। यसअघिका प्रहरी उपरीक्षक सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएपछि बारामा कुँवरलाई खटाइएको थियो।