काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्ष कार्यक्रम सुरु गर्ने भएको छ।
पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै सङ्घर्ष कार्यक्रम घोषणा गरेको थियो। यसअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ।
पार्टीले मङ्सिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध कार्यक्रम र कोणसभा गर्दै जनसंपर्क गर्ने तयारी गरेको छ।
त्यसैगरी, मङ्सिर १९ र २१ गते पार्टीले उठाएका माग र मुद्दा अंकित प्लेकार्ड तथा ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना आयोजना गर्ने निर्णय गरेको छ। जिल्ला स्तरका विरोध सभारजनसभा मङ्सिर २७ देखि पौष ४ सम्म आयोजना हुनेछन्।
प्रदेशस्तरीय जनप्रदर्शन र विरोध सभाका कार्यक्रम अन्तर्गत पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, र पुस १७ गते भैरहवामा कार्यक्रम तय गरिएको छ।
बस्नेतका अनुसार, अन्य विरोध कार्यक्रमहरू आवश्यक परे पार्टीका जिल्ला वा प्रदेश समितिले निर्णय गर्न सक्नेछन्।