फलोअप
काठमाडौँ। नेपाल वायुसेवा निगमले एयर बस ए-३२० को इन्जिनको भुक्तानी सुरु गरेको छ। निगमले सोमबार इजरायलको कम्पनी एयरस्पेस इन्डस्ट्रिज (आईएआई)लाई २.१ मिलियन डलर (आजको विनिमय दर ३० करोड) रुपैयाँ भुक्तानी गरेको हो।
आईएआईसँग एयर बसको तेस्रो इन्जिन मर्मतको बाँकी रकम भुक्तानी गरिएको निगम प्रवक्ता अनिल घिमिरेले बताए। यस्तै चौथो इन्जिन मर्मतको रकम ६.७ मिलियन डलर (९६ करोड) भुक्तानीका लागि एलसी नवीकरण गरिएको घिमिरेले बताए।
“भुक्तानी सुरु भएको छ, आजै इजरायली संस्थाको खातामा रकम भुक्तानी भएको छ,” घिमिरेले भने। निगमको एयर बस ए-३२० लुम्बिनीको इन्जिन दुई वर्षदेखि आईएआईमा छ भने आईएआईबाट लिजमा लिएर निगमले जहाज उडाइरहेको छ। “चौथो इन्जिनको मर्मतको रकम भुक्तानीका लागि एलसी नवीकरण गरिएको छ,” घिमिरेले भने, “अब लिजको इन्जिन बुझाएर आफ्नो इन्जिन ल्याउने प्रक्रिया सुरु हुन्छ।”
आईएआई र निगमबीच लिज इन्जिन, मर्मत र क्षतिपूर्ति भुक्तानीसम्बन्धी विवाद नौ महिनादेखि चलिरहेको थियो। नयाँ महाप्रबन्धकका रूपमा निगममा अमृतमान श्रेष्ठ नियुक्त भएलगत्तै उक्त विवाद समाधान भएको हो। ३ मंसिरमा मन्त्रिपरिषद्ले निगम महाप्रबन्धकमा श्रेष्ठलाई नियुक्त गरेको थियो। भोलिपल्टै ४ मंसिरमा श्रेष्ठले इन्जिनको भुक्तानी प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए।
जहाजको इन्जिन नेपाल ल्याउन प्राविधिक नायब महाप्रबन्धक डोलेश्वर कोइरालाको नेतृत्वमा टोली गठन गरिएको छ। घिमिरेका अनुसार आईएआईका पदाधिकारीसँग कोइराला नेतृत्वको टोली थप समन्वय तथा वार्ता गर्नेछ।
निगमले अहिले दुईवटा एयरबस ए-३२० सञ्चालन गरिरहेको छ। दुवै जहाज २०७१ सालमा खरिद गरिएको थियो। त्यसमध्ये एयरबस ए-३२० लुम्बिनी दुई वर्षदेखि भाडाको इन्जिनबाट उडिरहेको छ। चार वटामध्ये अहिले एउटा इन्जिन लिजको छ। त्यो इजरायली कम्पनी आईएआईको हो। जहाजको आफ्नै इन्जिन भने १४ वैशाख २०८१ देखि आईएआई कम्पनीमै पूरै मर्मत (ओभरहल)मा छ।
आईएआई र निगमबीच लिज इन्जिन, मर्मत र क्षतिपूर्ति भुक्तानीसम्बन्धी विवाद नौ महिनादेखि चलिरहेको थियो।
आईएआईबाट लिजमा लिइएको इन्जिनको उडान साइकल सकिन लागेको छ। १६ पुस २०८२ (३१ डिसेम्बर २०२५)मा इन्जिनको उडान साइकल समाप्त हुन्छ, अर्थात् ४४ हजार ७९५ घण्टा पूरा हुन्छ। लिजको इन्जिनको उडान साइकल पूरा हुनै लाग्दा पनि मर्मत सकिएको आफ्नो इन्जिनसमेत ल्याउन निगमका पदाधिकारी तयार नभएपछि सरकारले सञ्चालक समिति सदस्य श्रेष्ठलाई महाप्रबन्धक नियुक्त गरेको थियो।
आईएआईले निगमलाई ५ कात्तिक २०८२ (२२ अक्टोबर २०२५)मा चिठी लेखेर यथाशीघ्र इन्जिन फिर्ता गर्न दबाब दिँदै सम्झौता रद्द भएको एकपक्षीय निर्णय पठाएको थियो। निगमले ४ भदौ २०८० (२१ अगस्त २०२३)मा आईएआईसँग सम्झौता गरेको थियो। सम्झौता १४ भदौ २०८३ सम्मको थियो। सम्झौतापछि ३१ भदौ २०८० (१७ सेप्टेम्बर २०२३)मा समस्या देखिएको एयरबसको इन्जिन मर्मत गर्न आईएआई लगियो। लिजको इन्जिन जोडेर एयरबस ११ असोज २०८० (२८ सेप्टेम्बर २०२३) मा काठमाडौँ फर्कियो।
यो पनि…
लिजको इन्जिन जोडिएको दुई महिना नपुग्दै अर्को इन्जिनमा समस्या देखियो। प्राविधिक परीक्षणका क्रममा १० मंसिर २०८० (३० नोभेम्बर २०२३)मा अर्को इन्जिन मर्मत गर्नुपर्ने भयो। त्यही कारण उक्त जहाज २५ पुस २०८० सम्म काठमाडौँमै भूमिस्थ भयो।
यसपछि जहाज २७ पुस २०८० मा इजरायल पठाइयो। आईएआईले सम्झौताअनुसारको लिजको इन्जिनसमेत समयमा उपलब्ध गराउन सकेन। इन्जिन नपाएपछि जहाज लामो समय इजरायलमै १४९ दिन भूमिस्थ भयो। झन्डै पाँच महिनामा लिजको इन्जिन जोडेर २६ अप्रिल २०२४ अर्थात् १४ वैशाख २०८१ मा जहाज काठमाडौँ आयो। त्यसयता एयरबस ए-३२० आईएआईको लिजको इन्जिनबाट चलिरहेको छ।
मर्मतमा विलम्ब गरेको भन्दै यसअघिका कार्यकारी प्रमुख युवराज अधिकारीले आईएआईसँग तीन अर्ब २६ करोड रुपैयाँ क्षतिपूर्ति मागेका थिए। बढी क्षतिपूर्ति माग गरेपछि अस्वीकार गर्दै आईएआईले मर्मत शुल्क, लिज शुल्क भुक्तानीमा दबाब बढाएको थियो। निगमले मर्मत र लिज शुल्क रोकेपछि आईएआईले सम्झौता रद्द गर्दै आफ्नो इन्जिन नउडाउन चेतावनी दिएको थियो। “आईएआईले जहाज ग्राउन्डेड अवधिको क्षतिपूर्ति दिने प्रस्तावसमेत गरेको छ,” घिमिरेले भने, “गठन गरिएको समितिले यससम्बन्धी कुरा अघि बढाउनेछ।”