काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनका लागि गोल्याण ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता भएको छ। गोल्याण ग्रुपले गत २४ असोजमा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो।

गोल्याण टावरमा मंगलबार आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरी सम्झौता भएको छ। सम्झौताअनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम चार लाख ८० हजार रुपैयाँ खर्च बेहोर्नेछ। “उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, पोसाक शुल्कलगायत विद्यालयको बिल-बिजकमा उल्लिखित सम्पूर्ण शुल्क समावेश रहनेछ,” त्रिपक्षीय सम्झौतामा भनिएको छ, “छात्रवृत्ति रकम विद्यालयले समय-समयमा जारी गरेको बिल-बिजकबमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ।”

गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत बेहोर्नेछ। विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सोबापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ।

सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजु (कक्षा ८) र कान्छो छोरा काठमाडौं युरो स्कुल बानियाटार (प्ले ग्रुप) मा अध्ययन गर्ने गरी सम्झौता भएको छ। त्यसैगरी सहिद अभिषेक चौलागाईंकी बहिनी जागृति विद्या सदन इंग्लिस स्कुल भक्तपुर (कक्षा १०), सहिद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकी (कक्षा ८), सहिद सौरनकिशोर श्रेष्ठका छोरा युरो स्कुल छाउनी (कक्षा १), सहिद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल बानेश्वर (क्रमशः कक्षा ३ र २) तथा सहिद साजनकुमार राईका दुई छोरा त्रि-ज्योति सेकेन्डरी स्कुल कपन (कक्षा ७ र युकेजी) मा अध्ययनन गर्ने गरी सम्झौता भएको छ।

प्रतिविद्यार्थी वार्षिक चार लाख ८० हजार रुपैयाँसम्म खर्च बेहोर्ने

सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर बेहोरिनेछ। सम्झौतापत्रमा गोल्याण ग्रुपका तर्फबाट कर्पोरेट अफेयर्स, कम्युनिकेसन्स एन्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा गोल्याण ग्रुपका प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाको शिक्षाको दायित्व लिने प्रतिबद्धता कार्यान्वयनको महत्त्वपूर्ण चरण सुरु भएको बताए। जेन-जी आन्दोलनका सहिदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ थियो। “हामीले व्यवसायलाई प्रवर्द्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन-मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,” उनले भने।

गैह्रेका अनुसार गोल्याण ग्रुपले शैक्षिक वृत्तिका लागि वार्षिक एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। “शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,” उनले भनिन्, “हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ।”