काठमाडौँ। इजरायली सेनाले बुधबार कब्जा गरिएको वेस्ट ब्यांकको उत्तर क्षेत्रमा नयाँ ‘आतंकवादविरोधी’ अपरेसन सुरु गरेको घोषणा गरेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा सो कारबाहीलाई ‘उत्तरी सामरिया’ भनिने क्षेत्रमा सञ्चालन गरिएको व्यापक सुरक्षात्मक पहलको एक महत्त्वपूर्ण हिस्सा रहेको उल्लेख गरिएको छ।
सैन्य अधिकारीहरू तथा आन्तरिक सुरक्षा सेवाबाट जारी गरिएको उक्त विज्ञप्तिमा वेस्ट ब्यांकका केही भागका लागि प्रयोग हुने बाइबलको शब्दसमेत उल्लेख गर्दै कारबाही औपचारिक रूपमा प्रारम्भ भएको पुष्टि गरिएको छ।
इजरायली सेनाले यो अपरेसन पूर्णतः नयाँ रहेको र सन् २०२५ जनवरीमा सुरु गरिएको पहिलेको आतंकवादविरोधी अभियानको निरन्तरता नभएको स्पष्ट पारेको छ। पहिलेको अपरेसन मुख्यतः प्यालेस्टिनी शरणार्थी शिविरलक्षित थियो।
सन् १९६७ देखि इजरायलद्वारा कब्जा गरिएको वेस्ट ब्यांकमा सन् २०२३ अक्टोबरमा हमासद्वारा गरिएको आक्रमणपछि सुरु भएको गाजा युद्धले हिंसा झनै चर्किएको छ। यद्यपि गाजामा अक्टोबर १० देखि लागू भएको युद्धविराम अहिले पनि औपचारिक रूपमा कायम भए पनि वेस्ट बैंकमा हिंसात्मक गतिविधि रोकिएको छैन।
एएफपीद्वारा संकलित विवरणअनुसार गाजा युद्ध सुरु भएयता वेस्ट ब्यांकमा इजरायली सेना वा इजरायली बसोवासकर्ताद्वारा एक हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ। तीमध्ये धेरैजना सशस्त्र समूहका सदस्य भए पनि ठूलै संख्यामा नागरिक पनि मारिएका छन्।
उता, आधिकारिक इजरायली विवरणअनुसार सोही अवधिमा सैनिक र नागरिक गरी कम्तीमा ४४ इजरायलीले ज्यान गुमाएका छन्।