काठमाडौँ। आमजनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले जेन–जी आन्दोलनकारीलाई नै पक्राउ र धरपकड गरेकोप्रति आपत्ति जनाएका छन्।
कोटेश्वरमा आज (बिहीबार) बसेको आजपा पदाधिकारी बैठकमा उनले पक्राउ गरिएका जेन-जी आन्दोलनकारीलाई रिहा नगरिए अर्को जनविद्रोह हुने चेतावनी पनि दिए।
“सुशीला कार्कीजीको सरकार जेनजी आन्दोलनकै बलमा बनेको दुनियाँलाई थाहा छ। त्यसैले यो सरकारले जेन-जी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। तत्काल उनीहरुलाई पक्राउ गर्नुपर्छ, तर यो सरकारले उल्टै जेनजी आन्दोलनकारीलाई पक्राउ गर्ने,” उनले भने‚ “धरपडक गर्ने कार्य गम्भीर विषय हो। यो हामीलाई स्वीकार्य छैन। जेन-जी हत्यारालाई पक्राउ गरेर कारबाही गर र जेन-जी आन्दोलनकारीलाई तत्काल रिहा गर्नुपर्छ। हैन भने अर्को विद्रोह हुनसक्छ। यसबारे प्रधानमन्त्री गम्भीर हुन आवश्यक छ।”
उनले जेन-जी आन्दोलनको उपलब्धि खेर जाने खतरा रहेको बताउँदै जेन-जी आन्दोलनकारी युवाहरु एकजुट हुनुको विकल्प नभएको बताए। एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकहरुलाई यथाशीघ्र पक्राउ गर्नुपर्ने उनको भनाइ छ।