काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौँ। एमसीए-नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण सुरु गरेको छ। एक कार्यक्रमबीच अर्थमन्त्री रामेश्वर खनालले बुधबार प्रसारण लाइनको निर्माण शुभारम्भ गरे।

यो प्रसारण लाइनले ४०० केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल-भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा निर्माण गरिने उक्त पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य लिएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता, सन् २०२४ अन्तर्गत विद्युत् भारत निर्यात गर्न नेपाललाई सघाउ पुर्‍याउनेछ।

प्रसारण लाइन र न्यु बुटवल सबस्टेसनले नेपालमा बढ्दै गएको उत्पादनले जलविद्युत्‌लाई क्षेत्रीय बजारसँग जोड्ने हुनाले नेपालको आर्थिक भविष्यका लागि महत्त्वपूर्ण रहेको खनालले बताए।

“स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिबिम्बित भएको छ। एमसीसी र एमसीए-नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्यरूपमा रूपान्तरण गर्दै छौँ,” खनालले भने।

त्यसअवसरमा नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।